• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

ओलीले जारी गरेको ६ बुँदे अपिलमा झाक्रीले गरिन् विरोध, भट्टराईले गरे स्वागत 

काठमाडौं  । नेकपा (एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थामा पु¥याउन अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको ६ बुँदे अपिलपछि झलनाथ खनाल-माधवकुमार नेपाल समूहभित्र मतभेद देखिएको छ । 

 

पार्टी एकता जोगाउन क्रियाशिल रहेकामध्येका एक योगेश भट्टराईले ओलीको अपिललाई स्वागत गरेका छन् भने खनाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई जालझेलको संज्ञा दिएकी छिन् ।

 

उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘पार्टीको एकता खास उद्देश्यका लागि थियो र एकता भंग पनि खास उद्देश्य पूरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै हो।' नेतृ झाक्रीले प्रधानमन्त्रीको वक्तव्य षड्यन्त्रका साथ पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको आरोप समेत लगाएकी छिन् ।

 

यता नेता योगेश भट्टराईले ओलीको अपिललाई स्वागत गरेका छन् । उनले प्रधानमन्त्रीसमेत रहेका ओलीको आह्वानले एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा राखेको बताएका छन् । नेता भट्टराईले अब पार्टीको शीर्ष नेतृत्वका बीचमा सार्थक संबाद हुने आशा समेत व्यक्त गरेका छन् ।

 

उनले फेसवुकमा लेखेका छन्,‘कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ। पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नुपर्ने र मिलाउनु पर्ने थप विषयहरुलाई समाधान गर्ने छ।’  उनले भनेका छन्, ‘सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मुलतः संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ ।’

 

नेपाल–खनाल समूहले २१ र २२ जेठमा केन्द्रीय कमिटी बैठकमार्फत नै संविधान र लोकतन्त्रको रक्षाका नयाँ विकल्पमा जानुको विकल्प नभएको भन्दै १० बुँदे धारणा सार्वजनिक गरेकै दिन आइतबार ओलीले पनि ६ बुँदे अपिल जारी गरेका हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार