• बिहीबार १-२-२०७८/Thursday 04-15-2021
डबली

संस्कृत, नेपाली, तथा अंग्रेजी तीन भाषाको पुस्तक ‘वृद्धौपनिषद् [UPANISHAD OF SENIOR CITIZENS]

सुजन तिमल्सिना, काठमाडौं । पुस्तक पसलमा उपलब्ध पुस्तक ‘वृद्धौपनिषद् [UPANISHAD OF SENIOR CITIZENS] तीन भाषामा समेटिएको छ । श्री नारायण प्रपन्नाचार्य कौशिकले लेखेको यो पुस्तकमा संस्कृत, नेपाली, तथा अंग्रेजी तीन भाषामा श्लोक र त्यसको अर्थ दिइएको छ । पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा सहज, प्रष्ट र सरलतापूर्वक पढ्न सकिन्छ । 

 

धर्म, संस्कार, संस्कृति र संरचनालाई सरल, सरस भाषा शैलीमा उक्त पुस्तक ‘एजिङ नेपाल’ काठमाडौंले प्रकाशन गरेको हो । ०७७ सालमा प्रकाशित पुस्तकको यो दोस्रो संस्करण हो । पुस्तकको मूल्य दुई सय रुपैयाँ छ । पुस्तकमा जन्मदेखि मृत्यु पर्यन्तका सबै कुराहरूलाई सरल तरिकाबाट सप्रमाण सबैले बुझ्ने गरि प्रष्ट्याइएको छ ।

 

लेखक नारायण प्रपन्नाचार्यका दर्जनौं कृतिहरू प्रकाशित छन् । उनका नैतिक शिक्षा, भागवतालंकार भाग–१ र २, निर्णय सरिता (जुठो सूतक ज्ञान) भक्तितत्व विवेचना, (भावाञ्जलोक) वृद्धौपनिषद दोस्रो संस्करण, व्यावहारिक ज्ञानको चन्द्रालोक, सृष्टि र शरीर, अष्टादश महापुराण दिग्दर्शन, त्रिपिण्डीश्राद्ध पद्धति, कर्तव्य बोध, भागवत कथासार, प्रपन्न पियूष, भागवत सूक्ति सिन्धु आदि प्रकाशित छन् । भागवतालंकार (अन्तिम भाग) श्री वचन भूषण (महाकाव्य) महाभारत संक्षिप्त कथा प्रकाशोन्मुख छन् । ८० पृष्ठको वृद्धौपनिषद्मा जम्मा एकादश अर्थात एघार अध्याय छन् । 

 

नारायण प्रपन्नाचार्यले पुस्तकको सुरूवात यसरी गर्नुभएको छ :

वनवारि विना भूमि नोर्वरा भवति यथा ।

वृद्धाहीन परिवारा जायन्ते समूहस्त्तथा !!

यसको अर्थ जसरी जल र जंगलविनाको जमिन मरूभूमि (अनुत्पादक) हुन्छ, त्यसैगरि बूढाबूढी नभएको परिवार र समाज पनि निरस हुन्छ । [The family and society without senior citizens are unproducative like the land without water and trees.] 

 

यो श्लोकले दिएको सन्देश नेपाली समाजका लागि निकै सान्दर्भिक छ। हिजोआज मानिसहरूले आफूलाई जन्मदिने आमा-बुबाप्रतिको कर्तव्य भुलिसकेको परिप्रेक्ष्यमा यो श्लोकले हामीलाई बूढाबूढी र आमा-बुबाविनाको हाम्रो समाज सधैं निरर्थक र निरस हुने बताउँछ ।


दोस्रो श्लोक  
सूर्य विना यथा दिनं, हिमालय विना जलम् । 
तथा ह्यसम्भवंराष्ट्रं वृद्धा विना परिर्गृहम् । 

अर्थात सूर्यविना दिन हिमाल विना पानी सम्भव नभए जस्तै बूढाबूढी नभएको परिवार र समाज एवं राष्ट्र पनि असम्भव अर्थात निरर्थक हुन्छ ।  

 

मानिसले आफ्नो आयु सकिनु अगाडि नै आत्मचिन्तन गर्न जरूरी छ । सृष्टिको सुरूवातमा धेरै ऋषिमुनिहरू थिए । उनीहरु तपस्वी, सत्कर्मी, शक्तिशाली थिए । ऋषिमुनिहरुको संख्या कम हुँदै गएपनि उनीहरुका चिन्तनहरू भने अझै बाँकी रहेका छन् । हामीले वृद्धौपनिषद् पल्टायौं भने ऋषिमुनिहरुका ती चिन्तन र ज्ञान सहजै बुझ्न सक्छौं । 

 

पुस्तकमा यस चराचर जगतको पनि कल्याणका निमित्त यस सृष्टिको कल्याणका निमित्त केही महत्त्वपूर्ण हरफहरू उद्धृत गरिएका छन् । 


सह नाभवतु सहनौ  भुनक्तु । सहवीर्यं करवावहै । तेजस्विनावधीतमस्तु । मा विद्वषावहै ।


हामी सबै सधैं सँगै रहौँ, सँगै खाऊँ, सँगै पराक्रम गरौँ । हामी सबै अध्ययनमा तेजस्वी रहौं र झगडा नगरी मित्रवत व्यवहारले अघि बढौं । 


इशानस् प्राणदस् प्राणो ज्येष्ठस्श्रेष्ठस् प्रजापति ।

हिरण्यगर्भो भूगर्भो माधवो मधुसूदनस् ।

अर्थात इशान, प्राणदाता, प्राण, ज्येष्ठ, श्रेष्ठ, प्रजापति, हिरण्यगर्भ, भूगर्भ, माधव र  मधुसूदन यी सबै सबै नामहरू भगवान विष्णुका हुन् । जेष्ठ नाम भगवान विष्णुको रहेका हुनाले विश्वको कल्याण र वृद्धि हुने कुरामा हाम्रो दुईमत छैन । 

 

पुस्तकमा उल्लेख गरिएका श्लोकहरू आफैंमा महत्त्वपूर्ण छन् । पुस्तकले एउटा मानिस र उसको व्यक्तित्व कस्तो हुनुपर्छ चित्रण गरेको छ । पुस्तकको केही अंशहरूले मानिसको जीवनमा केही परिवर्तनात्मक सोचको परिकल्पना गर्न बाध्य बनाउने ठहर गर्न सकिन्छ । जस्तो कि एउटा श्लोकमा भनिएको छ । आफ्ना महान आमाबुबालाई जीवित हुदाँ पेट भरिने गरि पनि खान नदिने छोराछोरीहरूले बुबाआमाको देहावसानपश्चात् पिण्डदान गरेर जति नै  धर्मकर्म कमाउन खोजे पनि बुबाआमाको नाममा जति नै दानदक्षिणा गरे पनि त्यसले कुनै अर्थ राख्दैन र फल मिल्दैन । 

 

जीवन च क्षुधातीर्षारोग व्याधिस् प्रपीडिते ।
मृतेच पिण्डदानेन व्यर्थं भवति निश्चितम् ।

अर्थात जीवित अवस्थामा भोकतिर्खाबाट तड्पाएर रोगले सताउदाँ पनि नहेर्नेले मरेपछि पिण्डपानी दान गरेको व्यर्थ हुन्छ । उक्त पुस्ततको सारांश मानिसको प्राण, जन्मपश्चात् मृत्युपर्यन्त हामीले भगवान विष्णुको सामिप्यताका लागि प्रयास गर्नु अत्यन्त जरूरी छ र परमेश्वर परमात्माको प्राप्ति भनेकै भगवान विष्णुको सामिप्यता हो भनेर बताइएको छ । त्यस्तै पुस्तकको अन्तिम श्लोक यस्तो छ । 

 

यावन्नजायते प्राण तावत्तत्व सम भ्यसेत ।
चिन्तायेद् व्यापक विष्णु ततो मोक्षलभेज्जनस् ।

अर्थात् -जबसम्म प्राण जाँदैन तबसम्म तत्वको अभ्यास गर्दै विश्वव्यापी श्री  विष्णुको चिन्तन गर्नु त्यसैले सर्वार्थ सिद्ध मोक्ष गराउँछ ।

 

प्रणित समाजका ज्येष्ठ र श्रेष्ठ अभिभावकहरूलाई सम्मानपूर्वक सम्बोधन गरिएको र धारिलो चिन्तनयुक्त वृद्धौपनिषद नेपाली काव्य जगतको एउटा नविनतम दर्शन हो भन्न हिचकिचाउनु पर्दैन। यथानाम -तथावस्तुको रूपमा सृष्टि भएको यस पुस्तकले मानवजातिलाई उपकृत गर्दै नविनतम चेतनाको अभिवृद्धि गर्नेछ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार