• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

थारू समुदायमा माघीको चहलपहल

देउखुरी । थारू समुदायको ठूलो चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल शुरु भएको छ । थारू समुदायको नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन् । रोजगारीका सिलसिलामा घर बाहिर भएकाहरु घर फर्किएकाले गाउँघरको वातावरण नै रमाइलो भएको छ। माघलाई विभिन्न ठाउँका थारू समुदायले आ–आफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ । 

 

माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम सुरु भएको घोराही–७, वेसाहीका अनुपमा चौधरी बताउँछन्। उनका अनुसार ढिक्री, रोटी, माछा र घोँगी परिकार बनाइन्छ । माघीको सम्पूर्ण तयारी पूरा भएको छ । यसपालि कोरोनाका कारण नाचगानको कार्यक्रम छैन । तर, खानाको परिकार बनाउन भ्याइ–नभ्याइ छ । कामको सिलसिलामा घरदेखि टाढा भएका दाजुभाइ, दिदीबहिनी घरमा आउनेको सङ्ख्या बढेको छ । गाउँमा छुट्टै चहलपहल र भेटघाट भएकाले रमाइलो छ । वेसाही गाउँ थारू समुदायको बाक्लो बस्ती भएको ठाउँ हो। घरको काम छिटो सकेर आरामले माघ मान्ने तयारीमा गाउँघरका आमाबुवा, दाजुभाइ, दिदीबहिनी जुटेका छन् ।

 

थारू समुदायले माघमै आफ्नो मुखिया चुन्ने, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागु गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरूपमा लिइँदै आएको थारू अगुवा पूर्ण चौधरी बताउँछन् । ‘‘वर्षभरिका लागि योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि महत्वपूर्ण छ। माघमा प्रत्येक वर्ष नाचगान हुने घोराही–१७, कर्जाही गाउँमा यो वर्ष नाचगानको तयारी भने छैन,’’ उनी भन्छन्, ‘‘पुसको २५ देखि माघको ५ गतेसम्म मघौटा नाच हुने गर्दथ्यो ।’’ सधैँ काममा व्यस्त रहने थारू समुदाय माघको समयमा फुुसर्दिला हुने र खानपिन गरेर आफ्ना साथीसङ्गीसँग रमाइलो गर्ने गर्दछन् । अन्नपात भित्र्याएर भकारीभरि धान राखेर आनन्दसँग माघ मनाउने गरेको चौधरी बताउँछन् ।

 

थारू कल्याणकारी सभा दाङका सभापति भुवन चौधरीले थारूहरुको महान् पर्वलाई मानिसले माघी भन्ने गरे पनि वास्तवमा यो पर्व (माघ) भएको बताए । विषेश पर्व भएका कारण यसको थारू समुदायमा धेरै महत्व छ। यस वर्ष कोरोनाका कारण भेला, नाचगान, सभा गर्ने कार्यक्रम नभएको उनले बताए। उनका अनुसार अघिल्ला वर्षमा नाचको प्रतियोगिता हुने विभिन्न जिल्लाबाट थारू समुदायका मानिसलाई भेला गराउने गरिन्थ्यो। यसपालि ठूलो कार्यक्रम छैन । परम्परा जोगाउन गाउँघरमा भेला हुने, संस्कार र संकृतिका बारेमा छलफल गर्ने कार्यक्रम रहेको सभापति चौधरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार