• बिहीबार १-२-२०७८/Thursday 04-15-2021
बिश्व

राजकुमारहरूको 'यौन भोक बढाउन' दुर्लभ पन्छीको सिकार

काठमाडौं । सन् १९८३ मा दक्षिणपश्चिम पाकिस्तानको एउटा सानो तटीय नगर पास्नीस्थित गाडी भाडामा दिने एउटा कार्यालयमा दुई सैनिक अधिकृत आए।

 

एक जनाले कार्यालयका साहूलाई सोधेस् 'के तपाईँसँग राम्रो कार छरु हामीलाई एक अरब शेखलाई पान्जगुर लैजानुछ।' उनले छ भने अनि आफ्नो छोरा हनिफलाई गाडी देखाउन अह्राए।

 

उक्त गाडी राजकुमार सुरुर बिन मोहम्मद अल-नाह्यानको निम्ति थियो। उनी संयुक्त अरब इमिरेट्सका छ राजपरिवारहरूमध्ये एउटाका सदस्य थिए। उनी हुबारा बस्टार्ड नामक दुर्लभ पन्छीको सिकार गर्न पास्नीबाट १०० किलोमिटरभित्र पान्जगुर जान चाहन्थे। उक्त पन्छीको मासुलाई कतिपयले यौन उत्तेजक औषधि ठान्छन्।

 

शेखलाई गाडी मन पर्‍यो। अनि उनले त्यतिखेर ३१ वर्षका हनिफलाई पनि सँगै लगे। हाल हाजी हनिफ भनेर चिनिने हनिफको त्यो बेलादेखि लामो मित्रता सुरु भएको थियो। सैँतीस वर्षदेखि अहिलेसम्म पनि हरेक वर्ष हुबाराको सिकार गर्न आउने राजपरिवारका सदस्यहरूलाई उनी सघाउँछन्।

 

लजालु स्वभावका यी पन्छी आकारमा टर्की चराजत्रै हुन्छन्। यिनको सङ्ख्या लगातार घटिरहेको छ त्यसैले यिनको सिकार विवादास्पद बनेको छ ( तर अझै पनि रमाइलोका निम्ति तिनको सिकार गरिन्छ।

 

पाकिस्तानका शक्तिशाली स्वार्थ समूहहरूले यो गोप्य रूपमा गरिने सिकारको समर्थन गर्छन्। दशकौँदेखि चलिरहेको यस्तो सिकारलाई खाडीका धनी देशका प्रभावशाली व्यक्तित्वहरूसँग सम्बन्ध विस्तारको एउटा माध्यम बनाइएको छ। यस्ता सिकारको समर्थन गर्नेहरूले यसबाट रोजगारी तथा लगानी भित्रिने तर्क गर्छन्।

 

तर यसबाट पाकिस्तानले खासमा के फाइदा पाउँछ भन्ने प्रष्ट छैन। सिकार अभियानमा सामेल केहीका अनुसार राजपरिवारका सदस्यहरूले यस्ता भ्रमणलाई केवल व्यक्तिगत मनोरञ्जनको रूपमा लिन्छन्।

 

प्रत्येक वर्ष नोभेम्बर र फेब्रुअरीको बीचमा हाजी हनिफले बलोचिस्तान प्रान्तस्थित रणनीतिक महत्त्वको ग्वादार बन्दरगाहबाट पूर्वतर्फ एक घण्टाको दूरीमा रहेको सो स्थानमा शाही समूहहरूको स्वागत गर्छन्।

 

यो जाडो यामको सिकार मौसम सकिनुअघि उनले बीबीसी लाई डाकेर राजपरिवारहरूका निम्ति उनी तथा उनका कर्मचारीहरूले गरेका मिहिन तयारी देखाएका थिए। स्थानीय मानिसहरूलाई अझै पनि आधारभूत सुविधा नै उपलब्ध हुन नसकेको पास्नीजस्तो स्थानमा उनीहरूका निम्ति विलासितापूर्ण तयारी भएको देखिन्छ।

 

हामीलाई दुईजना मानिसहरूले भेटेर एअरपोर्ट रोडबाट केही किलोमिटर पर रहेको हाजीको भव्य महलतर्फ लगेका थिए। ती मानिसहरूको जीप यूएईमा दर्ता भएको देखिन्थ्यो। हामीलाई त्यहाँ पुग्दा अबु धाबीकै कुनै ठाउँमा पुगेको जस्तो अनुभूति भयो। त्यो अनुभूति त्यतिखेर झनै बलियो भयो जतिखेर हामीले त्यहाँको घरमा प्रवेश गर्ने बेला अबु धाबीका राजपरिवारको सङ्केतचिह्न देख्यौँ।


सिकार गर्न आउने राजपरिवारका सदस्यहरूले दर्जनौँ स्थानीय मानिसहरूलाई रोजगारी दिन्छन्। हामी त्यहाँ पुग्दा शेखको फाल्कन चरा व्यवस्थापनमा व्यस्त केही पुरुषहरू देख्यौँ। अरू मानिस चाहिँ भान्साकोठा सफा गर्दै थिए वा त्यहाँको ग्यारेजमा राखिएका गाडीहरूको मर्मत गर्दै थिए।

 

खाकीको पोसाक लगाएका एक जनाले हामीलाई अतिथि गृहमा लगे जहाँ अत्तरको मगमग सुगन्धले हाम्रो स्वागत गर्‍यो। 'हाम्रो महल कस्तो लाग्यो' सोफामा बसिरहेका हाजी हनिफले सोधे। अहिले ६० वर्षको उमेर कटेका हाजी निकै रोचक कुरा गर्छन्। वरपर देखाउँदै उनले वर्षौँदेखि भएका शेखहरूको भ्रमणको वर्णन गरे।

 

'त्यो बेला हामीले उनलाई गाडी उपलब्ध गरायौँ। त्यसपछि उनी फेरि हामीकहाँ आए। सन् १९८८ तिर आइपुग्दा म र मेरा बुवाले शेखका निम्ति २० वटा गाडीहरू व्यवस्थापन गर्न थाल्यौँ। उनले हामीलाई विश्वास गरे।'

 

पास्नीका निम्ति त्यस्ता भ्रमणले करिब ३५ जना स्थानीय बासिन्दालाई रोजगारी दिलाएको छ। भ्रमण हुनुभन्दा तीन महिना अगाडिदेखि उनीहरूको काम सुरु हुन्छ। फाल्कन चरा तथा परेवाको हेरचाह गर्ने, तिनलाई प्रशिक्षण दिने काममा कतिपय लाग्छन् भने तीन जना त शेखका निम्ति उमारिएका कागतीको बगैँचाको रेखदेखमा खटिन्छन्। लुगा धुनका निम्ति अर्का एक जना खटाइएका छन्।

 

अरूहरू खाना पकाउने तथा सरसफाइमा सहभागी हुन्छन्। एकजना मानिसलाई मोटरसाइकलमा चढेर वरपर नजिकै कतै हुबारा बस्टार्ड पन्छीहरू छन् कि भनेर हेर्न खटाइन्छ। त्यसो गर्दा शेखहरूले सिकारका निम्ति टाढा जान पर्दैन।

 

हाजी हनिफका तीन छोराले पनि उनलाई सहयोग गर्छन्। जेठा छोराले ग्यारेज तथा शेखका निम्ति जुटाइएका २० वटा एसयूभी गाडी रेखेदेख गर्छन्। माहिला छोरा उनका अङ्गरक्षक हुन् र सुरक्षा मामिला हेर्छन्। कान्छाले चाहिँ स्थानीय मानिसहरूले हुबाराको सिकार नगरून् अनि तिनको विक्रीवितरण नगरुन् भनेर निश्चित गर्ने कार्य गर्छन्।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार