• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
विचार

क्रान्ति आवश्यक मात्र होइन अनिवार्य छ !

नेपाल, महाकवि देवकोटाको “सुन्दर शान्त विशाल”। विशालको भावना देवकोटामा कसरी आयो ? “सानो, मिठो, शान्त, सुगन्धी अनुपम-वस ! मेरो निम्ति त्यही हो नेपाल” भन्छन् देवकोटा। त्यो नै बिशाल छ, ‘आँखाको नानी’ जस्तो या ‘मुटुको केन्द्रको भल्का’ जस्तो, जहाँ “परमानन्द घनीभूत छ”। तर यो पौराणिक कथा जस्तो भइसकेको छ आज । नेपालमा अहिले परमानन्द होइन परमव्यथा घनीँभूत छ। नेपालीको अहिलेको व्यथा भनेको नेतृत्व तहमा विराजमान रहेका महानुभावहरुमा सोचको खडेरी पर्नाले हो जसले गर्दा भ्रष्टाचार नै उनीहरुको एजेन्डा बन्न पुगेको छ। यसरी भ्रष्टाचार नै मूलप्रवाह राजनीति बनेको कारण मुलुक गन्तव्यहीन बनेको छ। तत्कालीन समय (जुन १५, २०१४) मा ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशित गरेको विश्वमा हाल कहा कति भ्रष्टाचार छ भनेर हेर्ने इन्डेक्स अर्थात सुचीपत्र अनुसार नेपालले १०० मा ३१ अङ्क पाएको  थियो। यो भनेको खराव हो। अनि त भ्रष्टाचारले जनजीविका र मुलुकको पहिचानलाई नै भक्षण गर्दै गइरहेको छ। त्यसैले होला गत हप्ता उद्योग बाणिज्य महासंघको कार्यक्रमा सभामुखले जसरी जे भने यो यही दुखलाई नै अभिव्यक्त गरेका होलान्। उनले भने “मुलुक अहिले भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ”। कसरी ? त्यो भन्दा अझ महत्वपूर्ण प्रश्न हो, यस्तो अवस्थामा के बाँकी रहन्छ त ?

 

समुद्रमा सम्पूर्ण रुपबाट हिउले बनेको पहाडलाई ‘आइसबर्ग’ भनिन्छ तर यसको केवल दसभागको एक भागसम्म मात्र हिउँ पहाडको रुपमा देखिन्छ। बाकी त पानीभित्र चुर्लुम्व डुबेको हुन्छ। त्यसैले होला त्यो कुनै चिजको वर्णन गर्दा त्यो टुप्पो मात्र हो र भित्र त कति छ कति भन्नकोलागि अग्रेजी भाषामा ‘टिप अफ त आइसबर्ग’ भन्ने चलन बन्यो। चुर्लुम्मको अर्थ हुन्छ पानीमा पूरै डुबेको। त्यसैले चुर्लुम्म डुबेको अर्थमा त डुब्नबाट जोगिएको चीज केही पनि बाकी नरहेको भन्ने हुन्छ। अर्थात् भ्रष्टाचारमा चुर्लुम्व डुबेको भन्नु त भ्रष्टाचारमा सबै डुबेको छ, सबै डुबेका छन्। अरु देखिने रुप कतै केही छैन। खाइसक्यो यसले या भित्रभित्रै सब खाँदै गइरहेको या मुलुकको सम्पूर्ण अर्थ-राजनीतिक कृयाकलापहरू भ्रष्टचारभित्र गमन भइसकेको छ भन्ने हुन्छ। अर्को अर्थमा भन्नु पर्दा शासन र प्रशासनका गतिबिधिहरु सबै भ्रष्टाचारबाट निर्देशित हुन्छन् र भएका छन्।

 

यस्तो अवस्था कसरी आउँछ ? यसको उत्तर हो सामाजिक मान्यता जसरी बन्छ। वास्तविक अर्थमा यसरी बनेको मान्यताले नै यस्तो अवस्थाको निर्धारण गरेको हुन्छ। यो मान्यता धर्म र राजनीतिले बनाउँछ। त्यसले नै हो धर्मका मठाधीशले शासकलाई र शासकले यी मठाधीशलाई टेवा दिदै आएका हुन्। चाहे युरोपमा चर्चले राजतन्त्रलाई होस् या हाम्रो मुलुकमा धर्माधिकारले राजतन्त्र बा उनको नाममा शासनगर्ने राणातन्त्रलाई होस्। यसरी शासकहरुको चाहना र आमोद-प्रमोदको लागि शोषणपूर्ण अर्थ-राजनीतिलाई सामन्ति व्यवस्था अन्तर्गत सामाजिक मनलाई कन्डिसन गर्दै लगिएको हुन्छ। छोरा पायौ रे होइन भनेर शासकबाट सोध्ने हुँदा झुकेर जमिन ध्वज हुँदै ‘सरकारको निगाह’ भन्ने सम्मको अभिव्यक्ति पनि स्वफुर्त निस्किन्थ्यो कुनैबेला।

 

यस्तो अवस्थामा पनि त्यस बाहेकका अरु कुरामा असल मान्छे बन्नु पर्दछ भन्ने समग्रता बेस्करी बाचेको थियो। त्यसैले पहिलेको नेपालमा यो कुरोलाई ध्यान दिने हुदा छोराछोरीको बिवाह गर्दा समेत यो कुराको हेक्का राख्थे र भन्थे फलानाको छोरी त बिवाह गर्नु हँदैन हाम्रो नातीलाई किनकी उसको बाजेले अमिनीको लप्टान हुँदा घुस खाएका थिए। त्यस्तो कुअन्न परेको परिवारको कन्याबाट हाम्रो वंस राम्रो हुन सक्दैन। यो एक किसिमको समाजभित्र बनेको सन्तुलन व्यवस्था थियो। तर अहिले त्यसको ठिक विपरित छ। अहिले बाबुले भन्न थाले, ‘त्यो मेरो कान्छो छोरो त नालायक भएर निस्क्यो। एयरपोर्ट भन्सार एक वर्ष सुब्बा हुँदा एउटा घर सम्म पनि जोड्न सकेन’।

 

परम्परागत मान्यता विस्थापित हुँदै जाने क्रम आधुनिकीकरणको पदार्पणसँगै हुन्छ। अब बन्ने सामाजिक मान्यता कस्तो हुने हो त्यो नयाँ परिवर्तनले अंगिकार गरेको राजनीतिक मान्यताले निर्धारण गर्दछ। यसबाट नै निर्देशित हुने हो शासन व्यवस्था कुशासन या सुशासनतर्फ जाने। धर्म र शासकबीचको साठगाठबाट चलेको सामन्तवादी शोषणबाट हाकिएको अर्थ-राजनीतिक व्यवस्था समयको अन्तरालमा ढिलोचाडो अन्ततस् विस्थापित हुने प्राकृतिक नियम नै हो। त्यसैले विस्थापित हुने कुरामा कुनै सन्देह छैन। तर कहिले या समयको कुन विन्दुमा हुन्छ भन्ने कुरा चाहिँ भित्री बाहिरी धेरै कुरामा निर्भर गर्दछ। यस क्रममा दोस्रो विश्व युद्धको परिणामस्वरुप उठेको राष्ट्रियताको ज्वारभाटाले गर्दा भारत लगायत कतिपय एसियाली तथा अफ्रिकी उपनिवेशवादी मुलुकहरु स्वतन्त्र राष्ट्र भए। 

 

यस क्रममा नेपालमा पनि चलिरहेको थियो राणा शासन विरुद्धको सशस्त्र आन्दोलन। तर यसलाई रोकाइयो। कारण थियो तिब्बतको संकट। त्यो बढेर यस क्षेत्रमा सल्किए आफ्नै मुलुक पनि असन्तुलित होला भन्ने डरले भारतीय प्रधानमन्त्री ज्वहारलाल नेहरुले राजा त्रिभूवन, नेपाली कांग्रेस र राणा शासकबीच त्रिपक्षीय संझौता गराइदिएर टुङ्गाइदिए। यस अर्थमा आन्दोलन न्यायोचित मञ्जिलमा पुग्नु अगाडि नै तुहियो। आन्दोलनको नेतृत्व गरिरहेका नेपाली काग्रेसका नेता बीपी कोइरालाले पछि भनेका छन्, दिल्लीको हैदरावाद हाउसमा वसेका हाम्रा आफ्नो राजा त्रिभुवनसँग भेट्न पनि नदिएर अनि छलफलमा भाग लिनसम्म पनि नदिएर यो सम्झौता हामीमा थोपरिएको थियो। नेपाल कम्युनिष्ट पार्टीले त त्यतिवेला नै “दिल्ली संझौता धोका हो” भनेर विरोध गर्‍यो। अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरलाई नै प्रजातान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री अन्तैबाट बनाइदिए। यो भन्दा ठूलो व्यङ्ग प्रजातन्त्र प्रति के हुन सक्ला ?

 

जे होस् परिवर्तन एउटा ठूलो फड्को थियो यस अर्थमा कि नेपाली अव रैतीबाट जनता बनेका थिए। आजको तुलनामा हेर्दा त्यतीबेलाको नेताहरु मुलुकलाई धेरै माया गर्ने थिए। चाहे टंकप्रसाद आचार्य हुन् या बिपी कोइराला या डा.केआई सिंह। राष्टप्रेम थियो उनीहरुमा र राजनीतिलाई तपस्या ठान्थे न कि अहिलेकाहरुले जस्तो पैसा कमाउने व्यवसाय। तर पनि प्रतिष्ठापित भएन प्रजातान्त्रिक मान्यता। यसको कारण थियो सामन्तीहरुले नै रुप फेरेर परिवर्तनलाई आफ्नो स्वाद र सन्तुष्टिको लागि प्रयोग र उपभोग गर्दै गए। राजनीतिलाई असन्तुलित पारियो अनि प्राकृतिक प्रक्रियामा जान ब्रेक लगाइयो। यस क्रममा भ्रष्टाचार हुर्किदै गयो। नेपालीहरुको सगाँलिएको विश्वास जितेर नेपालको पहिलो प्रधानमन्त्री बनेका बिपी कोइराला सानो मुलुकले पाएको ठूलो व्यक्तित्व थियो जसलाई नेहरुले पचाउन सकेनन्। जुन ८, १९६० मा भएको मुस्ताङ घटना पश्चात त्यतिवेलासम्म जानकारी नभएको चिठ्ठी, जुन मोहन शमशेरलाई प्रधानमन्त्रीमा कायम राख्ने आश्वासन दिएर गराइएको सन् १९५० को सन्धिको अङ्ग मानिएको थियो, सो को आधारमा नेहरुले गरेको घोषणा र बिपीले त्यसलाई लक्षित गरेर सुन्दर कुटनीतिक भाषामा प्रकाशित गरेको विज्ञप्तिले मात्र पनि यो कुरालाई प्रष्ट गर्दछ। यसको प्रतिफल बनेर आयो २०१७ सालको राजा महेन्द्रको कदम। हो, प्रजातन्त्र खोसे उनले। त्यसको बाबजूत पनि उनी भिजन भएका मान्छे थिए।

 

सीधासाधा, असल र मुलुकलाई माया गर्ने मान्छे थिए राजा वीरेन्द्र। त्यसैले २०४६ सालको जन-आन्दोलको अन्तिम वेलामा विदेशीको सर्त मानेर मुलुकको हितसँग संझौता गरेर सक्रिय राजा हुनभन्दा संवैधानिक राजा भएर बस्न तयार भए उनी। वीपीको सघर्ष यसैको लागि थियो। उनले म सँग पनि २०३७ सालमा भनेका थिए - प्रजातान्त्रिक फ्रेमवर्क भित्र रहने पूजनीय संस्था हो राजतन्त्र । अर्थात, राज्य गर्ने भनेको चाहिँ जन प्रतिनिधिले मात्र हो। भनि हालौ, यस कुरामा आन्तरिक सन्तुलन र विश्वास कायम गर्न नसक्दा विदेशी घुसपैठको कारण नेपालको राजनीति सधै असन्तुलित हुँदैगएर नेपाली जनताले पनि दुख पाए र राजतन्त्र नै विस्थापित हुनपुग्यो। तसर्थ राजा वीरेन्द्रको यतिवेलाको सोच र राज्य गर्ने भनेको जनताको प्रतिनिधिले मात्र हो भन्ने कुराको सुन्दर संगमको रुपमा पहिलो जन आन्दोलनपछिको त्यो क्षणलाई लिन सकिन्छ। यो ठूलो अवसर थियो प्रजातन्त्रका योद्धाहरुको लागि सुशासन दिने मान्यतालाई प्रतिस्थापित गर्ने। तर उनीहरुले उल्टो गरे। मुलुकलाई कुसाशनमा ब्रेक फुस्किएको साइकल जसरी दौडाए।

 

कुशासन भनेको मूलत : विधिको शासन हुन नदिने, अख्तियारको दुरपयोग गर्ने, भ्रष्टाचार गर्ने र मुलुकको हित विपरितको काम गर्ने हो। श्राद्धको खीर खाए जस्तो गरेर प्रजातन्त्रको खीर खान लुटतन्त्रलाई मूल प्रवाह राजनीति नै बनाए यी प्रजातन्त्रका योद्धाहरुले। चुनिएका व्यापारीलाई हात लिए, जसलाई बाइ डेफिनेसन, ‘चोर’ भन्ने पनि गरिएको छ। त्यतिमात्र होइन आ-आफ्नो पार्टनर नै बनाए। यसरी राजनीतिज्ञ, व्यापारी र अपराधकर्मीबीचको त्रिकोणात्मक गठबन्धन बन्यो। अलिक पछि ब्युरोक्रेसी पनि थपेर यसलाई चौमुखे बनाए। यसरी हट्टकट्टा भएको भ्रष्टाचारको खुराक नेताले भाषणमा रुपान्तर गर्ने जनजीविकाको कुरो बन्न पुग्यो। जनजीविका नै निलिदियो भ्रष्टाचारले। राष्ट्रिय संवेदनशीलतालाई सखाप पार्‍यो। नयाँ  विकाशको मान्यता बन्यो भ्रष्टाचार जसले राष्टको ठूलो विनास गर्दै आएको छ ।


दोश्रो जन-आन्दोलनमा आइपुग्दा आन्तरिक तागत घट्दै गइसकेको थियो भने परनिर्भरता डरलाग्दो रुपसँग बढिसकेको थियो। राजा ज्ञानेन्दको घटेको राज्य गर्ने ऐतिहासिक वैधानिकता, स्लिपवाकर प्रवृत्ति र सरकार भित्रकै विध्वम्सकारी करामतले गर्दा उनी कमजोर बनेका थिए जसको हेक्का उनमा देखिएन। यसै मेसोमा विदेशीहरुको घुसपैठ राष्ट्रीय शरीरको हरेक अंगमा प्रवल भएको थियो। यसरी कमजोर मुलुकलाई झन कमजोर पारेर आफुले चाहे अनुसार प्रयोग र उपयोग गर्ने विदेशीहरुको अभिप्रायले दोश्रो जन आन्दोलनको तर्जुमा र उपयोग भयो। त्यसकारण यस आन्दोलनबाट सत्तामा ल्याइपुर्याइएकाहरुको राजनीतिक आतीसबाजी, जबरजस्ती राजतन्त्र फाल्ने र मुलुक लुट्ने बाहेक अरु कुनै एजेन्डा नै रहेन। यसरी यत्र, तत्र सर्वत्र भ्रष्टाचारको राज भयो। यसरी नै  हो सभामुखले भनेजस्तै भ्रष्टाचारमा मुलुक चुर्लुम्व डुबेको छ। यसको एक मात्र उपाय हो भ्रष्टाचारलाई सुकाउदै लग्नसक्नु पर्‍यो। त्यो अहिलेको यथास्थिति राजनीतिमा असम्भव छ। संभव त्यतिवेला मात्र हुनसक्छ जब हामी नेपालीहरु मिलेर आफ्नै तागतले निर्णायक क्रान्ति गरेर यी लुड्याउन पल्केकालाई बढारेर फाल्न सक्छौ। त्यतिवेला भन्न सक्छौ तिनलाई पनि जसले हामीलाई सधै असन्तुलित पारेको छ, ‘हेर हामीलाई असन्तुलित पारेर अन्त : तिमी सन्तुलित रहन सक्ने छैनौ’। तब मात्र नयाँ थालनी हुनसक्छ। त्यसैले म फेरि भन्छु, क्रान्ति आवश्यक मात्र होइन अनिवार्य छ। 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार