• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

षडयन्त्र र धोकाको राजनीति

हाल नेपाल फेरी पनि एक निकै असहज राजनीतिक स्थितिबाट गुज्रिन वाध्य भएको छ। नेपाली कांग्रेसको दुई तिहाईको सरकारलाई राजा महेन्द्रले अपदस्थ गरेर पञ्चायती व्यवस्था ल्याएपछिको यो अर्को एक मात्र दुई तिहाई बहुमतको सरकार हो। उतिबेला दुई तिहाइको उन्माद र तत्कालीन तानाशाही युग भएको र छिमेकीको समर्थन समेतले गर्दा नेपालमा दलगत प्रजातन्त्रको अन्त हुन गएको थियो भने यसपाली चरम भ्रष्टाचार, अराजकता, नातावाद, कृपावाद र सत्ताधारी दल भित्र नै पदको लागि घम्साघम्सी परेपछि दुई तिहाइ कै सरकारले मध्यावधिक निर्वाचनको घोषणा गरेर जनतालाई पुनः अन्योलमा धकेल्नुका साथै मुलुकको ढुकुटीबाट जनताले तिरेको करको अरवौँ रुपैयाँ विकास कार्यलाई थाती राखेर चुनावमा खर्च गर्न लागीपरेको छ। आधुनिक विश्वमा प्रजातन्त्र नै सर्वश्रेष्ठ राजनीतिक व्यवस्थाको रुपमा मानिइँदै आएको छ। तर हाम्रो देशमा यो मात्र होइन, कुनै पनि यस्तो व्यवस्था बाँकी रहेको छैन जुन लागु गरेर यहाँका जनताले विकासको फल चाख्न पाउन्। हामीले राजाको प्रत्यक्ष र अप्रत्यक्ष शासनदेखि प्रजातन्त्रका विभिन्न मोडलहरु देख्यौँ, तर कुनै पनि प्रणालीमा नेपालमा स्थायित्व आएको देखिएन। अब प्रश्न उठ्छ कि “के नेपाल असफल राष्ट्रमा परिणत हुँदै गएको हो ?” वा “यो देशलाई शासन गर्ने शासकवर्ग र यहाँको नोकरशाही (व्युरोक्रेसी) मा नै कुनै जटिल समस्या छ ?”। वास्तवमा नै नेपाल हाल कै परिस्थिति अनुसार गुज्रँदै गयो भने यो छिटै असफल राष्ट्रमा परिणत हुन केही बेर लाग्दैन। मुलुक भित्र र बाहिर समेत नेपाललाई असफल राष्ट्र सावित गराएर यहाँका जनतालाई यो देश एक स्वतन्त्र राष्ट्र भएर रहन सक्दैन भन्ने छाप पार्न वृहत् रुपमा नै लागीपर्ने जमातको पनि कमी छैन। तर हामीले के बुझ्नु पर्छ भने, यो मुलुक सिक्किम जस्तो एकाध लाख मानिस बस्ने मुलुक होइन, बरु विश्व कै विभिन्न ठाउँमा झण्डै ६० लाख र देश भित्र नै ३ करोड सजग मानिसहरु बसोबास गर्ने सानो भए पनि विशाल मुलुक हो। कसैको इच्छा र मनोकामनाले यो मुलुकको अस्तित्व सकिएर यो कतै विलिन हुन त्यति सजिलो छैन । 

 

वि.सं. १९९७ सालमा जिउँदा शहिद टंकप्रसाद आचार्यको अगुवाईमा नेपालको पहिलो राजनैतिक पार्टी प्रजा परिषदका अथक योद्धा सदस्यहरुले आफ्नो ज्यानको आहुती दिइ कठोर जन्मकैद भोग्नुका साथै केहीले शहादत प्राप्त गरेर विजारोपण गरेको प्रजातन्त्र २००७ सालको क्रान्ति पश्चात प्राप्त भएको थियो। तर त्यो प्रजातन्त्र भारतीय भूमिमा भारत सरकार कै पहलमा राणा, राजा र क्रान्तिमा संलग्न पार्टीका नेताहरु बिच समहती भएर प्राप्त भएको थियो। यसरी ल्याइएको प्रजातन्त्र र परिवर्तनलाई राजाले राणाबाट राजसंस्थामा शक्ति हस्तान्तरण गर्ने माध्यम बनाए अनि उनैका नजिकका नातेदार रहेका ती राणाहरुलाई त्यसपछिका ४ दशकसम्म विभिन्न महत्वपुर्ण ओहदाहरुमा विराजमान गराएर उनीहरुको सुरक्षित अवतरण गराइदिए। उता प्रजातन्त्रवादीहरु भने क्रान्तिको लगत्तै आन्तरिक र वाह्य चलखेलका कारण आपसी खिचातानीमा व्यस्त भएर बसे। क्रान्तिमा अहम् भूमिका खेलेका तथा भारतमा बसेर त्यहाँको स्वतन्त्रता संग्राममा सक्रिय सहभागिता जनाएका र त्यतै निकै धेरै शिक्षा हासिल गरेका विभिन्न पार्टीका नेताहरु समेत उनै राणाहरुका रहनसहनको सिको सिकेर विलासी पहिरन र जीवनशैलीको नक्कल गर्न थाले। आखिर प्रजातन्त्र आएको १० वर्षमा नै यसको अवसान भएर मुलुकमा राजाको शासन व्यवस्थाको थालनी भयो भने प्रजातन्त्रको निम्ति अथक योगदान गर्ने पार्टीहरु तितर वितर हुनुका साथै नेताहरु गिरफ्तार भए । विपि कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, तुलसीलाल अमात्य आदी जस्ता कैयन् निष्ठावान राजनीतिज्ञहरु लामो समयसम्म कारागारमा चलान भए वा मुलुक छोडेर भाग्न वाध्य बनाइए भने उनकै कैयन् सेनानीहरु राजा कै निर्दलीय शासन प्रणालीमा समाहित हुन गए । 

 

पुनः प्रजातान्त्रिक आन्दोलनलाई शुरु गरेर बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनर्वहाली गर्न मुलुकलाई अर्को ३० वर्षसम्म संघर्ष गर्नुप¥यो । यसरी संघर्ष गरेर प्राप्त गरेको प्रजातन्त्रलाई जोगाउनुको सट्टा फेरी पनि पार्टीहरु एक आपसमा हिलो छ्याप्न पछि परेनन् भने आफ्ना अग्रजहरुको तौहिन गर्ने र आफ्नै पार्टी भित्रका फरक मत राख्ने प्रतिद्वन्द्वीहरुलाई निमिट्यान्न पार्ने हेतुले पार्टी फुटाउने र हुँदा हुँदा आफ्नै वहुमतको सरकार समेत भंग गर्ने कार्यहरु समेत गर्न थाले । यस्तो अव्यवस्थित परिवेशमा सांसद किनबेच, भ्रष्टाचार र घुसखोरी निकै मौलाउने भयो नै । विस्तारै मुलुक अराजकताको बाटो पछ्याउन वाध्य भयो । जनयुद्ध, राजदरवार हत्याकाण्ड, दिनहुँको बन्द र हडताल, संकटकाल, नयाँ राजाको प्रत्यक्ष शासन, पुनः प्रजातन्त्र, सम्विधान सभाका चुनावहरु, पटक पटक सम्विधान परिवर्तन, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता के के मात्र आमुल परिवर्तन भएनन् यो धर्तीमा, तर अस्तव्यस्तता र जनतामा नैराश्य जहाँको तहीँ । नेताले दिनहुँ नयाँ नाटकको मञ्चन गर्ने अनि हामी निरीह जनता उनीहरुका अस्पष्ट र अधुरा नाटक हेरेर आसैआसमा जिवन बिताउन वाध्य हुनुपर्ने ।

 

हाल आएर निकै सोचविचार गर्दा, मानिसमा शिक्षा, अध्ययन, अनुभव, संस्कार, इमान्दारीता, त्याग, जनउत्तरदायित्वको भावना, डर, मातृभूमि प्रतिको असिम माया, आस्था र स्नेह, आफु वाहेक अरुको कदर गर्ने वानी, समूहमा काम गर्ने उत्साह तथा लोक कल्याण तथा देश विकासमा दृढता नभइकन उ एक सच्चा राष्ट्रभक्त वा नेता बन्नै सक्दैन। तर हाम्रो मुलुकमा यस्ता आधा मात्र गुण भएका नेता पाउन पनि निकै हम्मे पर्छ । त्यसैले यस्ता व्यक्तिहरुलाई द्रव्य र शक्तिको लोभमा जो कोहीले पनि फँसाएर भ्रष्ट र निकम्मा बनाइदिन सक्छ ।

 

२००७ सालमा होस् वा २०४६ र २०६३ सालमा होस्, नेपालमा प्रजातन्त्र प्राप्तिका सबै आन्दोलनहरु सफल हुन छिमेकी राष्ट्र भारतको ठुलो भूमिका रहेकाले तथा यहाँका अधिकांश सरकार प्रमुखहरु भारत सरकारको आशिर्वाद पाउन उद्धत रहने सत्यताले गर्दा पनि नेपालको राजनीतिमा आफुलाई संलग्न गराइरहने नशा उसमा हुनु कुनै अनौठो कुरा होइन। यसको अर्थ भारतसँग सम्बन्ध नै राम्रो नराख्ने भनेको पनि होइन । भारत र हाम्रो धर्म, संस्कृति र रहनसहन नै मिल्दो जुल्दो छ भने चीनसँग पनि हाम्रो परापुर्वकाल देखिको सांस्कृतिक र कुटनीतिक सम्बन्ध छ। हाम्रा लागि भारत र चीनले जति धेरै प्रगति गरे त्यति हामीलाई फाइदाजनक हुन्छ । यसो हुँदा हामी बढारिएर नै विकास गर्न सक्ने हुन्छौँ किनकी यसो भएमा न त हाम्रा उत्पादनहरुको लागि टाढा टाढासम्म बजार खोज्ने झञ्झट पर्नेछ, न नै हामीलाई आवश्यक वस्तुहरुको आपुर्ति गर्ने । त्यसैले हामी नेपाली जनता सँधै भारत र चीन जस्ता विशाल र विकासको पथमा लम्किरहेका छिमेकीको बिच राम्रो मित्रता भएको देख्न र यी दुवै मित्र राष्ट्रहरुको असिम माया पाउन चाहन्छौँ । यसको लागि हामीले पनि आफ्नो मान आपैm राख्न सिक्नु पर्दछ, कसैको चाकडी र बढाई गरेर नभई एक अर्काको सम्मान गरेर ।   

 

भर्खरै मात्र २९९औँ पृथ्वी जयन्ती मनाइएको छ नेपाल र नेपालीहरु बसोबास गर्ने राष्ट्रहरुमा। धेरै पहिलेको समयमा नगएर बडामहाराज पृथ्वीनारायण शाहकै शासनकालदेखि आजसम्मको समयलाई मात्र हामीले केलायौँ भने पनि थाहा लाग्नेछ कि नेपालको राजनीतिमा धोखाधडी र षडयन्त्रकारी फोहरी खेलको इतिहास कति लामो र घिनलाग्दो छ भनेर। पृथ्वीनारायण शाहको निधन पश्चात बेतियामा गएर बसोबास गरेका उनका कान्छा छोरा बहादुर शाहलाई उनका ऐयासी दाजु राजा प्रतापसिंह शाहको निकै छोटो शासनकाल र मृत्यु पछि राजा भएका नावालक भतिजा रणबहादुर शाहका दोश्रा अभिभावकका रुपमा उनी वालिग नहोउञ्जेलसम्म मुलुकको शासनभार सम्हाल्न दरवारका भारदारहरुले बोलाए । यिनी भन्दा पहिला केही समयका लागि प्रतापसिंह शाहकी रानी राज्यलक्ष्मी अभिभावक थिइन् । यसै समयमा बहादुर शाह नेपालको एकिकरणलाई निरन्तरता दिन दिनरात लागीपरे भने उनले पुर्वमा तिष्टा र पश्चिममा कुमाउसम्म नेपाल अधिराज्यलाई फैलाउन सफल भए । तर हाम्रो राष्ट्रको विडम्बना, यस्ता वीर राजकुमारलाई आफ्नै भतिजा राजा रणबहादुर शाहले एक थरी भारदारहरुको लहै लहैमा लागेर कैद गरिकन निकै ठुलो यातनाका साथ हत्या गरे भने आफु पनि आफ्नै विभिन्न बहुलट्टीपुर्ण कार्यहरु तथा विभिन्न भारदारका सर्वस्वहरण गरेर प्राप्त भएको धनको अवैध बाँडफाँटमा चित्त नबुझेका कारण सौतेला भाइको हातबाट मारिए । बहादुर शाहको हत्याको समय देखि नै यी सनकी राजासँग धेरैजना भारदारहरु चिढिएका थिए ।

 

बहादुर शाहलाई नेपालको एकिकरणमा सघाउने वीर योद्धाहरु दामोदर पाँडे, अमरसिंह थापा, भक्ति थापा र वलभद्र कुँवर पनि दरवारिया षडयन्त्रमा नै परेका थिए । रणबहादुर शाहको हत्या पश्चात नावालक राजा गिर्वाणयुद्ध विक्रम शाहकी अभिभावक भएर शासन सम्हालेकी रणबहादुरकी विधवा रानी ललित त्रिपुरासुन्दरी र उनैका काका प्रधानमन्त्री भिमसेन थापाको शासनकालमा पश्चिम नेपालका सैनिक कमाण्डर अमरसिंह थापाले त्यतिबेला नेपाल राज्यको पकडमा पश्चिमी भुभागका जनता आइनसकेका, सरकारको उपस्थिति पनि त्यता न्युन रहेको र सैनिक बन्दोवस्ती पनि त्यति राम्रो भइनसकेकोले केही समयको लागि कांगडामा हमला गर्न नहुने तर्क चिठी मार्फत नेपाल दरवारमा वारम्वार पठाउँदा पनि जसरी भएपनि कांगडामा हमला गर्नु भन्ने आदेश आएकाले अमरसिंह थापाको सेनाले हुकुमको पालना गर्दा वीर वलभद्र कुँवर र उनका मातहतका सेना बच्चा र महिलाहरु सहित किल्ला कांगडा छाडेर जान वाध्य हुनु परेको र सेनाका एक अथक खम्बा वीर भक्ति थापा अंग्रेजहरुको हातबाट शहिद हुनुका साथै नेपालले लडाईमा ठुलो हार खाएर वृटिशसँग सुगौली सन्धि गर्न वाध्य हुन परेको थियो। पछि यही घटनाबाट दिक्क भएर वीर वलभद्र कुँवरले नेपाल छाडेर पञ्जावको सेनामा भर्ती भई अफगान युद्धमा वीरगति प्राप्त गरे भने विरक्तिएका अमरसिंह थापाले गोसाईँ कुण्डमा गएर उतै बाँकी जिन्दगी बिताए ।

 

रणबहादुर शाहको हत्याको समयमा भिमसेन थापाले सो हत्यामा संलग्न उनका भाई लगायत करिव ९३ जना भारदार, महिला तथा बच्चाहरुको निर्ममतापुर्वक सफाया गरेर तिनको लाश कालमोचन घाटमा त्यसै फ्याँक्न लगाए अनि आफु मुख्तियार (प्रधानमन्त्री) बन्न सफल भए। रणबहादुर शाहकी ठुली महारानी राजेश्वरी सती गएकीले भिमसेन थापाकी भतिजी जो रणबहादुर शाहकी सानी रानी थिइन, उनै ललित त्रिपुरासुन्दरीले आफ्ना सौतेला छोरा तथा नावालक राजा गिर्वाणयुद्ध विक्रम शाहकी अभिभावक भएर नेपालमा शासन गरेकी थिइन् तथा उनले काका भिमसेन थापालाई निकै सघाएकी पनि थिइन्। राजा गिर्वाणयुद्ध विक्रम शाहको पनि निकै कलिलो उमेरमा मृत्यु भएकोले उनका नावालक छोरा राजेन्द्र विक्रम शाहको पनि उनि नै अभिभावक बनेकी थिइन् । भिमसेन थापा ३१ वर्षसम्म नेपालका प्रधानमन्त्रीको हैसियतले राज्य गरेर आफु पनि षडयन्त्रको जालोमा फँसे अनि एकचोटी थुनामुक्त भएपनि फेरी रणजंग पाण्डे प्रधानमन्त्री भएपछि उनी काला पाँडेहरुलाई अन्याय गरेको अभियोगमा पुनः थुनामा परे र कारागारमा नै उनले शेरिएर आत्महत्या गरे। उनी माथि राजा राजेन्द्र विक्रम शाहका एकजना छोरालाई विष खुवाएर मारेको र काजी दामोदर पाँडे र उनका सहयोगीहरुलाई भद्रकालीमा शिरच्छेदन गरेर मारेको आरोप लागेको थियो। मुख्तियार भएको केही समय भिमसेन थापा कै नेतृत्वमा नेपाली सेनाको आधुनिकिकरणको काम भएको र नेपालको एकिकरण प्रकृया जारी रहेको भएता पनि पछिल्लो समयमा भने भिमसेन थापा आन्तरिक राजनीति र शक्ति हत्याउने खेलमा नै ज्यादा व्यस्त हुन थालेकाले अमरसिंह थापाको आग्रहलाई वास्ता नगरेको तथा नेपाललाई प्रतिकुल समयमा युद्धमा धकेलेकोले वृटिशसँग युद्धमा नेपालको ठुलो पराजय भएको र सुगौली सन्धि पछि नेपालले एक तिहाई भन्दा बढी आफ्नो भूभाग गुमाउन वाध्य हुन परेको आरोप उनमा लागेको भएता पनि आफ्नी भतिजी त्रिपुरासुन्दरी नै राजाकी अभिभावक भएर राज गरिरहेकीले उनि सत्ताच्युत भएर सजाय भोग्नबाट बचेका थिए त्यतिबेला।

 

राजा राजेन्द्र विक्रम शाह अनिर्णयका बन्दी र राजकाजमा निकै कमजोर थिए, त्यसैले उनको प्रत्यक्ष शासनकालको शुरुमा उनकी ठुली महारानी साम्राज्य हावी भएकी थिइन् भने उनको मृत्युपश्चात कान्छी महारानी राज्यलक्ष्मी निकै शक्तिशाली भइन् । यिनकै समयमा नेपालमा ठुला ठुला राजनैतिक उथल पुथल भए । प्रधानमन्त्री माथवर सिंह थापालाई यिनैले राजदरवारमा बोलाएर हत्या गराइन् भने यिनका अति विश्वासपात्र गगनसिंहको पनि रहस्यमय हत्या भयो र त्यस्को लगत्तै जंगबहादुर राणा र उनका भाईहरु मिलेर कोतपर्वरुपी विशाल रक्तपात मच्चाएर नेपालको सत्ताको वागडोर आफ्नो हातमा लिए तथा त्यसको १०४ वर्ष पछिसम्म उनका उत्तराधिकारीहरुले राणाशासन रुपी कठोर शासन गरेर नेपालका राजाहरुलाई कठपुतली बनाएर राखे ।  

 

बडामहाराज पृथ्वीनारायण शाह पछिका राजाहरुको बढी समय मोजमज्जामा बित्नु, यिनीहरु मध्ये केहीको अल्पायुमा मृत्यु हुनु, कोही अति नै लहडी र अराजक हुनु तथा कोही कुनै पनि प्रकारका निर्णयहरु गर्न नसक्ने भएकाले उनका पोथी धेरै बास्ने गरेका थिए ।  यस्तै कमजोरीको फाइदा उठाएर शुरुमा भिमसेन थापा केही समयलाई हावी भए भने पछि उनकै भाञ्जा जंगबहादुर कुँवर। राजनीतिक खेलमा भागवण्डा नमिले पछि त्यतिबेला पनि विशाल षडयन्त्र र धोखाधडी हुने गर्दथ्यो । जंगका कान्छा भाई धीरका सत्र भाई छोराहरु भएकाले उनीहरु अरु भन्दा आर्थिक रुपले निकै कमजोर थिए । यही कारणले गर्दा यिनीहरु एक भएर शुरुमा आफ्नै काका रणोद्धिपको र जंगका छोरा–नातीको हत्या गरेर सत्ता आफ्नो पोल्टोमा पार्न सफल भए भने त्यसपछि वीरले आफ्नै माहिला भाई खड्गलाई घात गरे । त्यस्तै उनको मृत्यु पश्चात चन्द्र शमशेरले आफ्नै दाजु देवशमशेरलाई प्रधानमन्त्रीको पदबाट पदच्युत गरे। यस्तै घात र षडयन्त्रको राजनीति राणाशासन रहुन्जेलसम्म चलि नै रह्यो भने यस्ता षडयन्त्रका मुख्य नायकका रुपमा वीर, चन्द्र र जुद्धशमशेरले इतिहासमा नाम लेखाए। राणाशासनमा प्रत्येक वर्ष गरिने पजनीले अधिकांश भारदारहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्थ्यो । त्यतिबेला पनि छिमेकी राष्ट्र भारतमा राज गरिरहेको वृटिश साम्राज्यले नेपालको राजनीतिमा निकै धेरै दखल दिने गरेको थियो।

 

आधुनिक नेपालको यस्तो भयावह इतिहास पढिसके पछि ‘के षडयन्त्र र धोखाधडी हाम्रो रगतमा नै छ त ?’ भन्ने प्रश्न उब्जिन्छ। "किन हामी एक हुन सक्दैनौँ ? राष्ट्रिय विकास, अखण्डता, राजनीति र जनहित तथा जनचासोका अहम् विषयहरुमा हामी राष्ट्रिय सहमती किन बनाउन सक्दैनौं ? किन हामी हाम्रो मातृभूमिलाई विश्वसामु एक उदाहरणीय राष्ट्रको रुपमा कहिल्यै प्रस्तुत गर्न सक्दैनौं ? किन नेपालीले सँधै विश्वमा आफ्नो शिर ठाडो पारेर हिँड्न पाउँदैन र सँधै अपहेलित हुनुपर्छ ? के हामी नेपालीको नियति सँधै यस्तै नै हो त ? के हामी भोट हाल्ने रोवोट मात्र हौँ त ?”। नेपालका राजनीतिक पार्टी र यसका नेतृत्व तहले नेपाललाई साँच्चै नै समृद्ध बनाउने सपना देखेका छन् भने अब यिनीहरुमा आमुल बदलाव आउनु पर्नेछ र पार्टीको नेतृत्व पनि क्रमशः शिक्षित तथा नयाँ पिँढीलाई सुम्पँदै जानु पर्नेछ । यसको साथ साथै कुशासन र भ्रष्टाचारलाई निर्मुल पार्न अब जनता नै जागरुक हुनु पर्ने बेला आएको छ। 

 

लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार