• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

छुटको सामान खरिद गर्न उपभोक्ताको घुइँचो 

तस्वीर : कारोवार

काठमाडौं। सरकारले छुट दिएको सामान खरिद गर्नका लागि उपभोक्ताको घुइँचो हुन थालेको छ । उपभोक्तालाई राहत दिनका लागि सरकारले खाद्यान्न व्यवस्था कम्पनी र साल्ट्र ट्रेडिङ कर्पोरेसनबाट बिक्री हुने खाद्यान्नमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो । सोहीअनुसार ती दुई कम्पनीले गत शुक्रबारदेखि छुटमा सामान बिक्री सुरु गरेका छन् ।

 

बजार मूल्यभन्दा २० प्रतिशतमा सामान पाइने भएकाले पनि खरिद गर्न बिक्रीस्थलमा उपभोक्ताको भीडभाड लागेको उपभोक्ताको भनाइ छ । निषेधाज्ञा भएको कारणले गर्दा सामान खरिद गर्नका लागि बिक्री केन्द्रमा पुग्न धेरैले नसकेका भएपनि धेरैजसो उपभोक्ता हिँडेरै बिक्रीस्थलमा गएर सामान खरिद गरिरहेका छन् । 

 

दाल, चामल, तेल, नुन, चिउरा, चिनी, चामल, कर्णालीको सिमी, ग्यास र इन्डक्सन चुलो बिक्रीमा राखिएको छ । साल्ट्र टेडिङ कर्पोरेसनका नायब महाप्रबन्धक कुमार राजभण्डारीले सामान खरिद गर्ने उपभोक्ताको भीडभाड धेरै नै भएको बताए । “खाद्यान्न, तेल, चिनी र ग्यास खरिद गर्ने उपभोक्ताको भीड धेरै भयो,” उनले भने, “बिक्रीस्थलमा भीडभाड धेरै भएपछि कोभिडको संक्रमण बढ्न सक्ने भएकाले मंगलबारदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र बिक्री खुला गरिएको छ ।” चार दिनको अवधिमा दिनभरि खुला गरिएकाले सामान खरिद गर्ने ग्राहकको भीड धेरै भएकाले व्यवस्था गर्न पनि कठिन भएको उनले जानकारी दिए। चार दिनको अवधिमा कर्पोरेसनले ५३०६ किलो नुन, ५८३६ किलो चिनी, ३११६ किलो ठिपो, २५९९ लिटर भटमास तेल, ५४० वटा ग्यास सिलिन्डर गरेर १७ लाख २ हजार ७ सय ८८ रुपैयाँको बिक्री गरेको छ। कर्पोरेसनले कालिमाटी, कोटेश्वर जावलाखेल, सतुंगल, भक्तपुर, बनेपा र नारायणगढमा रहेका बिक्री केन्द्रबाट खाद्यान्न बिक्री गरिरहेको जानकारी दिएको छ ।

 

उपभोक्ताको भीडभाड बढेपछि बिक्री कक्ष खोल्ने समय घटाएको साल्ट ट्रेडिङले घुम्ती सेवालाई भने निरन्तरता दिने भएको छ । निषेधाज्ञाको समय अवधिभर दैनिक ३ वटा भ्यानमार्फत खाद्यान्न बिक्री वितरण गर्दै आएको थियो । लक्ष्मी सापकोटा/कारोवार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार