• बुधबार ११-१९-२०७७/Wednesday 03-03-2021
डबली

‘खुसीले झर्ने आँसुको त कुरा अर्कै भयो’ 

आँसु के होला ?
सामान्य भाषामा आँसु आँखाबाट खस्ने तरल पदर्थ हो। तर आँसुको गहिराई नाप्ने हो भने यो अति नै खतरनाक चिज पनि हो। अझ भनौँ गहिरो पीडासँग संवाद गर्ने एक बलियो हतियार हो आँसु। खुसीले झर्ने आँसुको त कुरा अर्कै भयो ।


पहिलो पटक आँसु आएको कुनै सम्झना छ ?
वाल्यकालमा आफ्नो माग पूरा नहुँदा बाआमा सँग खुब आँसु झारेर रोइयो होला नि । तर तपाईंको प्रश्नको आशय पीडा वा शोकको रुवाई हुनुपर्छ । त्यसो हो भने आजभन्दा १८ वर्ष पहिलेको घटना सम्झिन्छु म। मेरो दिदी १७ वर्ष कि हुनुहुन्थ्यो। बिहे गरेको वर्षदिन मात्रै कटेको थियो, भर्खर एक छोरी जन्मिएको खुसीयाली चलिरहेको थियो। त्यही वेला टिप्पर दुर्घटनामा परेर भिनाजु बित्नुभएको खबर आयो। त्यसपछि दिदीको त्यो मुर्छनाले यत्तिसम्म पीडा दियो कि आँसुको त भेलै बग्यो त्यो समय। कयौँ दिनसम्म निरन्तर आँसु बगिरह्यो । सम्झिँदा अहिले पनि मुटु चिसो हुन्छ र आँखा रसाइहाल्छ । 


रोइसकेपछि कस्तो महसुस हुन्छ ?
रुवाइ पीडाको मल्हम पनि हो। रुवाइ र आँसुको त अनगिन्ती अनुभूति छन् मसँग। बेस्सरी रोइसकेपछि आँखा त दुख्छ नै, त्यो सँगै मन एक प्रकारको हलुका पनि हुन्छ। 


आँसु झर्न सघाउने कुनै विशेष परिवेश वा कारण हुन्छ ?
आँसुको विशेष कारण त पीडा तथा शोक नै हो। कहिलेकाही स्याड गीतहरु सुनेर नी रुन्छु म त । आफूले आनुभूत गरेका समय, घटना र परिघटनाले नै त हुन् आँसु झार्दिने पनि। 


सबैभन्दा धेरै रोएको कुनै घटना वा समय छ र ?
त्यस्तो एउटा घटना त माथी भनिसकेँ मैले। अर्को चाहिँ २०६४ सालमा मेरो बाबा बित्दा म धेरै रोएँ। क्यान्सरको पीडाले छट्पटिरहनु भएको मेरो बाबालाई ३ महिना अस्पताल राख्दा मेरो आँखा कहिल्यै ओभानो थिएन । अब बाबा बाँच्नुहुन्न, मन लागेको कुरा खान दिनुू भन्ने डाक्टरको भनाईले म बेस्सरी भत्किएँ र जिन्दगीमै धेरै त्यही दिन रोएँ । 


किन आउँछ होला आँसु ?
आँसु त चोट, पीडा र दुखले नै आउने कुरा हो। कहिलेकाही खुसीमा पनि आँसु आउँछ । पीडामा झर्ने आँसु र खुसीमा झर्ने आँसुको कहीँ कतै तुलना गर्न भने सकिन्न । मेरो चाहिँ प्राय अरुको पीडा देख्दा, सुन्दा नै बढी आँसु झर्छ ।


आँसु आएको बेला, जोसुकैको किन नहोस्, बिसाउने काँध चाहिन्छ भन्छन् । चाहिन्छ र ?
काँध त चाहिन्छ होला । तर कुनै पनि कुरा छ भने त  चाहिने हो । बिसाउने काँधै छैन भने त एक्लै रुनुको विकल्प छैन। म कयौँ पटक ढोका थुनेर चिच्याएर रोएको छु, तर सँधै एक्लै रोएको छु। कतिपय पीडा परिवार र साथीभाइलाई शेयर गर्न मन लाग्दैन। मेरो खुसी नचाहनेहरुका लागि आँसु मेरो कमजोरी बन्दिन सक्छ । त्यसकारण मेरो लागि, मलाई रुन काँध चाहिएको उदाहरण छैन।


आँसु र खुशीमा के फरक होला ?
आँसु र हाँसो दुबै मानव जीवनको विभिन्न कालखण्डमा आइरहने कुरा हुन् । खुसी हुनलाई हाँसो आवश्यक छ भने मन बहलाउन र पीडा कम गर्न आँसुको आवश्यक छ । 


आँसुको बाँध भत्किएपछि कतिञ्जेल झरिरहन्छ तपाईँको आँसु ?
यति नै समय झर्छ आँसु भन्ने नै छैन । हास्दा जसरी खुलेर हाँसिन्छ म रुँदा पनि धित मर्नेगरी रुन्छु । कहिले त महिनौँसम्म पनि आँखा नओबाउने गरी आँसुले मेरो साथ छोडेको थिएन । रोइरहन मन लाग्ने अर्थात आँसुको नशा थियो मसँग कुनै बेला । तर त्यो रुवाइले अहिले मलाई दह्रो बनाएको छ। 


मायाप्रेमका प्रसङ्गले रुवायो कहिलेकाहीँ ?
प्रेम गर्नै नजान्ने मान्छे सायद मै हुँला। प्रेमको सोसाइटीभित्र म बस्नै सकिनँ। त्यसको मतलब मैले चाहेको प्रेमसँग अहिलेसम्म मेरो भेट भएको छैन। प्राप्ति र वासनालाई मैले प्रेम मान्न सकिनँ र त्यसबाट आउने दुर्घटनाबाट टाढै बसेँ । त्यसर्थ मायाप्रेमका प्रसङ्गमा म रोएको खासै याद छैन।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार