• शुक्रबार ११-१४-२०७७/Friday 02-26-2021
विचार

अखबारको मुख्य पृष्ठका बलत्कारका खबर र शासकको मौनता

हिजो आज बलत्कारका समाचार प्रकाशन प्रशारण सामान्य जस्तै भएको छ। न नीति निमार्ताहरु यस बिषयमा बोल्न तयार छन न त सडकको आवाज सुन्न । अब त यस्तो लाग्न थाल्यो नेताले अखबारमा समाचार हेर्दैनन्, शब्दकोशमा कतिसम्मका गाली गर्ने मिल्ने शब्दहरु छन ती हेर्दै पो छन कि !! एक दिन अघिका प्राय अखबारको पहिलो पृष्टमा मात्रै ३ किशोरी फरक फरक स्थानमा बलत्कारमा परेका समाचार प्रकाशित थिए तर कुनै माध्यमबाट पनि हाम्रो नेतृत्वले यसको बारेमा बोलेन र कुनै माध्यमबाट पनि चासो व्यक्त गरेनन् । पीडितको समस्या सुन्ने त परको कुरा नै भयो ।

 

प्रतिनिधिसभा बिघटन पछि नेपालको राजनीति जटिल मोडमा पुगेको छ । पार्टी चोइटिएको छ घोषणा मात्रै हुन बाँकी हो । एकले अर्कोलाई गाली गर्ने बाहेक पछिल्लो एक महिनामा खासै उल्लेख्नीय बदलाव छैन। हरेक दिन बैदेशीक रोजगारमा गएकाहरुको बाकसमा लाश आउने क्रम डर लाग्दो रुपमा बढेको छ। गरिबी, बेरोजगारी बलत्कारका घटना हरेक दिन बढ्दै गर्दा नेतृत्व भने ‘कहिले हामी यहाँ छौ’ भन्छ । कहिले कार्यकर्तालाई उक्साउन उद्दत हुन्छ । कार्यकर्ता भीडाउँदैमा समाजमा परिर्वतन कदापी हुँदैन । आम-जनमानस कस्तो अवस्थामा छन ती भावनाको सम्बोधन नेतृवले गर्ने आवश्यक मान्दैन । यो समाजमा राजनीतिक कार्यकर्ता मात्रै छन । भोलि जनताका घरमा पुग्नुपर्छ जनताका सवाल उनीहरुको प्राथमिकतामा पर्नुपर्ने होइन।

 

नेतृत्व सामाजिक चासोका बिषयबाट पुरै बेखबर हो। बैतडी यतिखेर तातेको छ। किशोरी भागरथीको बलत्कार पछि हत्या भयो, प्रहरीले अलमल गरेको आरोप लगाउँदै किशोरी अध्यनरत विद्ययालयका छात्र छात्रा स्थानीय र अधिकारकर्मीहरु सडकमा छन। कतै निर्मला हत्याकाण्ड जस्तो त हुने होइन यो घटना, आम मान्छेको मनमा चिसो पसेको छ। आफ्न्तले हत्यारा पत्ता नलगाएसम्म शब नबुझ्ने भनिरहेका छन । यता गोरखामा ४ बर्षकी बालिका माथी बलत्कार भएको छ ।

 

बालिकाकी आमाले किटानी जाहेरी दिएकी छन । भारतको बिहारमा १२ वर्षीया नेपाली बालिकाको सामुहिक बलत्कार पछि हत्या भएको छ । हिजो एकैदिन पहिलो पृष्टमा प्रकाशित यी समाचार आफैंमा डरलाग्दा दुखद समाचार हुन । बलत्कार जस्तो जघन्य अपराध किन भईरहका छन् । यसका बारेमा गहन अध्ययन अनुसन्धान हुनुपर्ने होइन र । पीडकलाई राजनीतिक संरक्षण गरेर कहिलेसम्म यी कलिला साँस निमोठिरहेको हेरेर बस्ने । हाम्रा सामाजिक संरचनामा भएका गलत बुझाई र बानीलाई जरैबाट उखेल्न निकै ढिला भइसक्यो। संविधानले त जनताका आवाज सम्बोधन गरेन भनेर नयाँ निर्माण हुन्छ तर समाजको हिजोको बुझाई र आजको बुझाईमा कुनै भिन्नता छैन । छोरीहरु हिजोको दिनमा बरु सुरक्षित थिए आजको दिनमा हिंसाका रुप बदलिएका छन । तर सामाजिक संरचना र बुझाई भने अहिले पनि सदियौं कै जस्तो छ । छोरीलाई इज्जतको पगरी गुथाएर बलत्कारमा परे पनि प्रलोभन डर धम्की दिएर ढाकछोक किन गरिन्छ ! नेपाली समाजमा इज्जत महिलाले मात्रै धान्न पर्ने यो कहिलेसम्म ? पुरुषले जे जस्ता बानी व्यवहार देखाउँदा पनि सच्चिनु नपर्ने। अपराध गर्नेलाई लाज नलाग्ने पीडितले लाज मान्नु पर्ने ! 

 

यो समाजका पुरुष सामुहिक माफी माग्न किन तयार हुँदैन । सुरक्षा निकायहरुमा पनि उनै पुरुष हाबी छन । जसले महिला मैत्री काम गर्न नसकेको जनगुनासो अहिले पनि उस्तै छ। सकेसम्म मेलमिलाप गर भन्ने ओठे जवाफ दिन कुनै कन्जुस्याइ गर्दैन । यस्ता जघन्य अपराधका घटनामा पनि पीडक बचाउन लागि पर्ने हो भने आम जनताले कसबाट सुरक्षाको अनुभूति गर्ने !

 

पुलिङ्ग त्यस्तो बलशाली हो ! जुन तप्काले समाज सुधारमा सदियौं देखी कायापलट गरेको रटान लाईरहेछ, के त्यो तप्काको यी र यस्ता घटनामा कुनै जिम्मेवारी हुँदैन ! घर परिवार नजिक कै आफन्तबाट यस्ता जघन्न अपराध भईरहेका छन। पद र पैसाको जालोमा पारेर घटनालाई सामसुम पार्नु पनि अर्को अपराध हो। अपराधमा संलग्न हुनेले उन्मुक्ति पाउँछ अर्को पटक उ झनै हिंसात्मक रुपमा प्रस्तुत हुन्छ र किशोरीहरुको साँस निमोठछ । 

 

यस्तो गर्न तम्सने कसले बनायो, हाम्रै समाज र सुरक्षा निकायले होइन !!
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार