• बिहीबार ११-२०-२०७७/Thursday 03-04-2021
विचार

सैनिक शासन र वर्माको दुर्भाग्य

वर्माको धर्म र संस्कृतिमा भारतवर्ष, चीन–तिव्वत र प्राचिन थाइल्याण्डको ठुलो प्रभाव परेको छ। दक्षिण एसियालाई पौराणीक कालमा भारतवर्ष भनिए झैं म्यान्मा पनि दक्षिण पुर्वी एसियाका त्यस्तै ऐतिहासिक महत्व बोकेको मुलुक हो भने हाल यो एसिया कै दशौँ ठुलो देश पनि हो। निकै गौरवशाली, लामो र पुरानो इतिहास बोकेको म्यानमार यानी वर्मालाई पनि नेपाललाई झैं ब्रिटिशहरुले १८औँ शताव्दिमा टुक्राइ दिएका थिए भने पछि यो मुलुकलाई आफ्नो साम्राज्य भित्र नै गाभेर करिव ६३ वर्ष शासन गरे । ब्रिटिश शासन भन्दा पहिले आजका भारतका आसाम र मणीपुर पनि वर्मेली सिमा भित्र परिसकेका थिए। तर इष्ट इण्डिया कम्पनीले तेश्रो पटकको युद्ध मार्फत सन् १८८५ मा पुरै वर्मालाई आफ्नो अधिनमा पार्नु भन्दा पहिले यस्ता निकै भू—भागहरु टुक्राएर ब्रिटिश भारतमा समाहित गर्‍यो। ब्रिटिश शासनको विरोधमा दोश्रो विश्वयुद्ध ताका जापानलाई सघाउने भारतीय नेता सुभाषचन्द्र वोश जस्तै वर्मामा पनि आङ सान तथा बा माव जस्ता क्रान्तिकारी नेताहरु ठुलै सेना खडा गरेर लडिरहका थिए भने वर्माका विभिन्न जातीय समूहहरु तथा भारतीय र गोर्खालीहरुलाई आफ्नो फौजमा भर्ती गरेर ब्रिटिश सेना पनि वर्मेली लडाईको मैदानमा उत्रेको थियो ।

   

धेरै प्रकारका जातीय समूहहरुको बसोबास भएको यो देश सन् १९४८ मा ब्रिटिश शासनबाट मुक्त भएर स्वतन्त्र राष्ट्र हुनुका साथै सेनाले सत्ताको स्वाद चाख्नु भन्दा अघिसम्म यहाँ तीनपटक आम चुनाव भएका थिए। तर विगतमा धेरै चोटी बन्दुक र लडाईमा रुमल्लिन वाध्य भएको यो मुलुकमा प्रजातन्त्र धेरै समयसम्म टिक्न सकेन। वर्मामा भएका विभिन्न जातीय समूहहरु बिचको सशस्त्र लडाई तथा विश्वमा आएको रुसी समाजवादी क्रान्तिको फाइदा उठाएर नै २ मार्च १९६२ मा नेविनको नेतृत्वमा वर्मामा सैनिक शासनको शुरुवात भयो भने यस्तो प्रत्यक्ष सैनिक शासन र बाँकी विश्वबाट टाढा रहने क्रम सन् २०११ सम्म जारी रह्यो । सोभियत शैलीको समाजवादको नाराका साथै अर्थतन्त्रका सबै क्षेत्रहरु राष्ट्रियकरण गरिए भने विस्तारै वर्मा विश्वका अन्य मुलुकहरुबाट अलग्गिँदै गयो। प्रचुर प्राकृतिक श्रोत तथा साधन भएको, कृषि र उद्योगमा विशाल सम्भावना भएको र लामो इतिहास बोकेको मुलुक वर्मा विस्तारै घडीको सुई रोकिए झैं रोकिन थाल्यो। विकास, निर्माण र औद्योगिकरण तथा नयाँ सोच सबैले विश्राम लिन थाले। तथाकथित समाजवादी सैनिक शासन शुरु भएको ठ्याक्कै १५ वर्ष पुग्दा २७ मार्च १९७७ मा मेरा पिताजी लगायत तत्कालिन राष्ट्रिय योजना आयोगको एक उच्च स्तरीय टोली वर्मा हुँदै चीनको भ्रमणमा निस्किएको रहेछ। त्यति नै बेला मेरा पिताजीले आफ्नो दैनिक डायरीमा आफुहरुले गरेको वर्माको राजधानी रंगुनको दुई दिने छोटो भ्रमण वारे लेख्नुभएको तथ्य तल प्रस्तुत छ ।

 

२७ मार्च १९७७ । १२ बजे थाई इन्टरनेशनलको विमान चढ्यौँ हामी योजना आयोगका चीन जाने प्रतिनिधी मण्डल। घर नछाडेसम्म टेन्सन, त्यसपछि एक सुर लाग्छ । वर्मा माथि उड्न थालेपछि तल तल उत्रेकोले सब देखिन थाल्यो। २ः१५ मा विमान रंगुन विमानस्थलमा उत्रियो। उजाड जस्तो। १९४० ताकाको वातावरण। एयरपोर्टमा हप्प गर्मी। टर्मिनल भवन सुनसान। अत्यन्त मन्द काम कारवाही । सुरक्षाको ज्यादै बढी व्यवस्था । नेपाली राजदुत र राजदुतावासका मान्छेहरु आएर सबै विधि पुर्‍याउँदा पनि विमानस्थलबाट बाहिर निस्कन डेढ घण्टा लाग्यो । हामी हाम्रो होटल “इन्या लेक” तिर प्रस्थान। शहर पुरानो खालको रहेछ । ज्यादै खाली र ड्वाङ ड्वाङ्ती होटल । यो होटेल रुसीहरुले बनाइदिएका रहेछन् । रुसी ढाँचाको थियो। सर्भिस रद्दी । कोठामा खानेपानीको अभाव । स्नान गरेँ । वुशशर्ट र प्यान्ट लगाएर लब्बीमा गएँ । केहीबेर होटलको बगैँचा र स्विमिङ पुलतिर डुलेँ । बेलुकीपख स्वेडागोन पेगोडा जाने कार्यक्रम । वर्मेली स्त्री–पुरुषको घुइँचो । लिफ्ट चढेर मन्दिर माथि गयौँ । स्वयम्भू जस्तै । तर भव्य, विशाल । दशौँ हजार मान्छेले मज्जासँग घुम्न मिल्ने । सुनको अग्लो मन्दिर। मन्दिरको एक चक्कर घुम्न १ घण्टा लाग्यो र वर्मेली भक्तजनहरु देख्यौँ ।

 

त्यहाँ पछि शहरको मुख्य बजार लगे । १९४० ताकाको कलकत्ता जस्तो। सब पुराना, ब्रिटिश कोलोनियल टाइपका घर । आज “आर्मी डे” रहेछ । बत्तीको झिलिमिली । आतिसवाजी भइरहेको। अर्को वुद्ध मन्दिर पनि गयौँ । ऐना ऐनाको सजावट। शीशमहल जस्तो। बजारको जीवनस्तर भारतको जस्तै । फेरि बजार डुल्यौँ । अनुमान गरे भन्दा भने रंगुन बढी ठुलो लाग्यो। तर समय बन्द भएको ठाउँ जस्तो । शहरको बाहिरी भाग भने खुला, चौडा सडक, १९५० ताकाको वैंकक जस्तो । बेलुकी उस्तो गर्मी थिएन । राजदुतावासमा डिनरको लागि गयौँ । पुरानो खालको घर रहेछ । थोत्रो बाथरुम । नेपालीहरुको गाना–बजाना भयो । आफ्नो पुर्खौली मुलुक नदेखेका, खाली बाबु–बाजेबाट सुनेका प्रवासी नेपालीहरु ।

 

भेलिपल्ट होटलको नास्ता पश्चात वन्दरगाह र बजार गयौँ । रंगुन नदीमा साना साना जहाजहरु । अग्ला राम्रा घर एउटा पनि थिएनन् । टिपिकल ब्रिटिश कोलोनियल ढाँचाका घरहरु । पुरानो, थोत्रो जस्तो सबै कुरा । बजारमा टहल्यौँ । जर्जर र वम्वई, कलकत्ताको पुरानो भाग तिर जस्तो । पसलहरु गोरखपुरको पुरानो भाग र नौतनवा जस्तो, रक्सौल जस्तो । वीरगञ्ज जस्तो । रिक्सै रिक्सा । बस र रिक्सा पनि थोत्रा । होटल आएर प्याकिङ सकेर विमानस्थलको लागि रवाना । दुतावासको ड्राइभरलाई टिप्स दिएँ । वर्मा मै जन्मेको, हुर्केको वडो भलाद्मी नेपाली । १ः४५ बजे चीनियाँ विमान कुनमिङको लागि उड्यो । रंगुनको विहंगम दृश्य देख्यौँ । नयाँ र आधुनिक किसिमको संरचना केहि पनि देखिन्नथ्यो । कलकारखानाहरु पनि उस्तो देखिन्नथ्यो । विगत २०–३० वर्ष वर्मामा केहि पनि निर्माण र विकास भएनछ जस्तो लाग्ने ।

 

कठोर सैनिक शासनको विरोधमा बेला बेलामा आयोजना गरिएका सबैजसा आन्दोलन तथा विरोध कार्यक्रमहरुलाई निर्ममतापुर्वक दबाइयो । मुलुकको नाम सन् १९८९ मा म्यानमार राखियो भने राजधानी याङ्गुन भयो । तर नाम मात्र बदलिए पनि यहाँको राजनीतिक व्यवस्था बदल्न विश्वमा नै आएको प्रजातन्त्रको लहर पनि निकै समयसम्म असफल नै रह्यो । सन् १९९० मा निकै ठुलो संघर्ष पश्चात भएको आम निर्वाचनमा आङ सानकी छोरी आङ सान सुकीको नेशनल लिग फर डेमोक्रेसीले ८० प्रतिशत भन्दा बढी सिट जितेको भए पनि सेनाले शक्ति हस्तान्तरण गर्न नचाहेर आफ्नो शासन कायमै राख्यो। धेरै किसिमका प्राकृतिक प्रकोपहरु झेलेको मुलुकमा विभिन्न प्रकारका जातीय अल्पसंख्यकहरुले आफ्नो हक हितको नाममा सरकारसँग लड्ने काम आजसम्म पनि गर्दैछन् । बदलिँदो परिस्थिति, आन्तरिक तथा वाह्य दवाव र जनताको विचारको धरातल बढ्दै गएकाले वर्मेली सैनिक शासकहरु सन् २०१० मा पुनः चुनाव गर्न वाध्य भए । क्रमिक रुपले म्यानमारमा मानव अधिकारको सम्वद्र्धन, आर्थिक उदारीकरण, विदेशी पुँजी र प्रविधिको आवागमन, आर्थिक विकास तथा खुलापन बढ्दै गयो । सन् २०१० मा चुनावमा भाग लिन वञ्चित बनाइए पनि २०१२ को मध्यावधी चुनावमा आङ सान सुकीको पार्टीले ४५ मध्ये ४३ सिट जितेर अत्यधिक बहुमतको सरकार बनाउने मौका पायो । सन् २०१५ को आम चुनावमा पनि सु कीको पार्टीले दुई तिहाई सिट जित्न सफल भयो तर उनि विदेशीसँग विहे गरेको व्यक्ति भएको वहानामा उनलाई सरकार चलाउन दिइएन, त्यसैले उनले स्टेट काउन्सिलरको हैसियतले सरकार चलाइन् । 

 

सन् २०१८ मा संयुक्त राष्ट्र संघको उन्नती वित्तिय पहुँच आयोजनाको टोली नेताको हैसियतले मेरो नेतृत्वमा एक टोलीले म्यानमारको अध्ययन भ्रमण गरेको थियो। सो भ्रमणमा जाँदा म्यानमारले आर्थिक विकासका पुर्वाधारहरुको निर्माणमा ठुलै उत्साहका साथ लागेको तथा त्यहाँ भौतिक पुर्वाधारका सयौँ आयोजनाहरु सञ्चालनमा आइरहेको हामीले पायौँ । याङ्गुन तथा अन्य शहरहरुमा आधुनिक बैंकिङ प्रणाली शुरु हुनुका साथै विशाल मल तथा होटलहरु खुल्न थालेका तथा शहरी पुर्वाधारहरुको पनि तिव्र रुपमा विकास हुँदै गरेको हामीले पायौँ । विश्वका नामी बहुराष्ट्रिय कम्पनीहरु पनि म्यानमारमा लगानी गर्न उत्सुक हुँदै त्यहाँ पस्न थालेका कुराले निकै खुशी लागेको थियो। विमानस्थलदेखि नै नयाँ निर्माणको लहरै चलेको, हजारौँको संख्यामा वित्तीय सहकारी र लघुवित्त संस्थाहरु खुलेर साना कृषक र लघु उद्यमीहरुलाई आर्थिक र प्राविधिक सहयोगका साथै वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्न शुरु गरेका र विभिन्न दातृ संस्थाहरुले पनि आफ्ना कार्यालयहरु खडा गरेर म्यानमारको विकासमा साझेदारी र मद्दत गरिरहेको हामीले पायौँ । यी सब कुराहरु प्रत्यक्ष देख्दा मेरो उत्साह निकै बढेको थियो। वर्मामा धेरै नेपालीहरु भएकाले र मेरो प्राथमिक शिक्षा वर्माबाट नेपाल फर्केर विद्यालय खोलेका शिक्षकहरुबाट नै भएकाले होला मलाई वर्माको बिछट्टै माया लाग्छ। यही भ्रमणको अवसरमा मैलै लेखेको पुस्तक “विचार र अनुभूति” को लोकार्पण पनि वर्मेली नेपालीहरुको उपस्थितिमा नेपाली राजदुतावासमा भएको थियो ।

 

यसैगरी सन् २०२० मा भएको आम चुनावमा पनि सुकीको पार्टी अत्याधिक बहुमतले नै विजयी भयो । तर वर्मेली सेनालाई वर्मामा विकास हुँदै गरेको यस्तो प्रजातान्त्रिक फड्कोले खुशी तुल्याएको रहेनछ र त उसले फेरी सैनिक शासनको घोषणा गर्‍यो । विगत दश वर्षमा विकासको ठुलो लहर चलेको र वाह्य विश्वसँग खुला हुदै गएको वर्मा फेरी पछाडी पर्ने त होइन ? भन्ने कुराले निकै पिरोलिरहेको छ। तर अबको सैनिक शासनलाई टिकाएर राख्न भने त्यति सजिलो काम छैन। पहिलेको वर्मेली सैनिक शासनले मुलुकलाई वाह्य जगतबाट निकै टाढा राख्यो, तर अब त्यो सम्भव छैन। वास्तवमा थाइल्याण्डमा पनि अधिकांश समय सेनाले नै राजाको नाममा शासन गरेका छन् । तर उनीहरु मुलुकलाई लगानी मैत्री बनाउने, वाह्य जगतसँग राम्रो सम्बन्ध राख्ने र विकास कार्यमा निकै उत्साही भएकाले त्यहाँ सैनिक शासन भइरहे पनि मुलुक विकासको बाटोमा अघि बढी नै रहेको छ । तर पनि थाइल्याण्डमा प्रजातन्त्रको लागि दिनहुँ संघर्ष भईनै रहन्छ । त्यसैले पनि अब वर्मेली सेनाले प्रजातान्त्रिक शक्तिसँग ताल मिलाएर अघि बढ्नु नै उचित हुनेछ भने प्रजातान्त्रिक शक्तिहरुले पनि सेनाको सबै शक्ति एकैचोटी क्षीण गर्न सकिन्छ भनेर सोच्नु गलत हुन जानेछ। इजिप्ट, पाकिस्तान, वर्मा, थाइल्याण्ड जस्ता सेनाको भूमिका अधिक भएका मुलुकहरुले एक अर्काका ऐतिहासिक राजनीतिक पृष्ठभूमिलाई मध्यनजर गर्दै राजनैतिक पद्धतीलाई सन्तुलित रुपमा अगाडि बढाएर मुलुकको विकासमा सबै क्षेत्रको योगदान हुने प्रणालीको विकास गर्न सक्नुपर्दछ । आजको जमानामा राष्ट्रिय सेनाको भूमिका सिमा सुरक्षामा मात्र सिमित नभई मुलुकको पुर्वाधार विकास, विकास आयोजनाहरुको सुरक्षा, दैवी प्रकोप निवारण, प्राकृतिक श्रोतहरुको संरक्षण, मुलुकको अखण्डता र प्रजातन्त्रको रक्षामा पनि केन्द्रित हुनु अति जरुरी छ ।

 
 लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार