• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
विचार

अनुशासन र दृढ संकल्प कै कारण आज चीन कोरोनामुक्त भयो

विश्वलाई कोभिड–१९ को महामारीले गाँज्न थालेको पनि १६ महिना भइसक्यो। हालसम्म विश्वमा कोभिड संक्रमितको संख्या १५ करोड ५९ लाख पुगिसकेको छ भने ती मध्ये ३२ लाख ५६ हजारको मृत्यु, १३ करोड ४१ लाख जना उपचार पश्चात स्वस्थ भएका तथा १ करोड ८६ लाख जना सक्रिय संक्रमित छन् । भारतमा मात्र संक्रमितहरुको संख्या २ करोड १० लाख र मर्नेहरुको संख्या २ लाख ३० हजार नाघिसकेको छ। यता नेपालमा पनि पछिल्ला दिनहरुमा एक दिनमा नै ९,००० को हाराहारीमा नयाँ संक्रमितहरुको सख्या बढ्न थालेको र ५० जना भन्दा बढीको दैनिक मृत्यु हुन थालेको छ । नेपालमा कुल ३ लाख ६८ हजारमा संक्रमण देखिएको र ती मध्ये २ लाख ९२ हजारले स्वास्थ्य लाभ गरेको तथा झण्डै ३,५२९ जनाको ज्यान गएको छ। त्यस्तै सक्रिय संक्रमितहरुको संख्या हाल ६६,५०० छ। नयाँ वर्ष २०२१ को शुरुवातदेखि विस्तारै घट्दै गएको महामारीको दर हाल केही हप्तादेखि फेरी यो नयाँ पिँढीको कोरोना भाइरसबाट ह्वात्तै बढ्दै गएको छ । यस दौरान कोरोना भाइरसबाट हुने गरेको संक्रमणवारे वैज्ञानिकहरु र अनुसन्धाताहरुले धेरै कुराहरु पत्ता लगाइसकेका छन् भने यो महामारी विरुद्धको खोपको पनि विकास भइसक्यो । खोप वाहेक यो भाइरसबाट बच्ने तीन मुख्य उपायहरु खासगरी घर बाहिर जाँदा नाक–मुख छोपिने गरी मास्क लगाउने, हात ठिक तवरले धुने र सामाजिक दूरी अपनाएर हिँड्ने नै हुन् । आगामी लामो समयसम्मको लागि अनावश्यक भिड नगर्ने, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने उपायहरु अवलम्बन गर्ने र व्यक्तिगत र सामाजिक सरसफाईमा विशेष ध्यान दिने । यतिमात्र गर्न सकेमा पनि कोरोनाबाट धेरै हदसम्म बच्न सकिन्छ ।

 

मानवजातिले प्रकृतिको ज्यादै नै धेरै धज्जी उडाएर वातावरणलाई दुषित बनाउँदै गएकाले नै विभिन्न किसिमका रोगव्याधी र महामारीहरुले हामीहरु तथा अन्य प्राणीहरुलाई गाँज्ने गरेका छन् । झन् कोरोनाले त अरु सबै प्राणी र वनस्पतीलाई छोडेर मानव जातीलाई मात्र हमला गर्ने गरेर केही ठूलै पाठ सिकाउन खोजेको भान भइरहेको छ । तर हामी स्वार्थी मनुवाहरुले दुखका दिनहरु यति छिटो बिर्सन्छौँ कि दुर्दिनहरु अलिकति मात्र कम हुने वित्तिकै हामी छिटै नै प्रकृतिलाई जीस्काउन र दोहन गर्न फेरी तम्सीइ हाल्छौँ । अनुशासित र निस्वार्थी जीवन व्यतित गर्न अधिकांश मानव जाती चुकेको देखिन्छ ।

 

विश्वमा धर्म, राष्ट्रियता र राजनीति रुपी अफिमले मानव जातीलाई यति धेरै गाँजेको छ कि आजको यस्तो महामारीमा पनि मानिस भिड जम्मा गरेर धर्म र राजनीति गर्ने नाममा संक्रमण पैmलाउन छोड्दैन । त्यस्तै आफ्ना सिमानामा पर्ने केही सानो जमीन हडप्नको निम्ति छिमेकी देशसँग वाकयुद्ध, भिडन्त, फजुलको लडाईँ र सैनिक वन्दोवस्ती र हातहतियारमा अथाह पैसा खर्चिन एक प्रकारको होडवाजी नै चल्दछ । हालै केही महिना अघिदेखि नेपाल र भारतमा भएका कैयन् राजनैतिक, धार्मिक भेला, जात्रा, मेला र जुलुसहरुले गर्दा कोरोनाको संक्रमण एक्कासी बढ्न पुग्यो । यस्तै हेल्चक्र्‍याईँले गर्दा आज भारतको सरकारलाई आफ्ना जनताले कोरोनाको आकाशिँदो संक्रमणका कारण भोग्नु परेको अपत्यारिलो पिडालाई कम गर्न निकै हम्मे परिरहेको छ । नेपाल, वंगलादेश र पाकिस्तान पनि त्यही दुर्दशाको बाटोमा अघि बढ्दै छन् र आउँदा केही दिन वा हप्तामा स्थितिले कतिसम्मको विकराल रूप लेला भन्ने कल्पना समेत गर्न सकिएको छैन । 


मुलुक बनाउने र जनताको सुरक्षाको ग्यारेन्टी लिने प्रण गरेका दक्षिण एशियाका अधिकांश नेताहरु आफ्नो व्यक्तिगत र पार्टीको फाइदाको निम्ति महामारी र जनताको चरम विपन्नता सबै बिर्सेर राजनीतिक होडवाजी र भिड जम्मा गर्न तुलेका छन् । भारतमा आज दिनको ३ लाखको हाराहारीमा संक्रमितको संख्या थपिने गरेको र दिनमा ३,००० भन्दा बढीले ज्यान गुमाइरहेका छन् र २८ हजार व्यक्तिको लागि एक डाक्टर मात्र उपलव्ध छन् भने अक्सिजन नपाएर नै धेरैको मृत्यु भइरहेको छ तथा मृत्यु पश्चातको संस्कार गर्न समेत निकै गाह्रो परेको छ । त्यस्तो ठूलो औद्योगिक विकास गरेको राष्ट्र र हालैमात्र कोभिडको पहिलो लहरबाट ठूलो अनुभव बटुलिसकेको मुलुकले पनि फेरी दोश्रो लहर आउन सक्ला भनेर अस्पतालको शैया, अक्सिजन र औषधी जस्ता आधारभूत सामग्री र जनशक्तिको समेत जोहोगर्न सकेको रहेनछ । बरु त्यहाँ पनि सरकार प्रमुखको भव्य नयाँ निवास बनाउने, नव साम्राज्यवादको तयारी, अनि कुम्भको मेला आयोजना गर्ने, चुनाव गर्ने र अर्थतन्त्रलाई बौरिन दिने नाममा सबै थोक खुला गर्ने काममा नै सरकार व्यस्त रहेको देखिन्छ। अक्सिजन नपाएर टड्पिरहेका विरामीहरु र उनका आफन्तको रुवावासी तथा चिकित्साकर्मीहरु किंकर्तव्यविमुड भएर थक्थकाइरहेका र ज्यान गुमाएकाको अन्तिम संस्कार समेत राम्ररी गर्न नसकेका दृश्यहरु टेलिभिजनमा देख्दा निकै कहाली लाग्नुका साथै मन धुरु धुरु रुन्छ । नेपालमा नै पनि आराम गर्नसुस्ताउने फुर्सद पनि नपाएका तथा आफैं संक्रमित भएर पनि स्वास्थ्य सेवा पु¥याइरहेका स्वास्थ्यकर्मीहरु तथा अस्पतालमा ठाउँ नपाएर विलखवन्दमा परेका विरामी र उनका कुरुवाहरु तथा मृतकको शव जलाउन समेत कठिन भएको वारेका कुरा सुन्दा कहाली लागेर आउँछ । त्यस्तै इजरायल जस्तो विकसित मुलुकमा पनि धार्मिक कट्टरताले गर्दा केही दिन अघि भिडले किचिएर ४५ जनाको मृत्यु हुन गयो । त्यहाँ सम्पुर्ण जनसंख्याले भ्याक्सिन लगाईसकेको भएता पनि भिडका कारण बढ्न गएको संक्रमणको खवर केही दिनमा आउला। अमेरिका जस्तो अति विकसित देशमा समेत मानिस यति धेरै केटाकेटी जस्ता भएर पुल्पुलिएका रहेछन् कि एकछिन बाहिर जाँदा मुखका मास्करुपी टालो लगाउन पनि नसक्ने वा भ्याक्सिन समेत नलगाउने। सरकारले बच्चालाई फकाएको जस्तो गरेर ल भैगो भ्याक्सिन लगाउ, त्यसपछि मास्क नलगाए पनि हुन्छ भनेर आह्रवान गर्नुपर्ने । यता तेश्रो विश्वमा भने भ्याक्सिन नपाएर मानिसहरु तड्पीरहेको अवस्था छ । 

 

तेश्रो विश्वका मानिसहरुले पनि महामारीलाई अनुशासित तवरले परास्त गर्न कुनै कदम चालेका छैनन् । हाम्रा सरकार र नेता जस्तै अराजक हामी सबै छौँ । घर–परिवारको भन्दा पनि हामीलाई साथिसंगीको धेरै माया लाग्छ र उनिहरुसँग टाँसिएर हाँसखेल तथा खानपिन गर्न मन लाग्छ, सामाजिक सुरक्षालाई लात मारेर भिड गर्दै हामीलाई समाजमा लखर लखर हिँड्न मन लाग्छ, कोरोनाले गर्दा भन्दा पनि घरमा बस्दा हामीलाई श्वास रोकिए जस्तो हुन्छ र यस्तै बेलामा आफन्तको विवाह र व्रतवन्ध तथा अन्य कर्मकाण्ड गरेर भोज खान र खुवाउन हामीलाई मज्जा लाग्छ ।

 

हालसम्म नेपालमा भारतको सहयोगमा ११ लाख, चीनको सहयोगमा ८ लाख र विश्व स्वास्थ्य संघको सहयोगमा ३ लाख तथा नेपालले भारतसँग खरिद गरेको १० लाख गरी ३२ लाख मात्रा कोरोना विरुद्धको भ्याक्सिन भित्रिएको छ । सो मध्ये ५ प्रतिशत मात्र टुटफुटमा प¥यो भने पनि १५ लाख नेपालीहरुलाई खोपको दुई मात्रा लगाउन पुग्छ। तर हालको लकडाउनले गर्दा चिनीया खोपको पुरा उपभोग हुन पाएको छैन । समाचारहरुमा भनिए जस्तो २० लाख नेपालीहरुलाई खोप लगाई सकेको हो भने दोश्रो मात्रा नै स्टकमा नराखी सरकारले त्यसरी हचुवाको भरमा भ्याक्सिन खर्च गरेर यो प्रकृयालाई अपुरो हुन दिनु हुँदैनथ्यो । यस्तै समस्या व्राजिलले पनि भोगिरहेको छ । त्यहाँ पनि पहिलो डोज दिएर दोश्रो डोजको लागि भ्याक्सिन नराखिएकोले ठूलो असन्तुष्टि देखा परिरहेको छ ।

 

थप १० लाख भ्याक्सिनको लागि रकम भुक्तानी भइसकेको भएता पनि हाल नेपालले भारतबाट भ्याक्सिन आउने कुरामा त्यति आशावादी भएर बस्नु व्यर्थ छ, किनकी उ आपैm नै आफ्ना नागरिकहरुलाई छिटो भन्दा छिटो भ्याक्सिन लगाउन निकै चिन्तित छ र यो कामको लागि उ मुलुक भित्र नै अधिकतम मात्रामा भ्याक्सिन उत्पादन गर्न कस्सिएको छ भने अन्य भ्याक्सिन बनाउने मुलुकहरुसँग पनि खोप भित्राउने वारे कुरा चलाईरहेको छ । तर राजनीतिक प्रतिशोध र अहंकार एउटा कस्तो खतरनाक रोग हुँदोरहेछ भने छिमेकी मुलुक चीनसँग त भ्याक्सिन वारे कुनै पहल नै हुन नसक्ने भयो भारतको । सम्पुर्ण विकशित राष्ट्रहरुले बहिस्कार गरेको भएता पनि विश्व स्वास्थ्य संगठनले चीनी भ्याक्सिनको परिक्षण गरेर त्यसलाई स्विकृति दिने अन्तिम टुंगोमा उ पुगिसकेको छ । 

 

हाल संयुक्त राज्य अमेरिकामा मात्र ६ करोड मात्रा एस्ट्रोजेनेका भ्याक्सिन त्यहाँका जनताले लगाउन नमानेर अलपत्र परिरहेको छ । त्यहाँको सरकारी र अन्य क्षेत्रले सो भ्याक्सिन अन्य मुलुकका जनताहरुको निम्ति उपहारस्वरुप दिनु पर्ने मन्तव्य राखिरहेका छन्। सो भ्याक्सिन अमेरिकाले आफ्नै दुतावासहरु मार्फत वा विश्व स्वास्थ्य संगठन मार्फत विभिन्न मुलुकमा बाँड्ने सम्भावना छ । यसै मेसोमा नेपालले पनि सरकारीस्तरबाट हुन्छ वा अमेरिकामा बस्ने गैह्र आवासिय नेपालीहरुका विभिन्न संगठनहरु मार्पmत हुन्छ, तुरन्त अमेरिकी सरकारसँग छिटै आग्रह गर्न सकेर २० लाख मात्रा मात्र नेपाल भित्रयाउन सके अर्को करिव ९ लाख पचास हजार अति जरुरतमन्द नागरिकहरुले निकट भविष्यमा भ्याक्सिन लगाउन पाउने थिए । तर विडम्बना, भ्याक्सिन खरिद गर्नका लागि सरकारी स्तरमा विभिन्न कम्पनीहरुसँग करोडौँको कमिसनको कुरा मिलाउने काम भइरहेका समाचारहरु छापाहरुमा पढ्दा उच्च पद धारण गरेर बसेका सम्बन्धित व्यक्तिहरुले मुफतको भ्याक्सिन भित्राउन के ध्यान देलान् र जस्तो लाग्छ । हाल विभिन्न नीजि अस्पतालहरुले लिने गरेका आम जनताले थेग्नै नसक्ने सेवा शुल्क तथा कोभिडका औषधीहरु वापत लिने गरेका सयौँ गुणा बढी शुल्कमा पनि सरकार मुकदर्शक भएर बसेको देख्दा के अब धन हुनेले मात्र यो महामारीबाट उम्कन पाउने हो त ? भन्ने प्रश्न खडा भएको छ।

 
उता नेपाली सेनाले राजधानी र मुलुकका विभिन्न स्थानहरुमा अस्थायी अस्पतालहरु बनाउने अठोटका साथै २०७२ साल पछि अवकाश प्राप्त गरेका आफ्ना स्वास्थ्यकर्मीहरुलाई यो विपदको बेलामा सहयोग गर्न आउन आह्वान गरेको छ । सरकारले सुरक्षाका सबै अंगहरुलाई सेनाले गरेझैं विपद व्यवस्थापनमा सहयोग गर्न विशेष वजेटका साथ परिचालन गर्नुपर्दछ । हाम्रो जस्तो मुलुकमा सेना तथा अन्य सुरक्षा निकायहरुको आवश्यकता शान्ति सुरक्षामा मात्र नभई विपद व्यवस्थापन र विकास कार्यमा पनि हुने भएकोले यी अनुशाषित संस्थाहरुलाई आवश्यक पुर्वाधार र श्रोत तथा साधन यथेष्ट रूपमा उपलव्ध गराएर यिनको दिर्घकालीन तथा यथोचित विकास गरिनु पर्दछ । भारत तथा पाकिस्तानले पनि हाल आफ्ना सुरक्षा निकायहरुको मद्दत लिइरहेका छन् । 

 

माथि उल्लेखित वास्तविकतालाई मनन गरेर नेपाल सरकारले तत्काल कोरोना विरुद्धको लडाईमा सक्रिय रूपले लाग्नुका साथै भ्याक्सिन उत्पादन गर्ने राष्ट्रहरु जस्तै चीन, रूस, बेलायत र संयुक्त राज्य अमेरिकासँग भ्याक्सिनको पारदर्शी र छिटो खरिदको लागि पहल गर्नुअति नै जरुरी भइसकेको छ भने महामारीको फाइदा उठाएर जथाभावी शुल्क असुल गर्ने स्वास्थ्य संस्थाहरुलाई पनि कडा कारवाही गर्नुपर्दछ । त्यस्तै भारतसँग भ्याक्सिन तथा अन्य सामग्री खरिद वारेको पहललाई पनि कायमै राख्नुपर्दछ ।


महाभुकम्प पछिको पुनर्निर्माणका लागि विभिन्न मुलुकहरुले सहयोग गर्ने भनेर वाचा गरेको करिव ५ खरव रुपैयाँको एक चौथाईभाग पनि प्राप्त नभए तापनि पुनर्निर्माण रोकिँदो रहेनछ र प्रत्येक जिल्लामा भ्युटावर र अन्य अनावश्यक तथा विलासी विकासे संरचना ठड्याउन पनि हाम्रो मुलुकमा प्रसस्त पैसा भएको सन्दर्भमा त्यस्ता विकासलाई केही पछि धकेलेर भएपनि भ्याक्सिन र स्वास्थ्यका अन्य पुर्वाधार र सामग्री खरिद गर्नुको कुनै विकल्प छैन । बरु सरकारले पुनर्निर्माणको लागि रकम उपलव्ध गराउने वाचा गरेका मुलुकहरुलाई सो रकमको केही अंश भ्याक्सिन र स्वास्थ्य सामग्री तथा यो सम्बन्धी पुर्वाधारको निम्ति रकमान्तर गरिदिनु पर्‍यो भनेर अनुरोध गर्दा केही न केही उपलव्धि हासिल अवश्य होला । हामीले के पनि विचार गर्नु पर्छ भने देशवासीको ज्यान र स्वास्थ्यमा खेलवाड गरेर धन कमाउँछु भनेर राक्षसी सोच राख्ने कसैलाई पनि दैवले सहने छैन ।

 

कोरोनाको कहरले विश्वका सम्पुर्ण मानव जातीको सोचमा एक प्रकारको ठूलो परिवर्तन ल्याइदिएको छ । मानिसले लोभ, मोह, छल र कपट गरेर जोरेको सम्पतिले खासै माने राख्दैन रहेछ । सबैभन्दा ठूलो चिज भनेको त एक अर्कामा भाईचारा, समन्वय र सहयोगी भावनाको विकास नै हुँदो रहेछ भनेर बुझ्न थालेका छन् । कुनै एउटा मुलुकले मात्र आज हामीले भोगेका जस्ता भयावह महामारी वा अन्य प्रकोपहरुको समाधान गर्न सक्दैन रहेछ । त्यसैले हाल विकसित मुलुकहरुमा पनि कोरोनाको महामारी रोक्ने भ्याक्सिनको विकास गर्ने मुलुकहरुले सो सञ्जिवनीको मालिक आफुमात्र नभएर सम्पुर्ण मानवजाती नै हुन् भन्ने भावनाका साथ त्यस्ता भ्याक्सिनहरु उत्पादन गर्न सक्ने मुलुकहरुमा तत्काल सोको उत्पादन गर्न लगाएर सम्पुर्ण मानव जातीहरुलाई नै संक्रमणबाट बचाउन लागि पर्नु पर्ने बेला भएको छ । हालै मात्र रूसले आफुले विकास गरेको भ्याक्सिन चीनमा पनि उत्पादन गर्न त्यहाँको सरकारसँग सम्झौता गरेको छ भने अमेरिका र बेलायतलाई पनि विश्व स्वास्थ्य संघ तथा वृहत रुपमा उत्पादनको क्षमता राख्ने दक्षिण अफ्रिका, भारत, पाकिस्तान आदि मुलुकहरुले कोभिडको भ्याक्सिनलाई वौद्धिक सम्पत्तिको रूपमा नहेरेर यसको प्रतिलिपि अधिकार तथा उत्पादन गर्ने अनुमति दिन आग्रह गरिरहेका छन् ।अमेरिकी राष्ट्रपतिले यो आग्रहको केही दिन अघिमात्र स्वागत समेत गरेका छन् ।

 

एउटा महामारी वा प्राकृतिक प्रकोपको बेला आर्थिक वाहेक अन्य धेरै प्रकारका सहयोगहरुको आवश्यकता पर्न जान्छ । त्यस्ता सहयोगहरु एउटा देशले मात्र गरेर सम्भव हुँदैन । त्यसैले पनि विश्वका सबै मुलुकहरुले चाहे संयुक्त राष्ट्र संघको वा जुनै पनिसवल अन्तर्राष्ट्रिय संस्थाको पहल तथा अगुवाईमा होस् विभिन्न खाले भवितव्यहरुको निरुपण गर्नतयार रहने प्रकृयाहरुको विकास गर्ने एक विस्तृत “नेचुरल क्यालामिटी एसओपी थिंकट्याङ्क” नै स्थापना गरेर यो विषयको अनुसन्धान गर्ने र निरुपणका योजनाहरु बनाएर तयारी अवस्थामा रहनु पर्ने देखिन्छ ।

 

आजको विश्वमा करिव १०० वर्ष अघिसम्मको जस्तो एक महादेशबाट अर्को महादेशमा पुग्न कठिन हुने अवस्था छैन । खासगरी हवाई यातायातको विशाल सञ्जाल तथा सबैजसो मुलुकहरुमा सबैजसा मुलुकका मानिसहरु बसोवास गर्ने भएकाले पनि मानिसहरुलाई एकै ठाउँमा सिमित गरेर धेरै समय राख्नै सकिँदैन। यातायातको ठूलो विकास भएकाले पनि आज विश्व निकै सानो ठाउँ भएको छ र यस्ता महामारीको फैलावट पनि पहिलेको दाँजोमा निकै छिटो हुने गरेको छ । त्यसैले यस्ता खतरनाक महामारीहरुबाट बच्न पुरै विश्वलाई नै संक्रमण मुक्त बनाउन नसकेसम्म यसको पुनरावृत्ति फेरी हुँदैन भनेर कसैले ठोकुवाका साथ भन्न सक्दैन ।

 

यस्तो अवस्थामा कहिले काहीँ कठोर निर्णय लिन पनि विभिन्न मुलुकहरु वाध्य हुन जान्छन्। चारैतिरबाट समुद्रले घेरिएका अष्ट्रेलिया र न्युजिल्याण्डले केही समय अघिदेखि आफ्ना मुलुकलाई बाँकी विश्वबाट भौतिक रुपमा अत्यन्तै अलग राखेका छन्। यसको लागि मालवाहक वाहेक सम्पुर्ण अन्तर्राष्ट्रिय उडान र जल यातायातलाई अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ। त्यस्तै महामारी बढेको बेलामा महिनौँसम्म लकडाउन गरेर संक्रमणको चेन तोड्नु पर्ने भए पनि त्यसो गर्न सरकार, प्रशासन, राजनैतिक पार्टी, विभिन्न संघ–संस्था र जनताले समेत हातेमालो गर्नु पर्दछ। यस्तो विपदको बेला अन्य आयोजनाहरुको काम रोकेर भएपनि जनताका दैनिक आवश्यक सामग्रीहरुका साथै खासगरी विपन्न वर्ग र दैनिक आम्दानीमा निर्भर गर्नुपर्ने नागरिकहरुलाई आर्थिक तथा वस्तुगत सहयोग सबै तहबाट पुर्‍याइनु पर्दछ । विपदको बेलामा काम लाग्ने सरकार तथा प्रशासनयन्त्र मात्र जनताको सच्चा सेवक र साथि हुन सक्दछन् । कोरोनाको संक्रमण शुरु भएको राष्ट्र चीनलाई नै हेरौँ ।  अनुशासन र दृढ संकल्प कै कारण आज चीन कोरोनामुक्त हुनुका साथै अन्य राष्ट्रहरुलाई समेत मद्दत गर्ने हैसियतमा पुगिसकेको छ । त्यस्तै उदाहरण हामीले अस्ट्रेलिया र न्युजिल्याण्डको पनि लिन सक्दछौँ । अफ्रिकाकै कुरा गर्दा केही समय अघिसम्म सबै क्षेत्रमा निकै भाँडभैलो र अनुशासनहिनता भइरहेको यो महादेशमा आज विस्तारै विकासको मूल फुट्न थालेको छ । 


अन्तमा हिजोसम्म जे जस्ता कमी कमजोरी भएका भएता पनि तिनलाई अब नदोहोर्‍याई नेपाल र भारत लगायत दक्षिण एशियाका सबै राष्ट्रहरुले कोरोनालाई सशक्त रूपमा पराजित गर्ने छन् र यो कार्यमा सम्पुर्ण जनतासमेत अनुशासित भएर लागि पर्ने छन् भन्ने कुरामा सकारात्मक सोचका साथ आशावादी रहौँ । 

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् )
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार