• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
डबली

सम्झनामा प्रेमध्वज प्रधान

कपिल लोहनी, काठमाडौं । नेपाली गीत संगीतका मुर्धन्य व्यक्तित्व प्रेमध्वज प्रधानको आज दिउँसो ८२ वर्षको उमेरमा दुखद देहावसान भएको छ। सिन्धुपाल्चोकको चौतारामा सन् १९३८ मा जन्मेका प्रधान सुप्रसिद्ध गायकको रूपमा परिचित थिए भने उनी संगीत तथा वाद्यवादनमा पनि उत्तिकै सशक्त थिए। उनका करिव ७०० वटा नेपाली र नेपाल भाषामा रेकर्ड भएका आधुनिक, लोक, भजन तथा राष्ट्रिय गीतहरु छन् । ती मध्ये अधिकांश गीतहरु धेरै नै चर्चित छन् । सन् १९६५ मा ख्याती प्राप्त भारतीय गायिका उषा मंगेशकरसँग फिल्म माइतीघरको गीत ‘नमान लाज यसरी’ गाएपछि उनी झन लोकप्रिय भएका थिए ।

 

प्रेमध्वजकी माता प्राणदेवी प्रधान पनि गीत संगीतमा निकै अनुभव भएकी एक कुशल गायिका थिइन र उनैले आफ्ना सुपुत्र गणेशध्वजलाई गीत संगीत सिकाएकी हुन्। उनै गणेशध्वज प्रेमध्वज प्रधानको नाममा नेपाली संगीतको आकाशमा एक अद्वितियन क्षेत्रको रूपमा छाउन सफल भए। केही समय उनले संगीतका विद्धान वाद्य शिरोमणी गणेशलाल श्रेष्ठसँग पनि पुर्वीय संगीत सिकेका थिए ।

 

सानैदेखि निकै भद्र, सोझा, सरल तथा मृदुभाषी र ज्यादै कम बोल्न रुचाउने प्रेमध्वजका यस्ता बानीहरु उनको जीवनभर नै रहिरह्यो। कसैलाई अभद्र व्यवहार गर्न कहिल्यै नजानेका उनी सुकिला र चट्ट मिलेका पहिरन लगाउन निकै रुचाउँथे । उनी धेरैजसो कमिज, पेन्ट र कोटमा देखिन्थे भने शहरका नजिकका ठाउँहरुमा जाँदा एक साधारण व्यक्ति जस्तो गरेर पैदल यात्रा गर्न रुचाउँथे । उनी जीवनभर नै शाकाहारी रहे भने उनमा कुनै पनि अम्मलको आदत थिएन ।

 

सन् १९५२ मा १६ वर्षका कलिला युवा छँदा नै उनले रेडियो नेपालको स्वर परीक्षा उत्तिर्ण गरेर गीत रेकर्ड गर्न शुरु गरे। त्यसपछि उनी काठमाडौँमा हुने कुनैपनि स्टेज कार्यक्रमहरुमा नभई नहुने कलाकारको रूपमा देखा पर्नथाले । उनका नेवारी लोक गीतहरु जस्तै “वछु गल्ली, ठ्वछु गल्ली” र “राजामती कुमती” ले धेरै नै चर्चा कमाएको थियो। अहिले पनि सबै वर्गका मानिसहरुको मुखमा यी गीतहरु गुनगुनीएको सुनिन्छ । सन् १९५७ तीर रेकर्ड गरिएको उनको राष्ट्रिय गीत “यो नेपाली शिर उचाली” आजसम्म पनि त्यतिकै लोकप्रिय छ र नेपाली सेना तथा प्रहरीका बैण्डहरुले परेडको समय यसको धुन खुबै बजाउने गरेको सुनिन्छ ।

 

सन् १९६१ मा गायक पे्रमध्वज प्रधानको मुख भित्रको शल्यक्रिया गरेर उपचार गर्नु परेकोले उनले केही समय गायन कार्यबाट विश्राम लिए । तर एउटा संगीतकर्मी त्यसै चुप लागेर त के नै बस्न सक्दथ्यो र । उनले तत्कालै गीतार बजाउन सिक्न थाले । त्यतिबेला अहिले जस्तो सुलभ तवरले गीतार सिक्न पनि पाइँदैनथ्यो। सन् १९६३ मा उनी रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा “गोरेटो त्यो गाउँको” भन्ने गीत गाएर प्रथम भए भने उनले त्यही बेलादेखि गीतार बजाएर स्टेजमा गीत गाउन थालेका थिए । उनी रंगमञ्चमा गीतार बजाएर गीत गाउने नेपालका प्रथम गायक पनि हुन । त्यसपछि विस्तारै उनको गीतका रेकर्डहरु पनि बजारमा निस्कन थाले । क्यासेट, सिडी वा पेनड्राइभ भन्दा अघिको जमानामा स्पुल टेप र रेकर्डको चलन थियो ।

 

लोकलयका नेपाली र नेपाल भाषाका गीतहरुलाई निकै राम्ररी संयोजन गरेर आधुनिक गीतको पारामा गीतार, पियानो, स्याक्सोफोन आदी पश्चिमा बाजाहरु सहित गाएकाले पनि प्रेमध्वजलाई सबै उमेरका संगीत प्रेमीहरुले रुचाएका थिए । कुशल गायन कै सिलसिलामा उनले रचनाकारहरु किरण खरेल, रत्नशमशेर थापा, मविवि शाह, रविन्द्र शाह आदिका गीतहरु गाए भने तारा देवी, उषा मंगेशकर, आशा भोषले आदीसँग पनि निकै लोकप्रिय युगल गीतहरु गाए ।

 

सन् १९६० कै मध्यतिर उनले काठमाडौंको नयाँ सडकस्थित अमेरिकी सूचना केन्द्र र लाइब्रेरीमा काम गर्न शुरु गरेर निकै पछि सन् १९९४ मा जागिरे जीवनबाट अवकास लिए। त्यतिबेला अमेरिकन, ब्रिटिश र भारतीय पुस्तकालयहरु तथा सोभियत सांस्कृतिक केन्द्र काठमाडौंका शिक्षित युवाहरुको साँझमा जम्मा हुने, पुस्तक पढ्ने र बेला बेलामा सिनेमा तथा डकुमेन्ट्री हेर्ने स्थान हुन्थे र उनको त्यहीँ अमेरिकी लाइबेरीमा कैयन स्वदेशी तथा विदेशी संगीत प्रेमीहरुसँग चिनाजानी भएको थियो । 

 

प्रेमध्वज प्रधानले नेपाली सिनेमाहरु माइतीघर, बदलिँदो आकाश, जीवनरेखा, मायालु, शान्तिदिप, पच्चिस वसन्त, अन्याय, राजमती, जीवन संघर्ष, र फेरी भेटौँलाका गीतहरुमा आफ्नो स्वर दिएका छन् । त्यस्तै उनका कालजयी गीतहरु “घुम्तिमा नआउ है”, “तोरी फुल्यो लेक नै झुल्यो”, “नमान लाज यसरी”, “पर लैजाउ फुलहरु”, “गोरेटो त्यो गाउँको”, “तारा मात्र होइन तिमीलाई जुनै दाइजो दिइदिउँला”, “हाँस्ने रहरहरु आँशुमा मिले”, “यो नानीको शिरैमा इन्द्र कमल पूmल फुल्यो” “ऐना नभए आफ्नो अनुहार”,आदि नेपाली संगीतको संसारमा सदा गुञ्जी नै रहनेछन् । 

 

नेपालको संगीतको क्षेत्रका प्रथम पिँढीका गायक, रचनाकार तथा संगीतकारहरु मध्य उनी नै सायद अन्तिम धरोहर बाँकी थिए र आजबाट उनले पनि यो धरतीलाई छोडेर अनन्त तिरको यात्रामा लागेपछि नेपाली संगीतको एउटा स्वर्ण अध्याय नै सकिएको भान भएको छ। तर उनी तथा उनका पिँढीले नेपाली गीत संगीतमा पुर्‍याएको महान योगदान र त्यतिबेलाका ती कालजयी गीत तथा संगीतलाई कुनै पनि कला प्रेमीले कहिल्यै बिर्सन सक्ने छैनन्। ती सब कृतीहरु र यी महान् श्रष्टाहरु सँधै हामी बीच अमर रहनेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार