• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

खेलाडीलाई यौन दुर्व्यवहार गर्ने प्रशिक्षकलाई १० वर्ष जेल

GETTY IMAGES

काठमाडौं । दक्षिण कोरियामा महिला खेलाडीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक प्रशिक्षकलाई दश वर्षको जेल सजाय सुनाइएको छ।

 

स्पीड स्केटिङ् खेलका पूर्वप्रशिक्षक चो जे-ब्योमलाई खेलाडी शिम सुक-हिलाई सन् २०१८ को शीतकालीन ओलिम्पिक्स खेल अगाडि यौन आक्रमण गरेको आरोपमा दोषी पाइएको हो।

 

ती प्रशिक्षकले आफूले केवल खेलाडीलाई गाली गरेको र शारीरिक सजाय दिएको बताएका छन्। यो घटना विश्वव्यापी मिटु अभियानको समयमा दक्षिण कोरियाली खेलाडीहरूले प्रशिक्षकहरूमाथि दुर्व्यवहारको आरोप लगाएको सिलसिलामा पहिलोपटक प्रकाशमा आएको थियो। ओलिम्पिकमा स्पीड स्केटिङ्‌को सर्ट-ट्र्याक स्पर्धामा स्वर्णपदक विजेता शिम सुक-हिले सबैभन्दा पहिले सन् २०१८ को ज्यानुअरीमा उक्त आरोप लगाएकी थिइन्।

 

ती प्रशिक्षकले आफू सानो उमेरको हुँदादेखि नै पटक-पटक दुर्व्यवहार गरेको उनले बताएकी थिइन्। सात वर्षको उमेरमै आफूलाई तिनले कुटपिट गरेको र आइस हकी स्टिकले पिटेर औँला भाँचिदिएको उनले बताइन्।

 

त्यसपछि अन्य खेलाडीहरूपनि अघि सरेका थिए। त्यतिखेर उनलाई शिम तथा अन्य तीनजना खेलाडीलाई कुटपिट गरेकोमा १० महिनाको जेल सजाय सुनाइएको थियो। तर सन् २०१८ को डिसेम्बरमा २१ वर्षीया शिमले चोमाथि यौन हमलाको आरोप लगाइन्।

 

त्यस्तो यौन हमला र दुर्व्यवहार आफू विद्यार्थी रहेकै बेला सन् २०१४ बाट सुरु भएको र सन् २०१८ को प्योङ्गचाङ्ग शीतकालीन ओलिम्पिक खेल अगाडिसम्म जारी रहेको शिमले बताएकी थिइन्।

 

उनले लगाएका यौन दुर्व्यवहारका नयाँ आरोपहरूपश्चात् अढाई लाख दक्षिण कोरियालीहरूले ती प्रशिक्षकलाई अझ लामो कैद सजाय हुनुपर्ने माग गर्दै एक निवेदनमा हस्ताक्षर गरेका थिए।

 

प्रशिक्षक चोले ती आरोप अस्वीकार गरेका थिए। उनले केवल अनुशासनका निम्ति शिमलाई गाली गरेको तथा शारीरिक सजाय दिएको बताएका थिए। तर अदालतले उनलाई कैद सजायको साथै २०० घण्टाको यौन दुर्व्यवहार गर्नेहरूलाई दिइने परामर्श उपचार गराउन आदेश दिएको छ। साथै सात वर्षसम्म उनले बालबालिका तथा युवायुवतीसँग काम गर्न पाउने छैनन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार