• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

ताइवानमा रेल दुर्घटना, दर्जनौँको मृत्यु

काठमाडौं । ताइवानमा झन्डै ५०० यात्रु सवार एउटा रेल सुरुङभित्र पटरीबाट बाहिर निस्किएपछि भएको दुर्घटनामा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा दर्जनौँ मानिसहरू घाइते भएका छन्।

 

ताइवानको केन्द्रीय आपत्कालीन सेवा निकायका अनुसार उद्धारकर्ताहरूले नराम्रोसँग क्षति पुगेका डिब्बासम्म पुग्न ठूलो सङ्घर्ष गर्नुपरेको थियो। उक्त रेल राजधानी ताइपेईबाट ताइतुङतर्फ गइरहेको थियो।

 

सप्ताहव्यापी वार्षिक बिदाका लागि बाहिर जान लागेका मानिसहरू उक्त रेलमा यात्रा गरिरहेका थिए। रेल भरिएको हुनाले धेरै मानिसहरूले उभिएर यात्रा गरेको हुनसक्ने बताइएको छ। उक्त रेल प्रतिघण्टा १३० किमोमिटर को गतिमा कुद्न सक्ने क्षमताको थियो।

 

उक्त रेल स्थानीय समयानुसार बिहानको ९ बजे पटरीभन्दा बाहिर निस्किएको ठानिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार निर्माणकार्यमा प्रयोग भएको एउटा सवारीसाधन रेलमार्गमा आएपछि उक्त दुर्घटना भएको हो।

 

अनलाइनमा राखिएका तस्बिरहरूमा प्रभावित नभएका डिब्बाका यात्रुहरू आफ्नो समान लिएर रेलको पटरीमा हिँडिरहेको देख्न सकिन्छ। "मैले अकस्मात् एउटा शक्तिशाली कम्पन महसुस गरेँ अनि आफूलाई भुइँमा लडिरहेको अवस्थामा पाएँ," नाम नखुलाइएकी एक यात्रुले ताइवानको यूडीएन सञ्चारमाध्यमलाई भनिन्।

 

"हामीले रेलको छानोसम्म पुगेर बाहिर निस्किनका लागि झ्याल फुटायौँ।" शुक्रवारको दुर्घटनालाई उक्त टापुमा भएको दशकौँयताकै एउटा सबैभन्दा नराम्रो रेल दुर्घटनाका रूपमा लिइएको छ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार