• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

अनलाइन पत्रकारितालाई राज्यले विभेद गर्न पाउँदैन

काठमाडौं । आम पत्रकारिता भन्दा अनलाइन पत्रकारितालाई फरक दृष्टिकोणबाट हेर्न नहुने आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन्। 

 

अनलाइन पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्षका प्रत्याशीहरुले राज्यले अनलाइनलाई आमसञ्चार भन्दा फरक व्यवहार गर्न खोजेको भन्दै महासंघ चुप लागेर नबस्ने सामूहिक प्रतिवद्व व्यक्त गरे । 

 

सुशासन ऐनको नाममा अनलाइन पत्रकारितालाई नियन्त्रण गर्न खोज्न नहुने उनीहरुको भनाइ थियो । अनलाइन पत्रकारितालाई मूल प्रवाहीकरणमा ल्याउने र आम सञ्चार ऐन अनुसार नै अनलाइन पत्रकारिता नियमन गर्ने व्यवस्था मिलाइने अध्यक्षका प्रत्यासीहरुले उद्घोष गरेका छन् । 

 

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष एवम् अध्यक्ष उम्मेदवार बिपुल पोखरेलले सुशासन ऐनको दफामा टेकेर ल्याइएको निर्देशिका स्वीकार्य नहुने भन्दै राज्यलाई २०४५ सालअघिको व्यवस्थामा फर्किन छुट नभएको बताए ।

 

‘आम संचार क्षेत्रसँग कुनै सम्बन्ध नै नभएको सुशासन ऐनको एउटा दफामा टेकेर ल्याइएको निर्देशिकाले अनलाइन संचार माध्यमहरुलाई नियन्त्रण गर्न खोजिएको छ, यो कार्य हामीलाई स्वीकार्य छैन, अनलाइन संचार माध्यम पनि आम संचारकै एउटा प्रमुख अंग भएकोले आम संचार ऐन अनुसार नै काम गर्न गराउन ध्यानाकर्षण गराएका छौं’ उनले भने,‘अलग कानुन ल्याउनु आवश्यक छैन ।’

 

छापाखाना संस्था खारेज नहुने प्रावधान भएपनि अनलाइन सञ्चारमाध्यम खारेज गरेकोमा अध्यक्षका उम्मेदवार पोखरेलले राज्यको गलत कदम भएको बताए । ‘निर्देशिका जारी गरेर राज्यले अनलाइनलाई कुन्ठित गर्ने मनसाय बोकेको छ’, उनले भने‘तर उक्त व्यवस्था हामी आउन दिदैँनौं ।’  

 

महासंघमा दलीय प्रभाव रोकिनुपर्ने अध्यक्ष उम्मेदवार पोखरलले बताए । ‘दल मात्र होइन विभिन्न स्वार्थी समूह हावी हुन खोज्छन्, तर त्यस्ता समूहले निर्णय प्रक्रियामा ठाउँ पाउनुहुन्न।’ 

 

महासंघमा एशोसिएट संस्थाहरुको भूमिका र योगदान महत्वपूर्ण भएपनि एसोसिएट संस्थाहरुले महसुस गर्ने गरी उचित व्यवहार भएको नहुन सक्ने उनको स्वीकारोक्ति थियो । तर, अबका दिनमा एसोसिएट संस्थाको भूमिका देखिने गरी काम गर्ने उनले प्रतिवद्धता जनाए । एसोसिएट संस्थाहरुको लागि गर्नुपर्ने आवश्यक कामका लागि बेग्लै एसोसिएट सचिवालय स्थापना गर्ने र त्यसले समस्या समाधानमा प्रभावकारी कदम चाल्ने उनको भनाइ छ ।

 

एसोसिएटलाई व्यवस्थित गर्न कार्यविधि बनाउने उनले प्रतिवद्वता व्यक्त गरे । ‘विधागत पत्रकारिताको विकास हुनेगरी महासंघ अघि बढ्ने छ’उनले भने,‘त्यसको थालनी छिट्टै हुनेछ।’अध्यक्षका उम्मेदवार पोखरेलले श्रमजीवी पत्रकारको मुद्दालाई प्रभावकारी बनाउँदै प्रेस विरोधी कानुन आउनै नदिने उद्घोष गरे । कल्याणकारी कोष व्यवस्थित गर्न कार्यविधि बनाइने उनले बताए । 

 

महासंघका अध्यक्षका उम्मेदवार निर्मला शर्माले लगत कानुन र निर्देशिकाको आधारमा अनलाइन संचार माध्यमहरुलाई नियमन र नियन्त्रण गर्ने कार्य रोक्ने बताइन् । छापाखाना भन्दा विद्युतीय पत्रकारितालाई राज्यले फरक दृष्टिकोणबाट हेर्न नहुने उनको भनाइ छ । ‘यस्ता समस्या सल्टाउन सामुहिक एकताको आवश्यक छ’ उनले भनिन् । सञ्चार कानुन आउनु अघि व्यापक छलफल हुनुपर्ने उनको धारणा छ ।

 

महासंघको एसोसिएट पहिलो प्राथमिकता पर्ने शर्माले बताइन् । ‘अहिले बिधागत पत्रकारितालाई वेवास्ता गरिएको छ’ उनले भनिन्,‘अब त्यसो हुने छैन ।’ एसोसिएटलाई सदस्य र सचिव दिइएपनि अधिकार नदिइएकाले महासंघले एसोसिएटलाई मुल प्रवाहीकरणमा ल्याउने प्रतिवद्वता व्यक्त गरिन् । 

 

महासंघको शाख जोगाउन बाँकी काम पूरा गर्न अध्यक्ष उम्मेदवार शर्माले बताइन् । प्रत्यक्ष मतदानले सहि नेतृत्व छनोट हुने र यसले प्रेस स्वतन्त्रताको रक्षा तथा हकहित गर्दै स्वोरोजगारलाई प्रबद्र्धन गर्ने बताइन् । 

 

एसोसिएटका समस्या फुकाउन नेतृत्व लचिलो बन्ने उनले बताइन् । ‘कल्याणकारी कोष बढाउन जरुरी छ’ उनले भनिन्‘त्यसमा हाम्रो असहमति हुँदैन ।’महासंघको विधान अधिवेशनमा पत्रकारिता क्षेत्रसँग सम्बन्धित सबै पक्षको व्यापक छलफल हुनुपर्नेमा त्यसो हुन नसक्दा समस्या उत्पन्न भएको हुन सक्ने उनको भनाइ छ । पत्रकारले राजनीति बुझ्नुपर्ने भएपपनि राजनीति प्रवेश रोक्नुपर्ने बताइन् । ‘पत्रकार बीच प्रतिस्पर्धा होस्’ उनले भनिन्,‘झुन्डलाई महासंघमा निर्वाचित गर्न हुन्न ।’  

 

अध्यक्षका उम्मेदवार गजेन्द्रसिंह बुढाकोथीले एक दशकअघि अनलाइन पत्रकारिताको महत्व र चर्चा नभएपनि अब उच्च प्राथमिकतामा पर्नुपर्ने बताए । ‘महासंघ पुर्नसंरचना हुनुपर्छ’, उनले भने,‘त्यसका लागि सबैले सोच्न आवश्यक छ ।’ 

 

महासंघका लागि एसोसिएट व्यवसायिक संगठन भएपनि त्यसको मुद्धा उठाउन महासंघ चुकेको उनले बताए । ‘अनलाइन नयाँ युगको पत्रकारिता हो’ उनले भने,‘अब अनलानइले नै पत्रकारिताको लिड गर्छ’ महासंघमा एसोसिएटको इज्जतदार प्रतिनिधित्व हुनुपर्ने उनले बताए । ‘कल्याणकारी कोष चाहिन्छ’उनले भने,‘तर बाध्यकारी होइन आवश्यकताका आधारमा अघि बढाइनुपर्छ ।’ 

 

महासंघलाई दलीय छाँयाबाट मुक्त गर्दै पेशागत शुद्धीकरण गर्ने अध्यक्षका उम्मेदवार बुढाथोकीले बताए। ‘फलानो पार्टीको पत्रकार भनेर चिनिनु हुन्न’ उनले भने,‘ पत्रकार व्यवसायिक हुनुपर्छ, दलले छान्ने व्यवस्था हट्नुपर्छ ।’ 

 

अध्यक्षका प्रत्यासी बुढाथोकीले पत्रकार महासंघको निर्वाचनमा दलको सिन्डिकेट तोडिनुपर्ने बताए। ‘महासंघलाई ट्रेड युनियन अधिकारसहितको रिफर्म गर्न आवश्यक छ’,उनले भने,‘पेशागत र सामाजिक सुरक्षाका लागि क्रियाशील हुनुपर्छ ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार