• आइतबार ३-६-२०७८/Sunday 06-20-2021
डबली

पन्ध्रौं वसन्त

ऊ रोइरहेकी थिई ।, “किन रोइस्  ‘थर्ड’ प्राइज पनि त नराम्रो होइन । ”, मैले सम्झाएँ । उसलाई फस्ट नै हुनुपरेको थियो तर भइन ।


 
“कति रोएको आस्था अब घर जाऊ । फेल हुनेहरु बरु रोएका छैनन । तिमी यति राम्रो नम्बर ल्याएको मान्छे !”, यति भन्दै सिता मिस हिँड्नुभयो ।


       अभिभावकहरु आफ्ना छोराछोरीको मार्कसिट लिँदै जाँदै गर्दैहुनुहुन्थ्यो । क्लास टिचर मार्कसिट बाँड्न ब्यस्त हुनुहुन्थ्यो । यसपटक सेकेन्ड भएँ अर्को पटक फस्ट हुन्छु । मनमनै सोच्दै थिएँ । 

 

म मार्कसिट लिन बुबासँग आएकी थिएँ । बुबा अगाडि–अगाडि हिँड्दै हुनुहुन्थ्यो । आस्थाको ममी भने निकै अगाडि पुगेर आस्थालाई कुरिरहन भएको प्रष्ट देख्न सकिन्थ्यो।

 

    कसैले मेरो काँधमा हात राखेको अनुभव गरेँ । ऊ सरिना थिई । 

 

“ओई अनुभुती सुन त । त्यो लिखुरे त टेन्थ भएछ ।”, सरिनाले भनी ।

 

“होस् न त के मतलब ? ”, मैले भनेँ । 

 

“जाँचमा मसँगै परेको थियो बेञ्च मात्र फरक । टिचरलाई पनि सोधेको सोधेकै थियो । टिचरले पनि सिकाईदिनुभाथ्यो । ”, उसले भनी । 

 

“टिचरले नसिकाईदिनुभएको भए ‘टुवेल्वथ‘ हुन्थ्यो होला । ”, मैले भनँे । हामी हाँस्यौं । यतिन्जेल आस्था हिँडिसकेकी थिई । सरिना र म यस्तै गफ गर्दै हिँडेका थियौं। 

 

    आज रिवाज छिट्टै स्कुल आएछ । म स्कुल पुग्दा रिवाज आइसकेको थियो । उसले मेरो कापी माग्यो । उसले अलिअलि होमवर्क घरमै गरेको थियो । नआएको ठाउँ खाली छोडेको थियो । मेरो कापीमा हेरेर सार्न थाल्यो । 

 

    सरिना र म स्कुल ग्राउन्डमा थियौं । “त्यो लिखुरेले होमवर्क गरेको रैनछ ?”, सरिनाले मसँग सोधी । 

 

“अलिअलि गरेको रैछ । नआएको चाहिँ मेरो कापीबाट सार्दैछ । ”, मैले जवाफ दिएँ । साँच्चै रिवाज दुब्लो पातलो छ त्यही भएर त सरिनाले उसलाई लिखुरे भन्छे । मलाई भने हम्मेसी अर्काको नाम राखिहाल्न मन लाग्दैन । 

 

    स्कुलमा भएको कुइज कन्टेष्टमा हाम्रो टिम फस्ट आएको थियो । रिवाजको टिमले पनि पुरस्कार प्राप्त गरेको थियो । “तिमीले राम्रो तयारी गरेकी रैछौ । ”, 

 

रिवाजले भन्यो । “मेरो मात्र होइन टिमका अरु साथीहरुको पनि राम्रो मेहिनत छ ।”, मैले जवाफ दिएँ । रिवाज भन्दा  हरेक कुरामा म अगाडि थिएँ । सानातिना प्रतियोगिताहरुमा पनि राम्रो तयारी गरेर जान्थेँ । प्रायशः फस्ट सेकेन्ड नै हुन्थेँ । रिवाज पढाईमा मात्र होइन अरु धेरै कुराहरुमा म भन्दा पछाडि थियो ।


      समय बित्दै गयो । स्कुल छोडेर क्याम्पस पढ्न थालेँ । तैपनि म नियमित रुपमा कलेज जान भ्याउँदिनथिएँ । परिक्षा दिन भने जसोतसो पुगेकै हुन्थेँ । रिवाज, सरिना, आस्था र स्कुल पढ्दाका अरु साथीहरुसँग खासै भेट हुन्नथ्यो ।


        सबै आ–आफ्नो काममा ब्यस्त थिए । बिहे भएपछि पनि पढाईलाई अगाडि बढाईरहेको थिएँ । काखको बच्चा सानो थियो । पढ्न पनि  संघर्ष नै गर्नुपथ्र्यो । केही वर्ष पछि अर्को बच्चा थपियो । घर परिवारको जिम्मेवारी थपियो । 

 

    बल्ल बल्ल  मास्टर्स सकेँ । जागिर खाने धोको अधुरै रहेको थियो । सरिना विदेशमा थिई । आस्था नेपालमै रहेको मल्टिनेसनल कम्पनिमा काम गर्थी । रिवाजले आफ्नै कम्पनी खोलेको छ रे भन्ने सुनेको थिएँ । ऊ मेरो कन्ट्याक्टमा थिएन । 

 

    ठूलो छोरो पन्ध्र वर्षको भइसकेको थियो । सानो नौ दश वर्ष मात्र भएको थियो । यी पन्ध्र वर्ष मिलिक्क बित्यो । यस्तो लाग्यो छोराछोरी हर्काउनु पन्ध्र वर्षे दीर्घकालिन योजना हो जसमा दिन– रात, चिसो–तातो, अँध्यारो–उज्यालो केहीको परवाह हुँदैन । जे – जे आईपर्छ त्यही – त्यही काम सम्हाल्दै जाने हो । त्यसैले त संसारकै अद्भूत नमूना हुन् आमा ।

 

विश्वमा सबैभन्दा अफ्ठ्यारो र चुनौतिपूर्ण काम भर्खरै जन्मिएको बालकलाई हुर्काएर ठूलो बनाउनु हो  यसका लागि श्रम र समय दुबै ‘लगानी’ गर्नुपर्छ । कुनैपनि प्रतिफलको आशा बिना ।

 

    दराजको कुनामा एउटा झोला थियो । त्यही झोला भित्र ब्यबस्थित तवरले थन्किएको थियो मेरो मार्कसिट । मसँग बकाईदाको प्रमाण थियो ,
‘अनुभुती शर्मा डिग्री पास ’

 

चालिस वर्ष कट्न केही महिना मात्र बाँकी थियो । रोजगारीका ढोकाहरु क्रमशः बन्द हुँदै थिए । तैपनि आत्माले भन्दै थियो , ‘हिम्मत नहार अनुभुती ’
“पढेलेखेको मान्छे जागिर त खानुपर्छ । ”, श्रीमानले हौसला बढाउनुहुन्थ्यो ।  

 

“बाबुहरु हुर्किँदैछन् । यसो काम खोज्दै गरे हुनेँ । अब त अलि ठूला भए । म पनि हेरिदिन सक्छु ”, सासु आमाले भरथेग गरिदिन खोज्नुहुुन्थ्यो । उहाँहरुको सोचाई गलत होइन । तर मेरो उमेर ‘त्यही पुरानो’ उमेर रहेन । धेरैतिर प्रयाश गरे ।  बल्ल बल्ल एक ठाउँमा जागिरका लागि योग्य ठहरिएँ । नियुक्ति पत्र बुझेँ । काममा जान थालेको केही दिन भएको थियो । 

 

    एकपटक काम विशेषले हाकिमको कोठामा छिरेँ । नेमप्लेटमा लेखेको नाम मैले खासै याद गरेको थिइँन ।

 

“अनुभुती  म्याडम ”, उहाँले भन्नुभयो ।

 

“हजुर सर । ”, मैले जवाफ फर्काएँ ।

 

“म तपाईँको क्लास मेट रिवाज थापा । एउटै स्कुल । एउटै एस. एल. सी ब्याच ”।

 

    म छाँगाबाट खसेझैं भएँ । ऊ यस कम्पनिको मालिक थियो । म त्यही अफिसमा ‘एसिस्टेन्ट’ तहको सानो पोस्टमा जागिर खान छिरेको बबुरो । यस बखत ममा उसलाई ‘तिमी’ वा ‘तपाईँ’ केही भन्ने हिम्मत थिएन । 

 

    अफिस खोलेको पन्ध्र वर्षमा उसले सयौंलाई रोजगारी दियो । यसै क्षेत्रमा आफ्नो योग्यता र क्षमता ‘लगानी’ गरी करियर बनायो । कठै मेरा पन्ध्र वर्ष अर्कैतिर लगानी भयो । मलाई यो अफिस छोडेर अन्तै दौडियौं जस्तो लाग्यो । आँशु बल्ल बल्ल रोकेँ । जसरी पनि आफ्नो मनलाई सम्झाउनु थियो । त्यसैले सरिनालाई सम्झिएँ । यतिखेर ऊ नजिक भएको भए भन्थी होला, “बुझिस् अनुभुती लिखुरे त ठूलै हाकिम भएछ ,।”

 

    मनमा बाढी आएको थियो। तैपनि शान्त भएको नाटक गरेँ । आँखा चिम्लिएँ र पुकारा गरेँ, “हे इश्वर के तिमी फर्काउन सक्छौ ती पन्ध्र वसन्त ? ‘करियर’ बनाउने मेरो त्यो बितेको उमेर ...। ”
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार