• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
देश/प्रदेश

शुक्रबारसम्म बाक्लो हुस्सु लाग्ने, सावधानी अपनाउन मौसमविद्को आग्रह

काठमाडौं । आउँदो शुक्रबारसम्म तराईमा बाक्लो हुस्सु लाग्ने सम्भावना भएको  मौसमविदले जनाएका छन् । पूर्वदेखि पश्चिम तराईका धेरै ठाउँमा सोमबारदेखि बाक्लो हुस्सु लाग्न थालेको हो। बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्ने र बेलुकीपख हटेर जाने क्रम आउँदो शुक्रबारसम्म कायम रहने मौसमविद वरुण पौडेलले जानकारी दिए । यस्तो बेला सावधानी अपनाउन पनि उनले आग्रह गरे । 

 

तराईका विभिन्न ठाउँमा सोमवार र मंगलवार यस वर्षकै बाक्लो हुस्सु लागेको थियो । बुधबार पनि धेरै ठाउँमा बिहानैदेखि हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ । 

 

यस्तै काठमाडौंमा पनि सोमबारदेखि आकाश धुम्म हुन थालेको छ । अघिल्लो हप्ता बदली भएर खुलेको आकाश फेरि धुम्म भएको हो । आकाश खुलेपछि काठमाडौंमा दिउँसो गर्मी अनुभव हुन थालेको थियो । तर सोमबारदेखि दिउँसो चिसो हुन थालेको छ ।

 

सोमबार काठमाडौंको अधिकतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा मंगलबार घटेर १८ दशमलव ६ डिग्री सेल्सियस कायम भएको थियो। बुधबार पनि काठमाडौंको तापक्रम यही हाराहारीमा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

बुधबार पहाडी भेगमा आंशिक बदली रहने र केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार र बिहीबार प्रदेश १ र गण्डकी प्रदेशको एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ भने बाँकी ठाउँहरुमा मौसम सफा रहने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार