• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । 

 

बुधबार बहस नसिकएपछि हेर्दाहेर्दैमा राखिएको प्रतिनिधिसभा विघटनसम्बन्धि १३ वटा रिट संवैधानिक इजलासमा विचाराधीन छ। प्रतिनिधिसभा विघटनभन्दा पनि इजलासको क्षेत्राधिकारका विषयमा बहस केद्रित छ । निवेदकहरूले सो मुद्दा बृहत् पूर्ण इजलासले हेर्नुपर्ने माग राख्दै आएका छन् भने सरकार पक्षले संवैधानिक इजलासले नै हेर्नुपर्ने बताएका छन्।

 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा गत बुधबार सुनुवाइ शुरु भएकामा न्यायाधीश कार्कीबारे प्रश्न उठेपछि  उनको स्थानमा न्यायाधीश सपना मल्ल राखिएको छ । 

 

न्यायाधीश कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उनको स्थानमा आज मल्ल तोकिएको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन दिने १३ जनामध्ये ११ जनाले बृहत पूर्ण इजलासमा सुनुवाइको माग गरेका छन् ।

 

यही १० पुस गते अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखबाट महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश भईसकेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार