• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
प्रवास

नेपालको राजनीतिक अस्थिरताले उव्जाएको संकटबारे जीपी कोइराला फाउण्डेशन अमेरिकामा छलफल

न्युयोर्क । न्युयोर्क युनिभर्सिट्का प्राध्यापक रूचिरा गुप्ताले नेपालको राजनीतिक अस्थिरताले उव्जाएको संकटवारे गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालयमा आफ्ना अभिव्यक्ति दिएका छन् । भारतको विहार फरवेसगंज घर भई एक उच्च राजनीतिक घरानामा हुर्किएकी रूचीराले वाल्यकालवाटै उनको परिवारको नेपाल र नेपाली कांग्रेस पार्टीका  नेताहरूसँग घनिष्ठ सम्बन्ध रहेको कुरा समेत प्रष्ट्याइन।

 

स्वर्गीय विपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, मंगलादेवी सिंह, चक्र वास्तोला, दुर्गा सुवेदी लगायत नेताहरू लामो समयसम्म आफ्नो घरमा आउजाउ गरेको, राणाकाल र पंचायतकालमा आफ्नो घर विहारको फार्वेसगंज नै नेपाली कांग्रेसको सम्पर्क कार्यालय भएको र पछि गएर कलकत्तामा रहेको आफ्नै घर मार्वल हाउसलाई नै पार्टी कार्यालय बनाउन दिएको ,आफ्ना पिता वालकृष्ण गुप्ताले गिरीजाप्रसाद कोइरालालाई ठुलो साथ र सहयोग गरेको, महत्वपूर्ण भेटघाट र मिटिंगहरू आफ्नै घरमा भएको ,नेपाली कांग्रेसले गरेको ऐतीहासिह प्लेन हाईज्याकको योजना आफ्नै घर फार्वेसगंजमा बनेको, चक्र बास्तोला र दुर्गा सुवेदीले प्लेन हाईज्याक गर्दा गिरिजावावु आफ्नै घरवाट एयरपोर्ट पुगेको,मंगलादेवीले आफुलाई डेमोक्रेसी र महिला हक एवं समानताको लागी लडन प्रेरित गरेको ज्युँदो इतिहास लगायत पक्षलाई प्राध्यापक गुप्ताले प्रष्ट्याएकी थिइन ।

 

आफ्नो जीवनकालमा बीसौंवर्ष मानवाधिकार र समनताका लागी लडिरहेको बताउने प्राध्यापक गुप्ताले धेरै वर्षसम्म संयुक्त राष्ट्रसंघमा रही विभिन्न एशियन,युरोपियन र अफ्रिकी राष्ट्र घुमी त्यहाँको जनजीवन,मानवीय अवस्था र राजनीति प्रत्यक्ष भोगेको र देखेको अनुभव सुनाइन। आफुले दर्जनौंपटक नेपाल घुमेको, नेपाली राजनीतिज्ञसँग संगत गरेको, कोइराला परिवार लगायत नेपाली कांग्रेसका उच्चस्तरीय नेताहरूसँग लामो उठवस गरेको र नेपाल आफ्नै घर सम्झेको मीठो अनुभुती र इतिहास स्मरण गराइन ।

 

उनले आज स्वर्गीय गिरिजावावुको नाममा स्थापित फाउण्डेशनको कार्यालयमा आउँदा भावुक हुँदै इतिहासको स्मरण गरिन। प्राध्यापक गुप्ताले  वर्तमान नेपालको राजनीतिक अस्थिरताले उव्जाएको संकटवारे चिन्ता गर्दै ऐतिहासिक पार्टी नेपाली काँग्रेसले नेतृत्व लिई देशलाई निकास दिनुपर्नेमा जोड दिइन । 

 

फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले उनीजस्तो ज्युँदो इतिहासलाई कार्यालयमा स्वागत गर्न पाउँदा आफु गौरवान्वित भएको र आगामी दिनहरूमा उनको सुझाव,अनुभव र विद्दताको खाँचो आफुलाई भएको बताए। 

 

फाउण्डेशन अमेरिकाका प्रवक्ता रामचन्द्र अधिकारीले आगामी दिनहरूमा नेपाल र नेपाली जनताको जनस्तर उकास्न फाउण्डेशनले उनी जस्तो विद्वान र अनुभवीको सहयोगको अपेक्षा गरेको बताए । उपाध्यक्ष सुवर्ण लामाले  कार्यालयमाआई अनुभव बाँडेकोमा धन्यवाद व्यक्त गरेका थिए । 

 

फाउण्डेशनका  केन्द्रीय सदस्य सुर्य सिंखडा,प्रेम क्षेत्री अधिकारी,ध्रुव कुँवर क्षेत्री र आमन्त्रित केन्द्रीय सदस्य अम्वीर जोशी एवं सदस्यहरू जीवन गुरूंङ र लोकेन्द्र कार्कीले आफ्नो परिचय दिँदै उनलाई भेटन पाउनु आफुहरूको अहोभाग्य भएको र अनुभव सुन्न पाउँदा अत्यन्त उत्साहित भएको बताए।

 

प्राध्यापक गुप्तालाई गिरीजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरेले कार्यालयमा स्वागत गरेका थिए भने फाउण्डेशनको आतिथ्यता प्रति प्रसन्नता व्यक्त गर्दै प्राध्यापक रूचिरा गुप्ताले आगामी दिनहरूमा मिलेर कामगर्ने प्रतिबद्धता जाहेर गरेकी थिइन।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार