• आइतबार ३-६-२०७८/Sunday 06-20-2021
रंगमञ्च

दोस्रोपटक यस्तो हुन्छ भनेर कसैले सोचेको थिएन !

नाटक ’मितज्यु’ थिएटरमै मञ्चन गर्ने कुरा थियो, तर डिजिटलमा प्रदर्शन भएछ । यसमा विशेष केही कारण ? 
मितज्यु थिएटरमा नै मञ्चन हुने कुरा भएको सत्य हो । तर, सबै कलाकारहरुको समय एकैपल्ट मिलाउन गाह्रो भयो । त्यही असमञ्जसमा केही समयका लागि नाटक नदेखाउने कि जस्तो कुरा पनि आएको थियो। तर, अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखेर यसलाई भिडियो बनाएर डकुमेण्टेशन किन नगर्ने त भन्ने निर्णयमा सबैजना पुग्यौँ । पछि गर्ने सोच थियो, अघि भयो। कुरा त्यति मात्र हो। 

 

नाटक त दर्शकहरुको सामु बसेर देखाउँदा त्यसको आफ्नै प्रभाव हुन्छ । डिजिटल्ली आउँदा कस्तो महसुस भएको छ ?
डिजिटल्ली आउँदा थिएटरको प्रभाव पर्न मुश्किल हुन्छ । सही हो । नाटक गर्नु र हेर्नु भनेको प्रत्यक्ष थिएटरमै मजा हुन्छ– हेर्ने र गर्ने दुवैलाई । तर, अहिले यो महामारीको अवस्थालाई बेवास्ता गर्नु पनि बुद्धिमानी भएन । त्यसैले हामीसँग डिजिटल रिलिजको विकल्प थिएन । त्यसबाहेक यो पहिला पनि मञ्चन भईसकेको नाटक पनि त हो । डिजिटल्ली लिएर जाँदा यसलाई हामीले अलिकति फरक तरिकाले खिच्ने र त्यसको भिडियो अपलोड गर्ने भन्ने सोचेका थियौँ । तर, महामारीको अवस्था आउला र यसरी रिलिज गर्नुपर्ला भनेर चाहिँ सोचेका थिएनौँ । जेहोस् जे गर्‍यौँ त्यसमा नयाँ अनुभव हासिल भएको छ । यसरी काम गर्दा सामना गरेका चुनौतीहरुले पछिको लागि पनि धेरै सिकाएको छ ।  

 

यस नाटकमा तपाईँको कस्तो भुमिका छ ?
नाटकमा म दोहोरो भुमिकामा छु । युवा मीत र बुढाको । मैले गरेको मीतको चरित्र यस्तो छ कि जो आफ्नो मीतका लागि परि आएको खण्डमा जे पनि गर्न तयार हुन्छ। जिन्दगीभर साथ दिन्छ, दुःखमा सहारा बन्छ।

 

पहिले नै मञ्चन भईसकेको नाटक किन ? नयाँ पनि गर्न सकिन्थ्यो होला नि ?  
हो, तर यसलाई हामीले धित मर्ने गरी देखाउन पाएका थिएनौँ। त्यसबेला पनि हामीले जम्मा पन्ध्र दिन मात्र शो गरेका थियौँ । यो नाटक दर्शकहरुलाई फेरि देखाउन एकदमै मन थियो। त्यसैले सबै कलाकारहरुको समय मिलाएर यो नाटक फेरि गर्ने सोच त्यतिखेरै बनेको थियो। नाटक सान्र्दभिक छ, जीवनको विविध पक्ष समेटिएको छ । शायद यसैले फेरि गर्ने सोच सबैमा आएको होला । 

 

पहिले गरेको र अहिले गरेको ‘मितज्यू’ को कथा उस्तै छ कि फरक छ ?
नाटकमा कथाको चुरो कुरा चाहिँ पुरानै छ । दर्शकहरुलाई नाटक बुझ्न अझै सहज होस् भनेर केही सम्वाद र दृश्यहरु थपिएका छन् ।

 

 

डिजिटल माध्यमबाट नाटक मञ्चन गर्दा के फाइदा हुन्छ ? 
यसमा फाइदा खासै केही हुँदैन । थिएटरको हिसाबले अलि असर नै गर्ला । तर अहिले घरमा बसिरहनुभएका हाम्रा दर्शक र हाम्रा नियमित दर्शकको लागि घरैमा बसेर नाटक हेर्नलाई भने सजिलो हुन्छ। उहाँहरुले नाटकलाई अझ नजिकबाट बुझ्न पाउनुहुन्छ । दर्शक र हाम्रालागि फाइदा भनेको यही नै हुनसक्छ ।

 

यस्तो बेलामा पनि रिहर्सल चाहिँ कसरी गर्नुभयो ? 
रिहर्सल हामीले अगाडि नै गरेका थियौं । तर, अलि तयारी नपुगेर फेरी बीचमा रोक्यौँ र फेरि दोहोर्‍याएर गर्‍यौँ ।

 

अहिलेको समयमा रंगमञ्चको स्थिति र यसका चुनौती केके देख्नुहुन्छ ?
अहिले विश्व नै कोरोनाले आक्रान्त छ। त्यसमाथि सेकेण्ड भेरिएण्ट देखा परेको छ। मण्डला थिएटरले एक किसिमका नौला नाटक ल्याएर शुरुवात त गरिरहेको थियो र अन्य थिएटर संस्थाहरुले पनि विभिन्न कार्यक्रमहरु गरेका थिए। मण्डलाले पनि अब के के नाटक गर्ने भनेर योजना बनाएको थियो। त्यस अनुसार गर्न सकिएन। जसले अलिकित गाह्रो अवस्था बनाएको छ । तर, रंगमञ्चको मात्रै किन अहिले सबै क्षेत्र नै गाह्रो अवस्थामा गुज्रिरहेको छ। झन् एकैचोटी बसेर लाइभ हेर्नपर्ने कुरा छ, यसमा असर त छँदैछ । चुनौती पनि धेरै छ। आर्थिक हिसाबले चुनौती त पहिला पनि भनिएका कुरा नै हुन्। त्यस हिसाबले कलाकार वा रंगकर्मी नै भनौँ जो एउटा उर्जाको हिसाबले अगाडी बढिसकेका थिए त्यो फेरी अब रोकिने अवस्था देखिएको छ । अब यो कहिलेसम्म हो, कति हुने हो थाहा छैन । सरकारको नीति कस्तो हुन्छ भन्ने कुरामा पनि भरपर्ला । थिएटर समाजसँग जोडिएर जाने कुरा पनि हो । हामी पनि सामाजिक प्राणी नै हौं । त्यो हिसाबले जस्तो किसिमको चुनौती आउँछ त्यसको सामना त्यसरी नै गरिन्छ भन्ने लाग्छ । 

 

रंगकर्मीले आफुलाई सहज अवस्थामा फर्काउन कस्तो बाटो अपनाउनु पर्ला ?
अब सहज अवस्थामा फर्काउन व्यक्तिपिच्छे आआफनो तरिका हुन्छ । अघिल्लो पटक पनि यसरी नै लकडाउन भएको थियो र हामीले यस्तै कुरा गर्‍यौं । यो पटक पनि फेरी। अब भन्दा दार्शनिक कुरा गरेको जस्तो हुन्छ, सबैलाई सहज तरिकाले फर्कन अलि समस्या पनि होला। किनकि फेरी दोस्रोपटक यस्तो हुन्छ भनेर कसैले सोचेको थिएन । लकडाउन पछि र फेरि गाह्रो अवस्था आउँछ भन्ने कल्पनामै थिएन । त्यो हिसाबले सहज अवस्थामा फर्काउने भनेको रंगकर्मीहरुले आफुमा भएको के कुरा छ त्यो कुरामा निखारता ल्याउँदै जाने र नयाँ कुराहरु आफुलाई के के गर्न मन छ त्यो कुराहरु फेरि गर्ने ।

 

 
यही अवस्थामा एउटा स्वतन्त्र कलाकारको जीवन कसरी चल्छ ? सबै बन्द नै छ ? आम्दानीको बाटो केही छैन ? के भन्नहुन्छ ?
स्वतन्त्र कलाकार जीवन चल्न त गाह्रो नै छ । किनकी अघिल्लोपटक अलिअलि बचत गर्नेले त गर्नुभयो होला । तर, नर्गनेको लागि चल्न भने गाह्रो नै छ। अहिलेको अवस्थामा सबैकुरा बन्द छ । यसमा चल्ने स्थिति भनेको म अरु केही पनि देख्दिनँ। आम्दानीको बाटो हेर्ने हो भने म मेरै उदाहरण दिनसक्छु । अघिल्लो लकडाउन पछि मैले ‘जारी’ भन्ने चलचित्र पछि केही पनि काम गरेको छैन । यो लगभग दुई वर्ष हुन लाग्यो। अहिलेको अवस्थामा बाँच्ने तरिका भनेको मैले केही जम्मा गरेको थिएँ होला र केही सरसापटबाट यसरी नै चलिरहेको स्थिति छ । यसमा मलाई मात्र नभएर सबैलाई गाह्रो भएको अवस्था छ । यस्तो अवस्थामा हामीले यो भन्दा अघि एउटा कोष खडा गर्नुपर्छ, यसलाई व्यवस्थित ढंगबाट अगाडी लिएर जानुपर्छ भनेर सबै संस्थाहरु मिलेर संगीत तथा नाट्य एकेडेमीमा पहल पनि गर्‍यौं । तर त्यसको केही सुनुवाई भएन। त्यसैले गाह्रो छ भनेर भाग्ने भन्दा पनि सबै मिलेर सहज बनाउँदै लानुपर्छ जस्तो लाग्छ ।


लकडाउनको बेला कसरी आफुलाई व्यस्त राख्नुहुन्छ ? यो समय के के गर्नुहुन्छ ?
अब अघिल्लो लकडाउनमा विवाह भयो । अहिलेको लकडाउनमा सँगै छौँ । गफ गर्ने, किताब पढ्ने, फिल्महरु हेर्ने । कहिलेकाहीँ हप्तामा एकपटक थिएटर जाने। जसरी अरुको जीवन चलिरहेको छ त्यसरी नै हाम्रो पनि चलेको छ । नयाँनयाँ आफुले नजानेका कुराहरु के के छन् ती कुराहरु सिक्दै जाने र त्यो कुरालाई कसरी नयाँ तरिकाले गर्ने भन्ने कुरामा समय बितिरहेको छ । 

 

प्रस्तुती : सुकृत नेपाल
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार