• आइतबार ३-६-२०७८/Sunday 06-20-2021
डबली

राजनीति गर्नेहरूले पर्यावरणमाथि ठूलो खेलाँची गरेका छन्

काठमाडौं । कथाकार, कवि, सम्पादक एवं नाटककारको परिचय बनाएका अविनाश श्रेष्ठ नेपाली साहित्यमा प्रतिष्ठित नाउँहरुमध्ये एक हो। पछिल्ला दुई दशकयता पर्यावरण र प्रकृतिसम्बन्धी उनका सृजनाहरूले नवीन बहस आह्वान गरेको छ ।
 

वनजंगल, हावापानी, माटोसहित प्रकृतिका सबै वस्तु मूल्यबोध गराउने उनका कवितालाई पर्यावरणचेतका विशिष्ट कविता मानिन्छन्। श्रेष्ठको ‘करोडौं सूर्यहरूको अन्धकार’ कविताकृतिलाई पर्यावरणसम्बन्धी कविताको मानक संग्रह मानिन्छ । उनले यो संग्रह ‘पृथ्वी’ लाई समर्पण गरेका छन् । 

 

सरकारले नदीजन्य उत्खनन गर्न पाइने नीति ल्याएसँगै अहिले पर्यावरणसम्बन्धी मुद्दा चर्चामा छ। कवि श्रेष्ठ पनि सरकारी नीतिले पर्यावरण दोहन गर्ने अवस्था सृजना भएकोमा चिन्तित छन् । कवि श्रेष्ठसँग प्रकृति, मानव जीवन र साहित्यको सम्बन्धबारे गरिएको कुराकानीको सम्पादित अंश :

 

चुरे तथा नेपालका अन्य वनजंगल सखाप पार्नेगरी ल्याइएको सरकारी नीति अहिले ठूलो ‘इस्यु’ बन्दैछ । पर्यावरणको लागि यो अत्यन्त नराम्रो संकेत होइन ?
शासन गर्नेहरूमा आफ्नै देश र देशको पर्यावरणीय समस्या अनि 'इकोलोजी' बारे अध्ययन नहुनुलाई सामान्य मान्न सकिएला, तर संवेदनशीलता नै नहुनुलाई सामान्य मान्न सकिन्न।त्यसै पनि चुरे दोहनको निरन्तरको शृङ्खला जारी रहेकै बेला यस्तो संवेदनशील विषयमा सरकारले बजेट वक्तव्य मार्फत् ब्यापारघाटा पूरा गर्ने निहुँमा ल्याएको प्रावधान जानजानी आत्महत्या गर्न तम्सनुसरह खतरनाक कुरो हो भन्ने मलाई लागेको छ। यो नेपालको पर्यावरणीय विनाशका लागि त अत्यन्त वीभत्स संकेत हो नै, सत्तामा बसेकाहरूको दिमागी असन्तुलनको त्योभन्दा पनि भयावह संकेत हो ।

 

यो भयावह अवस्थाले मानव जीवनलाई नै ध्वंश बनाउँदैन र ?
बितेका चौध–पन्ध्र वर्षयता गिट्टी, बालुवा र ढुङ्गाको निरन्तरको दोहनले गर्दा नेपालका सबै नदीहरू कुरूप बनेका छन् र मरणासन्न अवस्थामा पुगिरहेका छन्। सरकार चलाउनेहरूले भने ठूल्ठूला सैद्धान्तिक कुरा गरेरै समय उम्काइरहेको प्रष्ट बुझ्न सकिन्छ। नदी–खोलाको दोहनले पर्यावरणमा निम्तिने समस्याबारे नेपालका सबै राजनीतिक दलहरूको मिलोमतोपूर्ण बेवास्ता मात्र देखिएन– आफ्नो कार्यकर्ता, आसेपासे र बेपारी पोस्ने कुत्सित मनसाय पनि उदाङ्गो हुँदै गइरह्यो । नेपाल र नेपालीको भविष्यसित राजनीति गर्नेहरूले गरेको योभन्दा ठूलो खेलाँची र गैरजिम्मेवार हर्कत अरु के होला ? अझ पनि कठोर सङ्कल्प र पहल गर्नसके नेपालको पर्यावरणीय विध्वंसबाट केही त जोगाउन सकिएला कि ?

 

राज्य सन्चालन गर्नेले पर्यावरण र प्रकृतिलाई किन सधैं उपेक्षा गर्छन् ?  
टाढा जानुपर्दैन छिमेको भारत, पाकिस्तान, श्रीलङ्का र भुटानमै पनि नदीखोला दोहन गर्ने यस्तो नाङ्गो ताण्डवलाई राजनीतिक दल र समाजको समर्थन नभएको देख्न–बुझ्न सकिन्छ । विकसित देशहरूले त आफ्ना नदी–खोला, वन–जङ्गल र अन्य प्राकृतिक सम्पदालाई जोगाइराख्न सचेत रूपमा अनेकौं उपाय गरिरहेको थाहा पाइन्छ । तर नेपालमा किन हामीले प्रकृति र पर्यावरणको महत्त्व र मूल्यलाई बुझ्न नसकेको होला रु सोच्दा, म सधैं भयावह दुःस्वप्नहरूमा घेरिने गर्छु ।

 

साहित्यमार्फत पनि प्रकृति संरक्षणको अभियान सृजना गर्न सकिन्छ ?
साहित्य लेखेर सचेतता जगाउने प्रयास गर्न नसकिने होइन, तर यो प्रयास निकै दुर्बल र निम्छरो स्तरको प्रयास मात्र हुनेछ । पर्यावरण विनाशको समस्याले विकराल रूपमा लिंदै गइरहेको आजको समयमा विश्वका सबै मुलुकहरूले राज्यका सम्पूर्ण संयन्त्रहरूलाई सचेततापूर्क पर्यवरण विनाशका विरुद्ध परिचालित गर्न अबेर गर्नु हुँदैन। साथै समाजका सबै वर्ग, लिङ्ग, धर्म र स्तरका व्यक्तिहरूलाई पर्यावरणीय समस्याबारे अवगत गराउन ठूलै पहलको खाँचो म देख्छु । 

 

अहिलेको संकटले दिएको सन्देश के हो ?
यो भयावह अवस्था निम्तिनुमा प्रकृति–पर्यावरणको विनाश नै मुख्य कारण हो । हामी मानिस सचेत बनेर प्रकृति–पर्यावरणको दोहनलाई तत्काल रोक्नुपर्छ । व्यक्तिगत लाभका लागि नदी–खोलाको दोहन, वनजङ्गल विनाश, पशुपक्षी–कीटपतङ्गको जीवनचक्रलाई विनष्ट गर्ने मूर्खतापूर्ण कार्यलाई तत्काल रोकेर प्राकृतिक सन्तुलनका निम्ति भूमिका खेल्न नसक्ने हो भने भविष्यमा मान्छेको प्रजाति नै सखाप हुनसक्ने खतरा देखिएको गम्भीर सङ्केत हो यो । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार