• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
डबली

देउता बनेको लाटोकोसेरो

जहाँ अदालतले ज्यानमारा ठहर गरेकोलाई

आँखा अगाडि पुलिसले फरार घोषणा गर्नुपर्छ

त्यतिले नपुगेर,

ठहर अपराधी अभिनन्दित हुँदा

पुलिसले लाचार बनेर हेर्नुपर्छ

अझ नपुगेर,

फरार अभियुक्तसँग राजकीय भ्रमणमा

विदेश पुगेर प्रधानमन्त्री भलाकुसारी गर्दछन्

त्यसैले त

सरकार अपराधीलाई दण्ड होइन,

उन्मुक्ति दिन्छ

अनि त

आम जनताको लागि

सरकार छैन अहिले

विदेशी सुरक्षाकर्मीले नेपालभित्र नेपाली मार्दा

आवाजसम्म निकाल्न सक्दैन यो सरकार

गृहमन्त्री कुन मुलुकको सोध्नुपर्ने हुन्छ

यसरी कानुनको मृत्यु हुँदा

राष्ट्रिय संवेदनशीलताको हत्या हुँदा

सरकारले झन् ठुलो अवसर पाउँछ

हर्षोल्लास मनाउँछ

निजी खल्तीबाट पैसा झिके सरह

राष्ट्रको ढुकुटीबाट अरवौ रुपैयाँ लुटाउँछ

केबल तिनीहरूलाई अझ मुसदण्ड बनाउन

आसन्न चुनावको लागि

अरवौको राजश्व मार्न

एन्सेलको भोर जुवामा 

मन्त्रिपरिषद्को ल्याप्चे लगाइन्छ

त्यसैले यहाँ अहिले

द्रुत गतिमा वृद्धि भएको छ

विदेशी खटन-पटनको

विदेश प्रदत्त सरकार गठन-विघटनको

कुशासनको

अविकासको

लुटको

यसरी जनजीविका रुपान्तरित गर्न

मुलुक नै रूपान्तरित गरेका छन्

यिनीहरूले

केवल लुटतन्त्रात्मक गणतन्त्रमा

अनि त

मुस्टेले हानेको अविकासको विकास हेरेर

थपडी बजाउन

लाटोकोसेरोलाई देउता बनाइएको छ
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार