• बुधबार ११-१९-२०७७/Wednesday 03-03-2021
डबली

कविता : श्रीजङ्गा एक जिउँदो आत्म

केराको मात माथि छर्केर आछेता
बुझाएर नाहेनको भाकल
पुकारेर नदी नाला र सिमेभूमें
उनीहरुले मनाएका थिए प्रकृतिलाई
र गरेका थिए एउटा आदीवासी बस्तीको सृष्टि।

 

उहिले नै उत्पत्तिमा। 

 

मान पुराएर ढुडामुढालाई
उनीहरुले छेकेका थिएँ दुश्मनको आँखीडैनी
र सुरक्षित राखेका थिए आफ्नो वंश।

 

सालौ साल अघाडी नै। 

 

मुन्धुमले भन्छ 
उनीहरु युमारयाक्खामा थिए।

 

जुन बेला उदाएको थिएन 
फक्ताङलुङको शीर माथि घाम
हावाहुरी चलिरहेको थियो पृथ्वीमा
तागेरानिवाभूमाङ कतै 
बास बसेका थिए प्रकृतिको याक्शातिर।

 

भलपह्रिरोको चपेटमा थियो पृथ्वीलोक। 

 

त्यसैको छेक पारेर
रोपेका थिए बालबच्चा बचाउँन 
मुन्धुम फलाकेर एक्लै हिँडेको 
श्रीजङ्गाको छातीमा भाला। 

 

दुश्मनहरुको खुनी हातले।

 

खुन पच्छे भएर 
भूँइमा ढले पछि श्रीजङ्गाको शरीर 
उनीहरुले सम्झेका थिए 
कि यिनीहरुको धुरी खम्बा ढल्यो
कि यिनीहरु अब अनाथ भए। 

 

मारिएको त श्रीजङ्गा न थियो 
तर जिउँदो थियो उनको आत्म/उनको साका।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार