• आइतबार ३-६-२०७८/Sunday 06-20-2021
शिक्षा

'विषयगत कुरा जानेर मात्र नहुने रहेछ'

म आफु सञ्चारकर्मी । छोरीलाई सिकाइका लागि म संग समय नहुने । साँझ आउँदा निदाउने । विहान भनेजस्तो नहुने । कहिले चाँडै निस्कनु पर्ने । उसको सिकाइको साथी बन्न पाएको थिइन । छोरी पाँच वर्ष पुरा भइन । पाँच वर्षमा एउटा बच्चाको ९० प्रतिशत मष्तिस्कको विकास भइसकेको हुन्छ । यो महत्त्वपूर्ण समय छोरीको सिकाइका लागि थियो। भर्खर विद्यालय टेकेकी छोरीका लागि सिकाइको निरन्तरता घाम छाँया जस्तै थियो । २०७६ चैत बाट २०७८ जेठ बीचमा मुश्किलले साढे ३ महिना विद्यालय जान पाइन होला। कोभिडको पहिलो लहरमा सिकाइका लागि उनि विद्यालयको प्राथमिकतामा थिइनन् । पहिलो लहरमा घरमै एबीसिडि र कखरा सिकाएको थिएँ । तर त्यो प्रयाप्त थिएन । महामारिमा झन् बढी अफिसका लागि समय दिनुपर्ने बाध्यता थियो । त्यति बेला सिकाएको कखरा लेखेको कपी अहिले पनि सुरक्षित छ ।

 

दोस्रो लहरमा भने अनलाइन क्लासबाट भएपनि सिक्ने अवसर पाएकी छन्। ल्यापटप र मोबाइल अघि बसेर पढ्नु त्यति सहज होइन। माहामारिले नयाँ अध्याय सुरु गरेको छ। स्वीकार गर्नुपर्दछ । उनको अनलाइन क्लासको साथी मेरी श्रीमती हुन् । जेठ पहिलो साता उनि कोभिड १९ संक्रमित भएपश्चात उनको अनलाइन क्लासको साथी म भएको छु । 

 

छोरीको मामु संक्रमित भएपछि मामुबाट टाढा रहँदा उनको सिकाइ प्रक्रिया अघि बढाउनु पनि चुनौती थियो । उनलाई मामुबाट टाढा राख्न सजिलो थिएन । एकछिन पनि एक्लै बस्दा जहिले डर लाग्छ भन्न थालेकी थिइन । एकदुई दिनको कुरो थिएन, दुइ हप्ताको कुरा थियो । काम सजिलो थिएन । तर सोचे जस्तो गाह्रो पनि भएन । मामुले हामीलाई केही नहोस् भनेर दुरी कायम गर्नु भएको हो भन्ने छोरीको बुझाइले झन् सजिलो बनायो । हुन त छोरीले मन सम्हालेर भनेकी थिइन । दुइ तीनदिन मामुको फोटो उनको साथबाट टाढा थिएन । 

 

घरमा टेलिभिजन छैन, घरका सबै सदस्यलाई टेलिभिजनप्रति कम रुचि छ । रेडियो भने छ । सामाजिक सञ्जालका माध्यमबाट आउने कोभिड सम्बन्धि सन्देशहरुले छोरीलाई सिकाइ सकेको रहेछ । पिङ खेल्दै गर्दा उनलाइ मैले सोधेँ,  छोरी कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ ? छोरीको जवाफ थियो “मास्क लगाउने जसरी अहिले हामीले लगाएका छाँै, साबुनपानीले हात धुने, दुरी कायम गर्ने, जसरी मामुले अहिले टाढा बस्नुभएको छ ।” छोरीको जवाफले यस्तो लाग्यो छोरी ठूली भइछन् । मैले भनेको चीज नल्याइदिए, मामुसंग जान्छु भनेर एक पटक घुर्काएकी थिइन । तर कुनै बेला नजिक हुने प्रयत्न गरिनन् । हरेक रात सुत्ने बेलामा मलाई एउटा प्रश्न गर्दथिन “बाबा मामुलाई कहिले निको हुन्छ ?” 

 

उनलाई खाना खुवाउनु, नुहाउनु, संगै खेल्नु, सुताउनु, उनिसंग समय विताउनु मात्र होइन, उनिसंग पढ्नु र उनको क्लासबाट सिक्नु पनि मेरो दैनिकी थियो । सिनियर नर्सरीमा पढ्न त्यति समय नपाएकी उनलाई अनलाइन क्लास जरुरी थियो । केही न केही सिकाइ हुन्छ भन्ने हाम्रो बुझाइ थियो । धेरै अपेक्षा भने थिएन । साथी र शिक्षकसंग संवाद गर्दा पनि धेरै कुरा सिक्न पाउँछिन् भन्ने बुझाइ थियो । मेरी श्रीमती र म दुबैले अनलाइन क्लासमा छोरीले पढोस् नपढोस्, कसरी पढाउने र के पढाउने भन्ने कुरा हामीले सिक्नु पर्दछ भन्ने निधो गरेका थियौँ । मेरी श्रीमती संक्रमित भएको अघिल्लो दिनसम्म छोरीको नर्सरी कक्षामा पढ्थिन । संक्रमित भएपश्चात छोरीको नर्सरी अनलाइन क्लासमा म नियमित पढ्न र सिक्न थालेँ । छोरी ल्यापटप अघि २ वा ३ घण्टासम्म राखिरहन नसकिएला । नमान्लिन । तर हामीले सिक्यौँ भने जति बेला पनि सिकाउन सकिन्छ भन्ने हाम्रो निचोड थियो । त्यसपछि हामी नियमित पढ्न थाल्यौँ । छोरीसंगै नर्सरीमा सिक्न थालेका थियौँ । 

 

पिजि, नर्सरी, कक्षा १ र २ का साना बाबुनानीलाई पढ मात्र भन्ने होइन । उनिहरु संगसंगै आफू पनि पढ्नु राम्रो रहेछ । उनिहरुसंग खेल्दा खेल्दै नयाँ शब्द, नयाँ कथा, नयाँ श्लोक सिकाउन सकिन्छ भन्ने छोरीसंगको बसाइमा अनुभूत गरेको छु । छोरी गैँडाकोट ईंग्लीस स्कूलमा नर्सरीमा पढ्छिन् । कोभिड महामारीको यो समयमा अनलाइन क्लासबाट सिक्ने प्रयत्न गर्दै आएकी छिन् । चौध पन्ध्र दिनको समय उनिसंग प्रगाढ रुपमा विताएको छु । यसबीचमा उनको अनलाइन क्लासको प्राविधिक साथी पनि म नै हुँ । उनको कक्षामा पढ्न बस्नुको कारण, पढाउने तरिका सिक्नु थियो, विषयवस्तु के के सिकाउने सिक्नु पनि थियो । सिकाउने काम सजिलो छैन । तर तरिका जान्यो भने त्यति अप्ठेरो पनि छैन ।

 

विषयगत कुरा जानेर मात्र नहुने रहेछ । म स्नातकोत्तर गरेको छु भनेर मात्र हुँदैन । पढाउने लय हुन्छ । सिकाउने तरिका हुन्छ ।  एबीसिडि होस् या ककाकीकी लय र तरिका चाहिन्छ । यिनै कुराहरु उनको अनलाइन क्लासमा म सिक्न सकिन्छ की भनेर व्यग्र प्रतिक्षामा हुन्थेँ । उनि मोबाइल अघिको ऐनामा कपाल कोर्दथिन्, कति बेला नाच्दथिन पनि, कति बेला अनेक बहाना बनाउँथिन । यति गर्दा गर्दै पनि हामीले सोचे भन्दा पनि ज्ञानि भएर क्लासमा बसेकी थिइन । उनलाई ल्यापटपमा हेर भनेर कर गरिरहनु जायज लाग्दैनथ्यो । क्लास सकिएपछि मेरो क्लास सुरु हुन्थ्यो । मेरो क्लासको कुनै सिमाना हुँदैन, कुनै समय हुँदैन, जहाँ जतिबेला सम्झन्छु, अनलाइन क्लासमा उनलाई म्यामहरुले सिकाएका कुराहरुको चर्चा गर्न सुरु गरिहाल्छु ।

 

घरआँगनमा उनिसँग दौड प्रतियोगितामा खेलेँ। दौडिदा एबिसिडि भन्दै दौडिनुपर्ने नियम बनाएका थियाँै । अल्फाबेट भएको क्यालेण्डरमा इरेजरले हान्ने जुन लेटरमा लाग्दछ त्यहि लेटरबाट शब्द बनाउन थाल्ने । उनका खेलसमाग्रीमा १, २, ३ लेखेर छिरलिदिएर क्रम मिलाउन लगाउने । एक दिन उनको कक्षामा अपोजिट वर्ड (विपरितार्थक शब्द) पढाउनु भयो। त्यसपछि बाटोमा मान्छे देख्ने वित्तिकै उनलाई सोध्ने । बाटोमा हिँडेको मान्छे फ्याट कि थिन भनेर । टल कि सर्ट भनेर । यसरीनै गफिरहने गर्दथ्यौँ । एकदिन त आपत नै पर्यो । घर नजिक हिँडेका मान्छेलाई छोरी सुन्ने गरि बाबा फ्याट मान्छे भनि हालिन । त्यो मान्छेले हामीलाई पुर्लुक्क हेरे । म अर्को तिर फर्किएँ । हाँसो पनि लाग्यो, असहज पनि लाग्यो । आफ्ै अनुहारको मुड परिवर्तन गर्ने । हँसिलो अनुहार बनाउने । छोरी भन्दथिन, हेप्पी । दुखी अनुहार बनाउने । छोरी भन्दथिन, स्याड । एकदिन थकित मुद्रामा नजिक आउनुभएकी हजुरामालाई नाातिनीले भनिन्, आमा हेप्पी हुनुन, किन स्याड भएको । 

 

यति मात्र होइन । उनिसंग बस्दा संस्कृतका श्लोकहरु गुनगुनाउन थालेँ । उनलाई पनि भन्न लगाएँ । साँझ पख शितलताका लागि बसेको समयमा पनि संस्कृत श्लोक गुनगुनाउन लगाएँ । अहिले कण्ठस्थ त्वमेव माता चपिता त्वमेव र शान्ताकारं भुजगशयनं भनेर भन्न थालेकी छन् । 

 

छोरीलाई कुनै न कुनै कुरामा भुलाउनु पनि आवश्यक छ । घरबाहिर निस्कनै नपाएकी छोरीलाई घरकै वातावरण रमाइलो बनाउनु थियो । उनका साथीहरुबाट बन्चित थिइन । उनलाई भुलाउन, बढार्न लगाउने, भाँडा माझ्न लगाउने, कोठा मिलाउन लगाउने जे गर्दथिन । उनलाई स्वतन्त्र छोडि दिएँ । मैले मिलाएको कोठाका समानाहरु विगारेर गल्लीमा तिनै समानाहरु ल्याएर सानो कोठा बनाएर सजाउँथिन । उनलाई सबै स्वतन्त्र छोडिदिएँ । कुनै कुनै कुरामा भुलुन भन्ने अभिप्राय पनि थियो । यस्ता कुराहरुबाट रचनात्मक बन्न सकिन्छ भन्ने कुरामा म विश्वस्त थिएँ ।

 

मामु आइसोलेसनमा रहँदा समय व्यवस्थापन मेरो लागि कठिन थियो । यहि कठिनका बीच उनको परिक्षा पनि थियो । अनलाइनबाटै परिक्षा दिइन । गणितको परिक्षा थियो त्यो दिन । शिक्षिकाले सोध्नुभएको सबै प्रश्नको जवाफ निर्धक्क दिइन । वाह छोरी बधाइ छ भन्दै थिएँ । मोबाइलमा म्यासेज आयो । प्रिन्सिपल सर, हिरालाल सरको म्यासेज रहेछ । सरले म्यासेजमा भन्नुभएको थियो । आइ एम सो ग्लाड टु सि अनुश्री इज सो कन्फिडेण्ट. बधाइ छ । सरको म्यासेजले पनि थप हौसला दियो । नजिकै बस्नुभएकी मेरी आमा मुस्कुराउनुभयो। 

उनी संगको सबैभन्दा रमाइलो त लिफ आर्ट र थम्ब आर्ट कक्षामा भयो । उनिलाई सिकाउँदा आफैले पनि सिक्ने अवसर पाएँ । म आफुले पनि रमाइलो मानेँ । मैले इन्जोए गरेँ भने बच्चाले पनि सिक्न खोज्ने रहेछ । भोली लिफ आर्ट कक्षा छ भने अघिल्लो दिन नै म युट्युव सर्च गर्दथेँ र सिक्थेँ । छोरीलाई सिकाउँथे । छोरीलाई चाहिने शिक्षण समाग्रीको जोहो गरिदिन्थे । एउटा पिपलको पात लिन नारायणी किनार पुगेको छु । थम्ब आर्ट उत्तिकै रमाइलो थियो । छोरीको स्कीन एलर्जी भएको हुँदा कलर आँैलाले छुन दिइन । युट्युबबाट इयर बर्ड प्रयोग गर्न सकिने गज्जवको आइडियो मिल्यो । छोरीले इयर बर्डको प्रयोग गरेर पेण्टिङ गरिन । शिक्षण समाग्रीको व्यवस्थापनले छोरीलाई रचनात्मक बन्न सहजता मिलेको थियो ।

 

आइसोलेसनमा रहेकी छोरीको मामुलाई झन् बढी लयात्मक तरिकाले पढाउने कला छ । त्यो कला मसँग भने कम छ । आइसोलेसनमा रहँदा माथिबाट पनि छोरी तल पिङ खेल्दै गर्दा अआइई गीतबाट उनले सिकाउँथिन । सिकाइका लागि अर्को महत्त्वपूर्ण कुरा के हो भने सिकाइको निरन्तरता हो । प्रारम्भिक सिकाइको अवस्थामा रहेकाहरुलाई सिकाइको निरन्तरतामा ब्रेक हुन दिन नहुने रहेछ । 

 

सिकाइका लागि विशेष समय चाँहिदैन, सिकाइका लागि विशेष परिवेश चाँहिदैन । सिकाइका लागि निश्चित समय र विशेष कक्षा चाँहिदैन । सिकाइका लागि विशेष पोशाक चाँहिदैन। सिकाइका लागि सिकाउनु पर्ने व्यक्ति कटिवद्ध भए पुग्ने रहेछ । सिकाइका लागि समर्पित हुन सक्नुपर्ने रहेछ । सिकाइका लागि प्रकृति पनि काफी छ । सिकाइका लागि समय निकालेर पलेँटी कस्न पर्दछ भन्ने होइन । हामी काम गर्दागर्दै, हामी बस्दा बस्दै, हामी खेल्दा खेल्दै, हामी यात्राको क्रममा, हामी घुमफिरको क्रममा अभिभावकले धेरै कुरा सिकाउन सकिन्छ । सिकाइका लागि अभिभावकले चाहेको खण्डमा सहज पनि छ । सिकाउन पनि अभिभावक स्वयंले पनि पहिला सिक्न जरुरी छ । के पहिला सिकाउने, के पछि सिकाउने ? यो महत्त्वपूर्ण पक्ष रहेछ ।  

 

यस विषयमा पढेको पनि थिएँ । सुनेको पनि थिएँ । गिजुभाइको दिवा स्वप्न पढेको थिँए । त्यो उपन्यास पढ्दा छोरी जन्मेकी पनि थिइनन् । रेडियोमा शिक्षा सम्बन्धि कार्यक्रम सञ्चालन गर्दे गर्दा केही कुरा सिक्न भने पाएको थिएँ । शिक्षाका लागि राष्टिय अभियान नवलपुरले सञ्चालन गर्ने गरेको शिक्षा संवाद रेडियो कार्यक्रम र भर्चुअल कार्यक्रममा शिक्षाविद् तथा सरोकारवालाका कुराहरुबाट प्रभावित पनि भएको थिएँ । सुनेका कुरा भोगे पछि मात्र प्रमाणित हुने रहेछ । शिक्षाका लागि राष्ट्रिय अभियानले परिस्थिति जस्तो सुकेै होस् तर सिकाइ प्रक्रियाबाट बालबालिकाहरुलाई बन्चित गर्नुहुँदैन भने सचेतना कार्यक्रम गरिरहेको सम्झनामा आयो । सिकाइ प्रक्रिया विद्यालयको मात्र होइन, अभिभावकको त्यो भन्दा ठूलो जिम्मेवारी र दायित्व हो ।

 

हामी बच्चालाई पढेन भनेर गाली गछौँ । हामी बच्चालाई खेलेन भनेर गाली गछौँ । हामी बच्चालाई सोसल अर्थात् सबैसंग घुलमिल भएन भनेर गाली गछौँ । के हामी उ संगै उसका क्रियाकलापमा सहभागी भएका छौँ ? उसले सिक्नुपर्ने कुरा हामीले पनि सिकेका छौँ ? आफूले सिके मात्र सहि रुपमा सिकाउन सकिन्छ । तसर्थ मैले छोरीसंगै नर्सरी कक्षामा पढिरहेको छु । समय मिलेसम्म आगमी दिनमा पनि उनि संगै पढ्ने छु । मैले उनको कक्षा बाहिर सिकेका धेरै कुरा पनि छन् । जुन क्रमैसंगै सिकाउँदै जानेछु । महामारीमा परिस्थिति अनुकुल हुन्छ अनि सिकाउँला भनेर बस्नु गलत रहेछ । छोरीको एक वर्ष हामी अभिभावकले सिकाउन सक्ने कुरा पनि नसिकाएर भूल गरेछौँ । धेरै कुरा सिकाउन र सिक्नबाट हामीले पनि छोरीलाई टाढा बनाएको महशुस गरेका छाँै । अब हामीले सिकेका कुरा पेन्डामिकले सिकाउन रोक्ने छैन । अब हामीसँग उनको विद्यालय पनि छ । अब हामीसंग शिक्षाविद् गोपालप्रसाद भण्डारी सरले दिनुभएको प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित बालकेन्द्रीत क्रियाकलापहरुको सूचि पनि छ । यो सूचि तपाईंका लागि आवश्यक भए इमेल गर्नुहोला । गोपालसरले नवराज सरले शेयर गर्नुभएको फोटोमा कमेण्ट गर्नुभएको थियो । मलाई निकै मन परेको थियो त्यो भनाइ “ केही गरेपछि केही न केही हुन्छ, हुन्छ । अगाडी तिर लागौँ ।”

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार