• आइतबार ३-६-२०७८/Sunday 06-20-2021
विचार

नेपाली राजनीति : महामारीमा कुर्सीको सवारी

मुलुक कोरोना महामारीले आक्रान्त छ । दिनहुँ सयौं जनता अकालमै ज्यान गुमाइरहेका छन् । अस्पताल संक्रमितले भरिभराउ छन् अझै पनि उपचारमा समस्या कतिपय ठाउँमा । आइसीयू र भेन्टिलेटर अभावमा मानिस छट्पटाइरहेका छन् । आर्यघाटमा धुवाको मुस्लो फुस्फुसाइ रहेको छ । आज कतिजना मानिसको मृत्यु भयो भनेर गनेर बस्नुपर्ने अवस्था आएको छ । आर्यघाटमा शव जलाउनलाई पनि पालो कुरेर बस्नुपर्ने तीतो यर्थाथ । देशको यो कहालीलाग्दो र पीडादायी अवस्थाले मन नहुनेहरुको मन पक्कै रुन्छ होला।

 

यो विषम परिस्थितिमा एउटा प्रश्न उठ्छ राज्य, सरकार र अन्य जिम्मेवार निकायाहरु यतीबेला कहाँ हराइरहेको होलान ? नागरिकलाई अप्ठ्यारो पर्दा समस्या पर्दा एउटा सहयोगी र अभिभावकीय भूमिका खेलोस् भनेर राज्य अनि सरकारको परिकल्पना गरिएको हो । तर आज जनताहरु अस्पतालको बेडमा छटपटाइरहेको बेला सरकार हराएको छ । टेलिभिजनमा सरकार हराएको सूचना जारी गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

 

जनतालाई दुःखमा नचाहिने सरकार अब फेरि किन र कतिबेला चाहिन्छ होला र ? अहिलेको विकराल परिस्थितिलाई हेर्ने हो भने सरकार पूर्णतः असफल भएको छ। कोरोना संक्रमितहलाई न बेड, न अक्सिजन, न भ्यान्टिलेटर, न राम्रो उपचारको व्यवस्था छ। कोरोना रोकथामको लागि आवश्यक पर्ने खोपको अवस्था पनि उस्तै छ।अझै कहिले नेपालीहरुले खोप लगाउन पाउने हुन्, कुनै ठेगान छैन। आजको यो अवस्था हेर्दा,भोग्दा जनता निराश छन्। जनतालाई सरकारको आड भरोसा चाहिएको बेला सरकार भने राजनीतिक भागबण्डामा रुमलिएको छ । सरकार लाचार बनेर रमिता हेरिरहेको छ। सरकार मात्रै होइन महामारीको बेला विपक्षी दलहरु, नागरिक समाज, राजनीतिक समाजिक संघसंगठनहरु सबैको साझा दायित्व हुन्छ जनतालाई बचाउने। तर दुर्भाग्यपूर्ण ! आज कसैलाई पनि कोरोना महामारी नियन्त्रण गर्ने गम्भीर चिन्ता देखिन्न। नेपाली राजनीतिको पहिलो प्रथामिकतामा आज पनि कोरोना संक्रमित जनताको पीडा, रोदन, दुःख र समस्या पर्न सकेको छैन। महामारी  भनेको एउटा गम्भीर अवस्था हो । यस्तो बेला राजनीतिक आग्रह पूर्वाग्रह सबै भुलेर सत्ता स्वार्थाबाट माथि उठेर जनता जोगाउन लाग्नुपर्ने हो । तर, नेपालमा सत्ता र शक्तिको राजनीतिक खिचातानी बढ्दो छ  र यो सरकार एकपछि अर्को बिवादित कर्ममा लिप्त छ। न बिज्ञको कुरा सुन्छ न त नागरिकको चित्कार नै। 

 

राजनीति गर्ने भनेको नै देश र जनताको भलाइका लागि हो । देश र जनता नै नरहे कसका लागि राजनीति गर्ने ? कुर्सी गौण कुरा हो । महामारीको बेला नेतामा कुर्सी मोह हुनु हुँदैन। नेता जनता प्रेमी हुनुपर्छ। समय आएपछि जनताले आफै नेताको हिसाब किताब गर्छन। महामारीलाई निस्तेज पार्न सबैको उत्तिकै साथ सहयोग र भूमिका आवश्यक छ। तर, नेपालमा त्यो देखिएको छैन । २०७७ साल कोरोना महामारीले आक्रान्त पार्‍यो । प्रयाप्त तयारी र आवश्यक उपकरण जुटाउने समय हुँदा पनि सरकारले तत्कालीन कदम चाल्न नसक्दा क्षती धेरै हुन पुग्यो। 

 

२०७७ को अन्त्यतिर अव त अवस्था सहज होला भनेको २०७८ को सुरुमा नै फेरि उही अवस्था दोहोरियो । जहिले मुलुकमा लकडाउन जारी छ। निषेधाज्ञा लकडाउनले अधिकांश जनता घरभित्रै थुनिन बाध्य भएका छन्। दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदुरहरूलाई चुल्हो बाल्न धौं–धौं भइरहेको छ। यस्तो बेला सबै दल एक ठाउँमा उभिएर जनतालाई साथ दिनुपर्ने हो । जनताका भोका पेट भर्नुपर्ने हो । तर, नेपालमा त्यसो हुन सकिरहेको छैन ।  

 

मुलुक दोस्रो भेरियन्टको चपेटामा छ। तर, वर्तमान सरकार महामारी नियन्त्रणमा भन्दा सत्ताको खेलमा लागेको छ। जनताको आयु कसरी लम्ब्याउने होइन आफ्नो सत्ता कसरी लम्ब्याउने अनि जनताको जीवन कसरी बचाउने होइन। आफ्नो कुर्सी कसरी बचाउने यहि चिन्ता मात्रै देखिन्छ। यसैगरी अन्य पक्षहरु पनि कोरोना महामारी नियन्त्रण कसरी गर्ने ? अक्सिजनको अभावमा छटपटाइ रहेकाहरुलाई कसरी बचाउने भन्ने भन्दा पनि सत्ताको खेलमा नै रुमल्लिरहेका छन् । यो विडम्बनापूर्ण र दुःखद अवस्थामा आम नागरिकलाई कोरोना महामारीबाट कसरी बचाउने, कसरी जोगाउने भन्ने मुल चिन्ता र चासो हुन पर्नेमा नेपालको राजनीति आफ्नो मुल बाटो, पहिलो प्रथामिक्ता र राष्ट्रिय जिम्मावारी भुलेर यो महामारीमा कुर्सीको खेल तर्फ केन्द्रित भएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार