• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

लैङ्गिक र यौनिक अल्पसङ्ख्यकको 'गौरवको महिना' के हो र यो किन महत्त्वपूर्ण छ?

काठमाडौं । अङ्ग्रेजी पात्रो अनुसार जुन महिनालाई 'प्राइड मन्थ अर्थात् 'गौरवको महिना' मानिन्छ र यो महिनाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका निम्ति विशेष महत्त्व राख्छ।

 

नेपालमा पनि जुन महिना लैङ्गिक तथा अल्पसङ्ख्यकहरूले विभिन्न कार्यक्रम गरेर 'प्राइड मन्थ' मनाउने गर्छन्। एलजीबीटीआईक्यूप्लस समुदायका लागि आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा पनि यसलाई लिने गरिन्छ।

 

यसै महिना विश्वका विभिन्न देशहरूमा 'प्राइड परेड' हरू पनि हुने गर्छन्।नेपालमा भने यसपटक कोरोनाभाइरस महामारीका कारण त्यस्तो 'परेड' नहुने तर भर्चुअल कार्यक्रम गरेर मनाइने सम्बन्धित सङ्घसंस्थाहरूले बताएका छन्। आखिर 'प्राइड मन्थ' बारे किन धेरै चर्चा हुन्छ र यसको महत्त्व के छरु यहाँ हामीले 'प्राइड मन्थ' बारे केही जानकारी प्रस्तुत गरेका छौँ।

 

विश्वभरिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र उनीहरूका सहयात्रीले जुन महिनालाई प्राइड मन्थका रूपमा मनाउँछन्।यो महिनामा कैयौँ जुलुस र प्रदर्शनहरू हुने गर्छन्। तर गत वर्ष र यस वर्ष पनि कोरोनाभाइरस महामारीका कारण त्यस्ता कार्यक्रमहरूमा परिवर्तन आएको देखिएको छ।

 

मानिसहरू उपस्थित भएर गरिने कार्यक्रमहरू रद्द भए पनि सामाजिक सञ्चालनहरूमार्फत भर्चुअल रूपमा कार्यक्रमहरू भइरहेका छन्।नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसम्बद्ध संस्थाहरूका भनाइमा भर्चुअल माध्यमबाट नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेका छन्।

 

जुन महिनालाई नै प्राइड मन्थ छान्नुको कारण लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारको आन्दोलनसँग जोडिएको इतिहास हो। सन् १९६९ को जुन महिनामा अमेरिकाको न्यूयोर्क राज्यस्थित स्टोनवालमा समलिङ्गी पुरुषहरू र प्रहरीबीच झडप हुँदा दङ्गा भड्किएको थियो।

 

बीबीसी न्यूजराउन्डका अनुसार सन् १९६९ जुन २८ मा 'स्टोनवाल इन' नामक एउटा बारमा प्रहरीले छापा मारेको थियो। उक्त बार न्यूयोर्कका समलिङ्गी पुरुषहरूको बसोबास क्षेत्रमा रहेको थियो। प्रहरीले करिब २०० मानिसलाई सडकमा निकालेर कुटेको थियो। 

 

त्यसले समलिङ्गी समुदायलाई आक्रोशित बनायो र उनीहरू पनि प्रहरीमाथि जाइलागे। उक्त घटनापछि त्यहाँ साताभरि प्रदर्शन भए र त्यो समाचार सबैतिर फैलियो। त्यसपछि अधिकारवादी समूहहरू पनि प्रदर्शनमा मिसिन पुगे र त्यसको एक महिनापछि न्यूयोर्कमा समलिङ्गीहरूले समानताको माग गर्दै खुला रूपमा पहिलो जुलुस निकाले।

 

जुन महिनामा उक्त घटना भएको र त्यसपछि समलिङ्गीलगायत यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारका लागि अभियानहरू सुरु भएकाले जुन महिनालाई प्राइड मन्थका रूपमा छानिएको हो।

 

प्राइड परेडमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले आफ्नो पहिचान खुलाएर सडकमा आउने गर्छन्।उनीहरूले आफ्नो समूहको प्रतिनिधित्व गर्ने झन्डा, ब्यानर र पोसाक लगाएका हुन्छन्। जस्तो कोही व्यक्ति शारीरिक रूपमा पुरुषका रूपमा जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाको रूपमा मान्छ भने उक्त व्यक्ति परेडमा महिला बनेर आउँछ।

 

नेपाली समाजमा कैयौँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले अहिले पनि दोहोरो जीवन अर्थात् आफ्नो पहिचान लुकाएर बस्नुपर्ने बाध्यता रहेको बताइन्छ। तर प्राइड परेडका दिन यस्ता व्यक्तिहरू पनि खुलेर बाहिर आउने गर्छन्। कतिपय आफ्नो पहिचान खुलाउन नसक्नेहरूले मुकुन्डो लगाएर पनि परेडमा सहभागी हुन्छन्।

 

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको हकहितमा काम गर्ने एउटा संस्था मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीका भनाइमा प्राइड परेड भनेको 'आफ्नो यौनिकतालाई खुलेर मनाउने अवसर' हो।

 

उनी आफ्नो एकता देखाउन र लैङ्गिक अल्पसङ्ख्यकहरूले 'सुनिने र देखिने गरी' अधिकार सुनिश्चितताका लागि आवाज उठाउनका लागि पनि परेड हुने गरेको बताउँछिन्। त्यस्तै यस्ता परेडको उद्देश्य लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूबारे जनचेतना अभिवृद्धि गर्नुपनि भएको उनको तर्क छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार