• शुक्रबार ११-१४-२०७७/Friday 02-26-2021
डबली

पिताप्रति

त्यो नेपालीलाई पिता भन्न पाउँदा
मलाई गर्व लाग्छ
जसले यस मुलुकलाई प्रशस्त माया गरेको छ
त्यसैले त्यो नेपालीलाई सम्झदा
मेरो छाती ठूलो हुन्छ
आकाशको सेरोफेरो गर्न सक्‍दा।

 

युद्ध समरमा मात्र होइन
स्वाभिमानी मान्छेले जीवनमा लडेको हुन्छ
ईमान बचाउन
आस्था जोगाउन
भोलिको उज्यालाका लागि
एउटा दीप जलाउन।


विवेकको उज्यालोमा लडिने युद्धमा
अझ वीरता चाहिन्छ
त्यो वीरता मैले उनमा प्रशस्त देखेको छु
उनको विवेक-वीरले
शक्ति लोकको दर्शन गरेका
या इमानको सूदन गरेका
ती दुराग्रहीहरुको सातो उडाएको
मैले स्वयम् देखेको छु।


त्यो अदम्य साहस उनको
अनि सगर छुने आत्मविश्‍वासलाई
जति श्‍वास-प्रश्‍वास गर्न खोज्छु म
अनि लाग्छ कति कठिन छ त्यो-
जुन उनको जीवन बनेको थियो।


‘जिन्दगी एउटा छोटो वसन्त
अनि मान्छे एउटा फूल’
उनी स्ययं भन्थे।


उनी जसरी फुल्न सके एउटा फूल बनेर
त्यो फूलको लालिमामा
आकाशको ईमान प्रज्वलित भएको छ
सङ्घर्षले फुक्न पाएको छ।


एउटा साधारण मान्छे उनी
समयको गुरुत्वाकर्षणबाट
उठ्न खोज्ने जमर्को गर्नु
स्वयम्‌मा एउटा चुनौती थियो
एउटा अदम्य साहस थियो
त्यो धरातलबाट उठेर
राष्ट निर्माणको ढोका खोल्नु
एउटा ठूलो युद्ध थियो
अनि एउटा ठूलो विजय पनि।


हुरी बतासमा पनि
ईमानको दीप निभ्न दिएनन्
मुलुकलाई सधैँ माया गरे उनले
त्यसैले त्यो नेपालीलाई आज सम्झदा
त्यो नेपालीको गौरवलाई अहिले सम्झदा
मलाई गर्व लाग्छ
अत्यन्त गर्व लाग्छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार