• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
प्रवास

अनेसास अस्टिन च्याप्टरको मासिक रचना वाचन कार्यक्रम सम्पन्न

अमेरिका ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्टिन च्याप्टरले आफ्नो मासिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ। 

 

जुन ६ तारिख आईतवारका दिन संस्थाका अध्यक्ष धर्मानन्द गौतमको सभापतित्वमा जुम मार्फत भर्चुअल्ली साहित्य रचना वाचन कार्यक्रमम गरिएको थियो। बिशेष आतिथीको रूपमा आमन्त्रित अनेसासका केन्द्रिय बरिष्ठ उपाध्यक्ष साहित्यकार गोवर्धन पूजा र अर्की साहित्यकार कल्पना तामाङले आ-आफ्ना उत्कृष्ट कविताहरू वाचन गरेका थिए। 

 

अमेरिकाको बोस्टनमा बस्दै आएका साहित्यकार पूजाले आफ्ना उत्कृष्ट चार कविता वाचन गर्दै आफूलाई कार्यक्रममा आमन्त्रित गरेकोमा अनेसास अस्टिन च्याप्टरलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रममा उपस्थित भएकी अर्की अतिथी साहित्यकार तामाङले कार्यक्रममा आफ्ना ५ कविताहरू वाचन गरेको थिइन।

 

संस्थाका महासचिव केशवराज ज्ञवालीले संचालन गरेको कार्यक्रममा साहित्यकारहरू पिताम्बर दाहाल, हस्त गौतम, केशव पन्थी, बबि लिम्बू, दिनेश दाहाल, सरोज वाग्लेले आ-आफ्ना रचना वाचन गरेका थिए। यस्तै लामो समयदेखि पत्रकारिता गर्दै आएका सञ्चारकर्मी तथा संस्थाका सदस्य सुमन गैरेले आफूले रचना गरेको गीत सुनाएर कार्यक्रमलाई संगीतमय बनाएका थिए। 

 

अतिथीको रूपमा उपस्थित साहित्यकार गोवर्धन पूजाले हालसम्म संयुक्त कथा संग्रह 'असहमतिका पाइलाहरु', 'शून्यताको आँचलभित्र' (उपन्यास), कविता संग्रह 'पीडा अवतार', 'वाचल ओठहरू', 'प्रेम अवतार', गजल संग्रह 'बिक्रीमा यो जिन्दगी' लगायतका साहित्यिक रचना गरिसकेका छन्। उनी युवावर्ष प्रतिभा पुरस्कार -२०५९, भानुमोती पुरस्कार-२०५७, गज़लश्री सम्मान-२०६०, युवावर्ष मोति पुरस्कार -२०६५ लगायतका दर्जनभन्दा बढी पुरस्कार र सम्मानबाट सम्मानित भएका छन्।  

 

युवा साहित्यकार तामाङका पल्लवी रातहरू (संयुक्त मुक्तक, २०६६, शिल्पी साहित्य प्रतिष्ठान), हैसियत ३ (संयुक्त गजल, २०७३, हाम्रो मझेरी साहित्य प्रतिष्ठान), शब्द शिविर (संयुक्त गजल, २०७४, हाम्रो मझेरी साहित्य प्रतिष्ठान), हिऊँको आगो (मुक्तक, २०७६, मधुवन साहित्य प्रतिष्ठान) लगायतका कृतिहरू सार्वजनिक छन्।

 

प्रवासमा रहेर नेपाली साहित्यलाई थप उचाईमा लैजान यस्ता कार्यक्रमले मद्घत पुर्‍याउने भन्दै कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष गौतमले उपस्थित सम्पूर्ण साहित्यकारहरूलाई धन्यवाद ज्ञापन गरे। आगामी दिनमा नेपाली साहित्यको उत्थानका लागि अझै राम्रा र उपलब्धी मूलक कार्यक्रम संस्थाले गर्दै जाने उनको भनाइ थियो। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार