• आइतबार १-२६-२०७८/Sunday 05-09-2021
विचार

फर्केर हेर्दा २०७७ : जसले यो संसार छाडेर गए 

यस धरतीमा प्रत्येक वर्ष, महिना, हप्ता, दिन, घडी र पलामा हजारौँ शिशुहरुले जन्म लिन्छन् भने त्यसैगरी हजारौँ मानिसहरुको मृत्यु पनि हुन्छ । साधारण भाषामा भन्नु पर्दा आउने र जाने क्रम भइ नै रहन्छ। तर हामी मानव जातीलाई आफु जस्तै मान्छे मात्र जन्मिरहेको र मरिरहेको वारे मात्र चाख हुन्छ । यसैगरी सबै जीवजन्तु, प्राणी र वनस्पतीहरु पनि यस धरतीमा जन्मन्छन् र मर्छन् तर तिनीहरुको लेखा जोखा विरलै गरिन्छ–सायद चित्रगुप्तले राख्छन् की !!! मानिस जन्मँदा अक्सर खुशीयाली मनाइन्छ भने आफन्त र मन खाएको व्यक्ति मर्दा निकै शोकाकुल हुन्छौँ हामी । वास्तवमा जन्मे पछि मर्नु त एउटा अकाट्य नियम नै हो, तैपनि आफ्ना अग्रज, परिवारजन प्रियजनवा आफन्तको मृत्युले निकै दुखी तुल्याउँछ मानव जातीलाई । वास्तवमा धेरै प्रकारका जीवजन्तुहरुलाई आफन्तको मृत्यु भएको भेउ हुँदो रहेछ र त तिनीहरु त्यस्ता मृत्युको केही समयसम्म निकै शोकाकुल भएर बस्छन् र टोलाउँछन् । गाई, कुकुर, परेवा वा बाँदर कै उदाहरण लिन सकिन्छ । जन्मे पछि मर्नै पर्ने प्राकृतिक नियम भएता पनि कुनै पनि मनुष्यले जन्म लिएपछि नमुरुञ्जेलसम्म के के राम्रा वा नराम्रा काम ग¥यो वा कृति छोड्न सफल भयो, सोबाट उसको मृत्युपर्यन्तको लेखाजोखा हुँदो रहेछ र सोही अनुसार उसको सम्झना गर्ने जिउँदा मानिसहरुको संख्या निर्धारण हुँदोरहेछ।

 

 

विभिन्न जात–जाती र धर्मावलम्वीहरुको मृत्यु सम्बन्धि संस्कारका आआफ्नै समय, व्याख्या र तरिका भएता पनि अक्सर विश्वभरी नै मान्छे मरेको एक वर्षसम्म उसलाई विशेष प्रकारले सम्झने गरिन्छ। जन्म पश्चात शैशवावस्थामा नै वा युवावस्थामा, अधवैंशे अवस्थामा तथा वृद्धावस्थामा, जुनै पनि बेला मानिसको मृत्यु हुन सक्दछ । वृद्धावस्था बाहेकका अवस्थामा हुने मृत्युलाई हामी अकालको मृत्यु पनि भन्दछौँ । यस्ता मृत्यु खासगरी रोगव्याधी, दुर्घटना, दैवीप्रकोप, हत्या वा मृत्युदण्ड आदिका कारण हुन जान्छन् भने वृद्धावस्थामा भने कोही केही छिटै र कोही अलिक दिर्घजीवन व्यतीत गरेर यस धरतीबाट बिदा हुन्छन् । तर बाँच्ने मनुष्य जातीलाई अकालमा मरेका आफन्तको त पिर लाग्छ नै, लामो समयसम्म बाँचेका अग्रजहरुको मृत्यु हुँदा समेत हामी उनिहरु अझ बढी बाँचेर हामी सामु भइरहेका भए कति राम्रो हुने थियो भनेर निकै शोकमग्न हुन पुग्दछौँ ।

 

सदाझैं यो वर्ष यानी २०७७ सालमा पनि विश्वमा धेरै प्रख्यात मानिसहरुको अवसान भयो । अन्य बेलामा भन्दा यो वर्ष कोभिडको महामारीले गर्दा पनि निकै धेरै मानिसहरुले ज्यान गुमाउन पुगे। कोभिडकै कारण विश्वमा १३ करोड ३६ लाख व्यक्ति संक्रमित हुनुका साथै २९ लाखले ज्यान गुमाईसके भने नेपालमा पनि २ लाख ७८ हजार जना संक्रमित हुनुका साथै ३,०३८ जनाले ज्यान गुमाए । त्यस्तै आगलागी, बाढी, पहिरो, भुकम्प जस्ता दैवीप्रकोपका कारण विश्वका विभिन्न ठाउँहरुमा हजारौँ व्यक्तिहरुले ज्यान गुमाए । हालै मात्र वंगलादेशमा रोहिङ्ग्याहरुको क्याम्पमा आगलागी हुँदा सयौँ व्यक्ति हताहत भए । राजनीतिक द्वन्द्व, आतंकवाद, र सरकारी दमनका कारण पनि विश्वका विभिन्न ठाउँहरुमा हजारौँ व्यक्तिको मृत्यु भएको छ । हाम्रो छिमेकी राष्ट्र वर्मामा नै सयौँ व्यक्तिहरु राजनीतिक अस्थिरताका शिकार बन्न पुगेका छन् ।

 

विभिन्न प्रकारका कडा सजायहरुको व्यवस्था हुँदाहुँदै पनि दक्षिण एसियाली क्षेत्रमा बलात्कार र त्यसपछि गरिने निर्मम हत्यामा कमी आउन सकेको छैन। भारत यस्तो कुरामा सबैभन्दा अगाडि छ भने हाम्रो देश नेपालमा पनि यसमा कमी आउन सकेको छैन । हालै मात्र सुदुर पश्चिमकी अर्की चेली भागरथी भट्टको वलात्कार पछि निर्मम हत्या भएको थियो । 

 

कोभिड–१९ कै कुरा गर्दा यो वर्ष समाजका विभिन्न क्षेत्रका धेरै व्यक्तित्वहरुले यस महामारीको चपेटामा परेर मृत्युवरण गर्न वाध्य हुनुपर्‍यो । स्वास्थ्य क्षेत्रमा अग्रपंक्तिमा काम गर्ने नेपाली चिकित्सक डा.हरिप्रसाद सापकोटा, वरिष्ठ सर्जन ध्रुव शर्मा मुडभरी लगायत कैयन् चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ज्यान गुमाउनु पर्ने स्थिति आयो र यही स्थिति विश्वका धेरै ठाउँहरुमा पनि भेटियो । कोभिड–१९ को प्रकोप वारे चीनको वुहान प्रान्तमा सबैभन्दा पहिला बोल्ने ३३ वर्षीय सचेतक चिकित्सक लि वेन लियाङको पनि यसको केही हप्ता पछि नै यही महामारीको कारण मृत्यु भयो । 

 

वरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी किरणप्रसाद पाण्डेदेखि लिएर बैंकिङ क्षेत्रका हस्तीहरु शम्भु पौडेल, पृथ्वी श्रेष्ठ आदिले पनि कोभिडका कारण ज्यान गुमाए भने अनिल केशरी शाह तथा निकै नाम चलेका बैंकिङ क्षेत्रका अन्य हस्तीहरु यसको संक्रमणले गर्दा विरामी परेका थिए । हालै मात्र पुत्र वियोगमा परेका वयोवृद्ध पूर्व सेनाध्यक्ष अर्जुननरसिंह राणाको पनि कोभिडकै कारण निधन भयो भने सुरक्षा निकायको अग्र पंक्तिमा काम गर्ने धेरै सुरक्षाकर्मीहरु पनि संक्रमित हुन पुगे । खारिएका प्रशासक तथा योजनाविद डा. रविन्द्रकुमार शाक्य तथा रूसमा बसोवास गर्ने साहित्यिक अनुवादक कृष्णप्रसाद श्रेष्ठलाई पनि यस महामारीले छोडेन भने शताव्दी टेक्न थोरै समयमात्र बाँकी भएका वरिष्ठ राजनीतिज्ञ तथा स्वतन्त्रता सेनानी रामबाबु प्रसाईँ (खनुपरुदे) पनि कोभिडकै कारण दिवंगत हुनुभयो ।

 

नेपालमा शारीरिक सुगठनको लागि निकै काम गरेका वडी विल्डर राजभगत प्रधानाङ्ग र विश्व कै चर्चित फुटवल खेलाडी म्याराडोनाको पनि कोरोना कै कारण मृत्यु हुन पुग्यो । नेपालका प्रसिद्ध उद्योगपति विनोद चौधरी संक्रमित भएर पनि छिटै तग्रिन सफल भए भने अर्का हस्ती सूर्यबहादुर के.सी.ले भने ज्यान गुमाउनु प¥यो । कोरोनाकै हलुका संक्रमणबाट राजनीतिक हस्तीहरु अर्जुननरसिँह के.सी., गगन थापा, बाबुराम भट्टराई, हिसिला यमी, बलराम बाँसकोटा, सावित्रा भुषाल आदि छिटै तग्रिए भने पुर्वमन्त्री मिन विश्वकर्माले भने निकै नै धेरै विरामी परेर भएपनि आखिर कोरोनालाई पराजित गरे । विमान चालक तथा सिने कलाकार विजय लामा पनि केही समय अस्पतालमा उपचार गराएर आफ्नो दैनिकीमा फर्किए ।

 

बेलायती युवराज प्रिन्स चाल्र्स, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि लिएर जर्मन चान्सलर एन्जेला मर्केल, बेलायती, फ्रान्सीसी, ब्राजिलियन, क्यानेडियन, इटालियन तथा अन्य धेरै राष्ट्रका प्रमुख वा सरकार प्रमुखहरु पनि कोरोनाबाट संक्रमित हुन पुगे । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि कोरोनाको चपेटाबाट उम्कन सफल भए । तर भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी, बुरुण्डी र तान्जानियाका राष्ट्रपति तथा इस्वातिनी र आइभोरी कोष्टका प्रधानमन्त्रीहरुको देहावसान भने कोरोनाकै कारण भयो । दक्षिण अफ्रिकी शक्तिशाली जुलु आदिवासीहरुका राजा गुडविल ज्वेलिथिनीको पनि कोभिडकै कारण निधन भएको थियो ।

 

यस वर्ष १०१ वर्षको उमेर टेक्न लागेका राष्ट्रकवी माधव घिमिरेको पनि स्वाशप्रश्वास सम्बन्धि दिर्घरोगका कारण स्वर्गारोहण भयो । त्यस्तै वयोवृद्ध वुद्धिजीवी तथा राजनीति, दर्शन, साहित्य, समाजसेवा तथा अन्य धेरै क्षेत्रका हस्तीहरु जस्तै गोविन्दप्रसाद लोहनी, अंगुरवावा जोशी, यज्ञप्रसाद आचार्य, पिताम्वरध्वज खाती, विष्णुबहादुर मानन्धर, कुवेर शर्मा, प्रा. माणिकलाल श्रेष्ठ, वि.ए. कृष्णप्रसाद श्रेष्ठ आदि र चिकित्सा क्षेत्रमा निकै योगदान गरेका वयोवृद्ध डा. भिष्मराज प्रसाई समेत दिवंगत भए । यो वर्ष पाकिस्तानका लागि नेपाली राजदूत भएका दुई हस्तीहरु गोविन्दप्रसाद लोहनी र अर्जुननरसिंह राणाको चार महिनाको अन्तरालमा देहावसान भयो ।

 

भारतमा वरिष्ठ राजनीतिज्ञ मोतिलाल बोहराराको ९३ वर्षको उमेरमा निधन भयो भने जसवन्त सिंह, अजित जोगी, अमर सिंह, रामविलास पासवान आदिको पनि विभिन्न रोगका कारण निधन भयो । पत्रकारिताबाट राजनीतिका ज्ञाता हुन पुगेका जनार्दन आचार्य, राजनीतिज्ञ अशोक कोइराला, निकै आशा लाग्दा युवा राजनीतिज्ञ नविन्द्रराज जोशी तथा जल्दा बल्दा युवा पत्रकार गोकर्ण गौतमको पनि विभिन्न किसिमका स्वास्थ्य समस्याका कारण निधन हुन पुग्यो ।

 

गीत, संगीत र गायन क्षेत्रका ठूला हस्तीहरु जस्तै रत्नशम्शेर थापा, भैरवनाथ रिमाल ‘कदम’, गणेश परियार, ध्रुव के.सी., कवयत्री शुभ श्रेष्ठ, बाल साहित्य रचनाकार श्याम खुलिमुलीको पनि विभिन्न खाले स्वास्थ्य समस्याका कारण निधन भयो ।

 

भारतका प्रख्यात सेलिब्रेटी तथा कला प्रशिक्षकहरु अविनाश खर्शिकर, अस्थाद डेबु, आर्य वनर्जी, आशिफ वास्रा, ऋषि कपुर, इर्फान खान,एस.वि.वालसुभ्रमण्डीयम, कुम कुम,जगदिप,नरेन्द्र भिडे, मोहित वघेल,रवि पटवर्धन, सुशान्तसिँह राजपुत,सरोज खान,सौमित्र चटर्जी, निशिकान्त कामत, रजत मुखर्जी, वासु चटर्जी, वाजिद खान, हरिश शाह आदिको विभिन्न स्वास्थ्य समस्या र अन्य कारणले गर्दा मृत्यु भयो भने दिव्या भटनागर र आशालता वावगावङ्करको मृत्यु कोरोनाको कारण हुन गयो । ‘ओसिन’ कि लेखिका, प्रख्यात कोरियन–जापानी साहित्यकार सुगाको हासिडाको पनि हालै ९५ वर्षको उमेरमा मृत्यु भएको हो । 

 

ओमानका सुल्तान कावुस विन सइद र बहराइनका प्रधानमन्त्री खलिफा विन सलमान अल खलिफाको निधन पनि यसै अवधिमा भयो । यस्तै अमेरिकी सर्वोच्च अदालतकी प्रधान न्यायधिश रूथ बाडर गिन्सवर्गको पनि ८७ वर्षको उमेरमा निधन भयो भने फेशन जगतका महान हस्ती पियर कार्डिन, सफल जेम्सबण्ड पात्र सिन कोनेरी तथा गायक÷गितार वादक चार्ली प्राइड र एडी भ्यान ह्यालेन पनि यही समयमा यस धर्तीबाट विलिन भए ।

 

माथि उल्लेख भए जस्तै जन्म पछि मृत्यु एक अकाट्य तथा कटु सत्य नै हो । तैपनि समाजमा केही योगदान गरेका व्यक्तिहरुको मृत्युले भने निकै चोट पुर्‍याउने गर्दछ । तैपनि यसलाई रोक्ने कुनै पनि उपाय नभएकाले मृत्युलाई स्विकार गर्नै पर्ने हुन्छ । आज पनि कैयन् महत्वपुर्ण व्यक्तित्वहरु विभिन्न स्वास्थ्य सम्बन्धि जटिलताले गर्दा जीवन र मरणको दोसाँधबाट गुज्रिरहेका होलान् । इश्वरसँग हाम्रो नयाँ वर्षको प्रार्थना नै यही छ की छिटो से छिटो महामारी तथा अन्य रोगव्याधी हाम्रो सामुबाट हराउन्, सबै मानिसहरु रोग मुक्त होउन्, मृतात्माहरुलाई शान्ति मिलोस् र सम्पुर्ण मानव जाती, प्राणी तथा वनस्पतीर यो धरतीमा शान्ति र समृद्धि छाओस् । 

 

लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार