• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

जब उडिरहेको विमानबाट इन्जिनका टुक्राहरू खस्न थाले...

काठमाडौं । अमेरिकाको डेन्भर सहरमा आकाशमा उडिरहेको एउटा बोइङ जेटबाट बिग्रिएको इन्जिनका भग्नावशेषहरू आवासीय क्षेत्रमा खसेका छन्। उड्ने बित्तिकै उक्त विमानको एउटा इन्जिन बिग्रिएको थियो।

 

दुई सय ३१ जना यात्रु र चालकदलका १० सदस्यसहित उडेको बोइङ ७७७ विमान सुरक्षित रूपमा डेन्भर विमानस्थलमा अवतरण गर्न सफल भएको थियो। कोही घाइते भएका खबर छैन।

 

ब्रूमफील्ड सहरको प्रहरीले सार्वजनिक गरेका तस्बिरमा एउटा घरको बगैँचामा इन्जिनको टुक्रा खसेको देखिन्छ। विमानमा रहेका यात्रुहरूले उडेको केही बेरमा एउटा 'ठूलो विस्फोटन' आफूहरूले सुनेको बताएका छन्।

 

यूनाइटेड एअरलाइन्सको उक्त विमान होनोलुलुतर्फ जाने क्रममा दायाँतर्फको इन्जिनमा समस्या देखिएको अमेरिकाको सङ्घीय उड्डयन निकाय एफएएले जनाएको छ।

 

विमानमा रहेका एक यात्रुले एपी समाचारसंस्थालाई बताए अनुसार विस्फोटनका बेला विमान चालकले एउटा सूचना दिइरहेका थिए। डेभिड डेलुसियाले भने, 'विमान डरलाग्दो गरी हल्लिन थाल्यो र हामीले उचाइ गुमाउन थाल्यौँ अनि हामी तल झर्न थाल्यौँ।'

 

तल खसेर दुर्घटना भइहाल्यो भने आफ्नो पहिचान हुन सकोस् भनेर आफू र आफ्नी पत्नीले गोजीमा पर्स राखेको उनले सुनाए। उक्त घटना स्थानीय समयानुसार शनिवार दिउँसो १ बजेभन्दा केही बेरपछि भएको हो।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार