• आइतबार १-२६-२०७८/Sunday 05-09-2021
विचार

नयाँ वर्षमा नयाँ संकल्प

नयाँ वर्षको आगमनलाई विश्वभरी नै एक प्रकारले आउँदा दिनहरु अझ बढी फलदायी र सुखमय रहुन् भन्ने कामनाका साथ मनाइन्छ । विगतका दिनहरुमा भएका उपलव्धि र हानी–नोक्सानी तथा राम्रा–नराम्रा घटनाक्रमहरुको विवेचना गरेर आउँदा दिनहरुमा ती सबै अनुभवहरुलाई पाठको रुपमा अंगाल्दै विभिन्न खाले रचनात्मक कार्यहरु थालेर नयाँ जीवनको आरम्भ गर्ने संकल्प धेरैले गर्छन् ।

 

नेपालमा हामी प्राय ईस्वी सम्वत् र विक्रम सम्वत् दुबैलाई मानेर नयाँ वर्ष मनाउँछौँ भने विभिन्न जात र धर्मको आधारमा फरक समयमा आउने नयाँ वर्षहरु समेत जमेरै मनाउँछौँ । तर यसपाली सन् २०१९ को अन्त देखि चीनबाट शुरु भएर 'कोभिड–१९' नामाकरण गरिएको कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारी कै रुप लिँदै गएकोले चिनीया नयाँ वर्षका साथै अंग्रेजी र नेपाली नयाँ वर्षहरु समेत प्रभावित हुन पुगे । आज विक्रम सम्वत् अनुसारको नयाँ वर्ष मनाउने बेलामा त हामी सबै घर घरमा बन्दीको अवस्थामा जीउन वाध्य भएका छौँ । तर सकारात्मक सोच राखेर हेर्ने हो भने धेरै समयको अन्तराल पछि प्रकृतिले हामी मानव जातीहरुलाई पुरै परिवारसँग घरमा बसेर दुख सुखका कुराहरु आदान प्रदान गर्दै नयाँ वर्ष मनाउने र भविश्यमा राम्रा कुराहरु गर्ने सामुहिक संकल्प गर्ने अवसर पनि प्रदान गरेको छ ।

 

गत डिसेम्बर २०१९ मा चीनको वुहानमा सर्वप्रथम देखापरेको कोभिड–१९ भाइरसले अपत्यारिलो तवरले विश्वलाई नै ठुलो समस्यामा पारेको छ। चीनको एउटा शहरमा देखापरेको यो भाइरसको प्रभावले विश्वव्यापी महामारी कै रुप लेला भन्ने कुरा २०२० को प्रारम्भसम्म पनि धेरैले सोचेका थिएनन् । तर यो महामारी यती खतरनाक तरिकाले फैलिन थाल्यो की आज यसको भयङ्कर असर चीनबाट निकै टाढाका युरोपियन, अमेरिकी र एशियाली तथा अन्य कुनैपनि राष्ट्र वा महादेशसम्म पुगिसकेको छ ।

 

दोश्रो विश्व युद्ध पछि पुरै विश्वभर विकासको लहर चल्न थाल्यो । औद्योगिक उत्पादन र विश्व व्यापारले पनि ठुलो फड्को मार्न थाल्यो। सन् ७० को दशक पछि खासगरी खाडीका मुलुकहरुमा र २००० तीर देखि दक्षिणपुर्वी एशियामा आर्थिक क्रियाकलाप बढेर त्यहाँ कामको लागि विश्वभरबाट लाखौँको संख्यामा मानिसहरु जान थाले । त्यस्तै अध्ययन र व्यापारको सिलसिलामा विभिन्न मुलुकहरुमा ओहोर दोहोर गर्ने व्यक्तिहरुको संख्या पनि ह्वात्तै बढ्न थाल्यो। यातायात र सञ्चारको तिव्र विकासले गर्दा आज विश्व निकै सानो भईसकेको छ भने विश्वका सबै ठाउँका मानिसहरु जुनसुकै देशका ठुला साना शहरहरुमा र विकास निर्माणका आयोजना स्थलहरुमा पुगेका छन्।

 

आजभन्दा ५०–६० वर्ष अघिसम्मका महामारीहरु कुनै शहर वा घना वस्तीहरु वा बढीमा एउटा महादेशमा मात्र सिमित हुन्थे भने आज मानिसहरुको गतिशिलता निकै बढेकोले विश्वको एक ठाउँमा शुरु भएको महामारी निकै छिटो विश्वभर फैलिन सक्छ । त्यसैले पनि कुनै एक ठाउँमा त्यस्तो महामारी भएको खवर पाउने वित्तिकै त्यो ठाउँलाई बाँकी संसारबाट केही समयको लागी अलग्गै पारेर यानी लकडाउन गरेर त्यहाँका बासिन्दाहरुको स्वास्थ्य परिक्षण गरिहाल्नु पर्दछ र संक्रमितहरुको पहिचान गरेर उनीहरुलाई छुट्टै स्थानमा राखेर उचित उपचार गर्नुपर्छ । आजकल जनसमुदाय पनि निकै शिक्षित र सचेत भएकाले यस्ता कुरामा उनिहरुको सहयोग र सहभागिता निकै धेरै हुने गरेको छ ।

 

कोरोना भाइरसले बालक र बृद्ध व्यक्तिहरुलाई छिटो आक्रमण गर्छ भनिए पनि भारतमा संक्रमण भएका विरामीहरु मध्ये २०–४० वर्षको उमेर समुहका ४० प्रतिशत र ४१–६० वर्षका ३८ प्रतिशत भेटिएका छन् भने युरोप र अमेरिकामा सो भन्दा बढी उमेरका व्यक्तिहरुलाई धेरै संक्रमण भएको देखिएको छ । लकडाउनको समयमा बाहिर बिना काम बरालिएर हिँड्ने र विदेशमा कामको सिलसिलामा जाने व्यक्तिहरुको उमेर पनि अक्सर २० देखि ६० वर्षसम्म कै हुन्छ खासगरी विकासशिल राष्ट्रहरुमा । हाम्रो समाजमा संयुक्त परिवार र वृद्घ आमा बाबुलाई परिवारका वरिष्ठ सदस्यको रुपमा पुजिने भएकोले तथा बच्चा र बुढाबुढीहरु लकडाउनको समयमा घरैमा बसेकाले पनि संक्रमण हुनबाट निकै हदसम्म बचेका हुनसक्छन् । त्यस्तै महिलाहरु पुरुषको दाँजोमा स्वास्थ्य र सरसफाईको मामलामा ज्यादा सचेत हुने भएको तथा उनिहरुको शरीरमा पुरुषको एक्स–वाई क्रोमोजोम भन्दा फरक एक्स–एक्स क्रोमोजोम हुने भएकोले उनीहरुको रोग प्रतिरोधात्मक शक्ति पुरुषको दाँजामो ज्यादा हुने भएकोले यस्ता संक्रमणहरुले उनीहरुलाई हतपत नछुने कुरा पनि सुन्नमा आएको छ । युरोप र अमेरिकामा भने निकै ढिलो भईसक्दासम्म पनि लकडाउन नगरेर जनतालाई खुला नै छोडेकोले पनि संक्रमण यसरी बढेको हुनसक्छ । अस्ट्रेलिया र न्युजिल्याण्डले समयमा नै लकडाउन गर्ने कार्यदेखि स्वास्थ्य परिक्षणसम्म शुरु गरेकोले त्यहाँ संक्रमितहरुको संख्या युरोप र अमेरिकामा जस्तो भयावह हुन पाएको छैन । यस्तो अवस्थामा सबै देशका सरकारहरुलाई कोरोना संक्रमितहरुको पहिचान र उपचारका साथै दैनिक अर्थ उपार्जन गर्ने श्रमिक वर्गहरु तथा निमुखा जनतालाई कसरी खाद्य संकटबाट यतिबेला मुक्त गर्ने भन्ने समस्याले पनि निकै पिरोलेको छ ।

 

अनुशासित भएर घरैमा बसिरहने काम पनि त्यति सजिलो रहेनछ । स्पेन, भारत र अन्य कैयन् मुलुकहरुमा सुरक्षा बलले लकडाउनको अवज्ञा गरेर सडकमा घुम्न निस्कनेहरुलाई बल प्रयोग गनुपरेका दृश्यहरु, नेपालमा नै प्रहरीले सडकमा सम्झाई बुझाई गर्नु परेका दृश्यहरु र वेलायत र फ्रान्स जस्ता मुलुकहरुमा समेत पार्कहरुमा प्रहरीको आग्रहलाई वास्ता नगरी निस्फिक्री विना मास्क नै हिँडिरहेका दृश्यहरुले जे गर्न नहुने हो त्यही गर्ने चाहना मानिसमा हुँदोरहेछ भन्ने कुरालाई पनि चरितार्थ गर्दछ । महामारीले कुनै धर्म, जाती वा महत्वपुर्ण व्यक्ति भनेर कसैलाई छाड्दै छाड्दैन । त्यस्तो हुँदो हो त स्पेनकी राजकुमारीको निधन हुँदैनथ्यो होला वा वेलायत, जर्मनी र अमेरिका जस्ता शक्ति राष्ट्रका सरकार प्रमुख र महत्वपुर्ण व्यक्तिहरुलाई पनि संक्रमण हुँदैनथ्यो होला । आजको सामाजिक सञ्जाल र सञ्चारको यति बिघ्न विकास भएको वखतमा घरमा बसेरै ज्ञान र मनोरञ्जन प्राप्त गर्ने कति तरिकाहरु छन् भने अरु बेलामा गर्न नभ्याइएका घरायसी कामहरु यही बेला सक्काएर ढुक्क भएर किन नबस्ने ।  

 

खासगरी विकासशिल राष्ट्रहरुका ठुला शहरहरुमा बस्नलाई ठाउँ नपुगेर निम्न आयका मानिसहरु निकै धेरै जनघनत्व भएका फोहर वस्तीमा बस्न वाध्य हुन्छन् । यस्ता वस्तीमा पिउने पानी, सरसफाई, शौचालय, आदि सबै आधारभुत वस्तुहरुको निकै अभाव हुन्छ। अनेक प्रकारका रोगव्याधीहरु पनि यस्ता वस्तीहरुमा छिर्ने वित्तिकै महामारीको रुपमा फैलिने सम्भावना निकै धेरै हुन्छ ।

 

विश्वमा विभिन्न समयमा भएका ठुला ठुला महामारीहरुले एक चोटीमा नै कराडौँको ज्यान लिएका छन् । रोगवर्धक भाइरसहरुमा आफ्नो संख्या वृद्घि गर्ने क्षमता यति धेरै हुन्छ कि यसले एकजनामा संक्रमण गरेपछि त्यसभित्र लाखौँको संख्यामा आफु जस्तै खतरनाक भाइरस बनाउन सक्छ भने सो व्यक्तिबाट सजिलै यो अरुमा सर्न सक्छ र यसले महामारीको रुप लिन जान्छ । 

 

सन् १९१८ को कडा रुघाले विश्वभर ५ करोड देखि १० करोडको संख्यामा मानिसहरु मरे । बीसौँ शताव्दीमा बिफरले मात्र विश्वमा बीसौँ करोड मानिसहरुको ज्यान लियो भने सन् १९७९ मा यसको खोप बनेपछि बल्ल यो निर्मुल हुन पुग्यो । विभिन्न खाले कडा रुघाहरु तथा पोलियोका खोप र एन्टीवायोटिक औषधीहरु बने तापनि यस्ता महामारी मच्चाउने भाइरसहरु पनि नयाँ नयाँ रुपमा देखा परिरहन्छन् । एउटा उदाहरण दादुरा कै लिन सकिन्छ । खोप र औषधी बनेपछि निर्मुल भइसकेको दादुरा फेरी देखा पर्न थालेको छ । 

 

१९८० को दशकदेखि देखापरेको एचआईभी भाइरसको संक्रमणले मात्र विश्वमा आजसम्म साँढे तिन करोडको ज्यान गइसक्यो भने साढे सात करोड मानिस यसको संक्रमणसँग लड्ने प्रयत्न गरिरहेका छन्, तर आजसम्म यसको उपचारको लागि कुनै खोप वा औषधी बनेको छैन । एचआईभी, सार्स र कोभिड–१९ को संक्रमणलाई हेर्ने हो भर्ने पछिल्लो शताव्दी भन्दा यो शताव्दीमा भाइरसको संक्रमण चार गुणाले बढेको छ । यसो हुनुमा विगत ५० वर्षमा विश्वको जनसंख्या बढेर पहिलेको दाँजोमा दोव्वर नै हुनु पनि हो । जति धेरै मानिस, संक्रमणको खतरा पनि उति नै बढी । त्यसमाथि मानव जातीले आफ्नो उपभोगको लागि पालेर राखेका पशुपंक्षीको संख्या पनि आकाशिँदै छ । नयाँ नयाँ भाइरसहरुको उत्पत्ति र फैलावट यस्तै कैयन् पशुपंक्षीको शरीरको माध्यमबाट नै हुन्छ भन्ने कुरा पनि पत्ता लागेको छ । बढ्दो जनसंख्याको दैनिक उपभोगका लागि आवश्यक स्थान र खाद्य तथा अन्य उपभोगका साधनको उत्पादन जस्ता पर्यावरणलाई सिधै असर पार्ने क्रियाकलापले गर्दा पनि एकातिर पृथ्वीको तापक्रम बढ्दै गएको छ भने, अर्को तिर विभिन्न नयाँ किसिमका रोग व्याधीहरु पनि थपिँदै गएका छन् । तर विश्वका सर्वोत्कृष्ठ र सम्पन्न मुलुकहरु देखि लिएर विश्व स्वास्थ्य संगठन समेत एउटा महामारी नियन्त्रणमा आएपछि निकै लामो समयसम्म आराममा बस्ने गर्नाले अर्को महामारी आउनु भन्दा पहिले गर्नुपर्ने तयारी र नयाँ खोप तथा औषधीको अनुसन्धान गर्ने काममा चुकी हाल्छन् । यसपालीको कोभिड–१९ को महामारीले यही कुराको पुष्टि गर्‍यो। निरन्तर अनुसन्धानमा गरिनुपर्ने खर्च र लगानी गर्नबाट चुकेर महामारी शुरु भएपछि एकैचोटी खरवौँ डलर रोकथाममा खर्च गर्नुपर्दा आज विश्व अर्थतन्त्र नराम्ररी धरासायी भइरहेको छ ।

 

अनुभव र समयले मानव जातीलाई यस्ता भाइरसहरुबाट बच्नको लागि सरसफाईमा विशेष ध्यान दिन तथा उपलब्ध खोप तथा औषधीहरुको आवश्यकता अनुरुप सेवन गर्न सिकाएको छ भने संक्रमणको बेला भिडभाडमा नजान, घरमा बस्न र एक अर्को बिच भौतिक दुरी कायम गर्न पनि सिकाएको छ। करिव पाँच दशकदेखि भाइरसबाट हुने महामारीबाट बच्ने यिनै तरिकाहरुको अवलम्बन गर्न थालिएकोले नै यसको विषम फैलावट पहिलेको दाँजोमा निकै हदसम्म घटेको छ। झनै यो पटक चीनले शुरु गरेको वृहत लकडाउनले गर्दा त यस्ता महामारीलाई जित्न सकिने अहिलेसम्मको सबैभन्दा प्रभावकारी माध्यम नै यही रहेछ भन्ने कुरा सावित भयो। हुन त यो भन्दा पहिले पनि यस्ता विभिन्न महामारीहरुबाट बच्न सामान्य लकडाउनहरु गर्ने गरिएकै थियो। तर अधिकांश विश्व लकडाउन भएको भने यो पहिलो नै होला । 

 

प्रत्येक महामारी, विपत्ति र प्राकृतिक प्रकोपको त्रासद अनुभव तथा आफन्त र परिवारजनसँग विछोडको स्थितिको सामना गरे पश्चात हामी प्रत्येक मानवमा जिवन के रहेछ र ? एकअर्कामा द्वेष राख्नु, रिस–राग, भय–उन्माद र लोभ–मोहले के नै उपलब्धि हुँदो रहेछ र रु एकापसमा प्रेम, सद्भाव, आदर र सम्मान बाँड्नुका साथै समाजका विभिन्न तप्काका मानवहरु र सम्पुर्ण प्राणीहरुको सेवा र प्रकृतिको उचित कदर र संरक्षण गरे पो त जिन्दगीमा दिगो सुख, खुशीयाली, शान्ति र सन्तोष छाउँदो रहेछ । अब आइन्दा म यस्तै प्रकारको जीवन जिउँछु भन्ने भावना जागृत हुँदोरहेछ । तर इश्वरले मानव जातीमा छिटो सबै गौँढ कुराहरु भुल्ने एउटा अचम्मको वानी उपहास स्वरुप दिएकाले होला हामी सहज परिस्थिति आउना साथ यी सब जज्बाती कुराहरु बिर्सेर पुनः पुरानै धन्दामा लिप्त हुन थाल्छौँ । २०७२ सालको महाभुकम्प पश्चात पनि यस्तै भएको थियो ।

 

यसपालीको नयाँ वर्षमा हामी सबैले माथि उल्लेख गरिएका जस्ता सकारात्मक कुराहरुमा अडिग भएर लागिरहने संकल्प गरौँ र हाम्रा र भावी पुस्ताको जीवन सुखमय बनाउने तथा प्रकृतिलाई माया र संरक्षण गर्ने प्रण समेत गरौँ । यहीमा हामी सबैको कल्याण छ।

 

सम्पुर्ण पाठकवर्गमा नयाँ वर्षको शुभकामना ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार