• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
रंगमञ्च

आजबाट नाटक 'मितज्यू' पहिलोपटक डिजिटल माध्यमबाट सार्वजनिक हुँदै

काठमाडौं। मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्न लागेको छ । सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक 'मितज्यू' लाई मण्डलाले (आज) शुक्रबार साँझ ५ बजे आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गर्न लागेको हो ।

 

मितज्यू नाटक दुईजना बृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लाशब्याक’ कथा हो। नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनोअन्र्तगत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ । मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ । पञ्चायतकालिन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरुको स्मृतिमार्फत बर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ तर फेन्टासीसँगै दुई वृद्धहरुको जीवनदर्शन पनि समेटिएको छ ।

 

सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको नाटक मितज्यूलाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने भएपछि पुर्नलेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरुका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरिएको हो। नाटकको छायाँकन चैत महिनाको अन्तिम साता गरिएको थियो । नाटकमा बुद्धि तामाङ, बिजय बराल, सृजना सुब्बा, उमेश तामाङ, बिकाश जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपाने लगायतको मुख्य भूमिका रहेको छ। राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकलाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् भने नाटकमा बेनुका राईको संगीत सुनिनेछ। नाटक निर्माण तथा छायाँकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकहरुको संलग्नता रहेको थियो ।

 

नाटककाे सार्वजनिक भएपछि अनलाइन एप्लीकेशन जुममार्फत नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्‍तर्क्रिया गरिने कार्यक्रम रहेकाे छ। अन्‍तर्क्रियालाई मण्डलाले फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार