• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

राष्ट्रपति भण्डारीद्वारा बैशाख १ गते ४५२ जनालाई विभूषित गरिँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये चार सय ५२ जनालाई विभूषित गर्नेभएकी छिन् । 

 

विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन शीतलनिवासमा सुशोभन समारोहमा उनीहरुलाई विभूषित गर्ने कार्यक्रम रहेको जनाएको छ ।

 

समितिमा गृहमन्त्री रामबहादुर थापा, प्राडा मीना वैद्य, प्राडा इन्द्रजीत राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव र उपरथि विनोदकुमार श्रेष्ठ सदस्य तथा सदस्यसचिवमा गृहसचिव महेश्वर न्यौपाने रहेका छन् ।

 

राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिमध्येबाट मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम श्रेणीमा १०४ तथा अलङ्कारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्नका लागि सिफारिस भएको थियो ।

 

यस्तै विभिन्न मुलुकले तीन जना नेपाली राष्ट्रसेवक तथा नागरिकलाई विभिन्न प्रकारका विभूषण प्रदान गर्न स्वीकृतिका लागि सिफारिस भएको थियो । नेपाल सरकार मन्त्रिपरिषदको गएको असोज १ गतेको निर्णयानुसार विसं २०७७ असोज ३ गते संंविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये मानपदवी प्राप्त ४५२ जनालाई आगामी बैशाख १ गते विभूषित गरिने समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार