• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
डबली

आज म धेरै खुसी छु

मेरो बेरोजगार छोरो आजकल व्यस्त छ,
उसको कामको सूची लामो छ,
गरेको कामको परिणाम देखेर उ हर्सित छ,
एक्लै भौँतारीने छोरोको पछि ठूलै जमात लागेको छ, 
छोरो व्यस्त देखेर म आज धेरै खुसी छु ।

 

छोरो के काममा व्यस्त छ ? म प्रष्ट छु,
उसलाई ठूला ठूला नेताको फोन आएको सुनेको छु, 
घरमै नेताले ल्याउने लैजाने गरेको देखेको छु, 
छोरो ठूलै मान्छे भईसकेको ठानेको छु,
मेरो बेरोजगार छोरोको माग थाहा पाएर म आज धेरै खुसी छु ।

 

पहिले, जागिर पाउन, बा ! तपाईले कुनै नेता चिनेको छ ? भनेर सोधथ्यो,
मेरो छैन भन्ने उत्तर पाएसँगै उ निराश हुन्थ्यो,
अहिले उसले नचिनेको कुनै नेता छैन,
नेतालाई पद दिलाउन मरीमेटी गर्दा उसलाई आफैँको वास्ता छैन,
नेता उसको पछि लागेको देखेर म आज धेरै खुसी छु।

 

आफ्नै खुट्टामा उभिन नसकेको, उ देश बनाउन लागेको छ,
उसले गरेका ढुङ्गामुढा, तोडफोड, हुलहुज्जत, नारावाजी योगदानमा कदर हुनेछ,
देसमा परिवर्तन अव छिट्टै आउनेछ,
मेरो बेकारी छोरो आदर्श नेता बन्नेछ,
छोरोले गरेको प्रगति देखेर म आज धेरै खुसी छु।

 

उसको श्रृजना खारिदै गएको छ, 
फेसबुकमा उसले गरेको पोष्ट र कमेन्ट्स भाइरल भएको छ, 
सडकमा उसको मञ्चन समाचार बन्ने गरेको छ, 
बेरोजगार छोरो सरकार बनाउने र गिराउने सामर्थ्य राख्ने भएको छ,
उसको नेतृत्वमा लाखौं जनता सडकमा देखेर म आज धेरै खुसी छु।

 

पहिला उ नेतालाई गाली गर्थ्यो, देश नेताले विगारेको उसको ठंम्याई छ,
आज उ त्यहि नेतालाई आदर्श मानेर हिंडेको छ,
हासिल शिक्षा, विबेक उसले बाजी लगाएको छ,
उसलाई ठूलो बनाउने मेरो सपना पुरा हुने वाला छ,
कतै प्याट्ट ठूलै पद पड्काई हाल्छ कि ठानेर म आज धेरै खुसी छु।

 

मैले रगत पसिना बगाएर उसलाई दिलाएको शिक्षा बेकार रहेछ,
छोरोलाई ज्ञानी बनाउने भन्दा तिघ्रा लगाउने काम ठिक रहेछ,
मासुभात, अण्डाले अव छोरालाई पोस्ने हो, जिमखानाको फिस तिर्ने हो,
राजनीति एउटा सर्वोत्तम व्यवसाय हो, छोरोलाई यसमै लगाउने हो,
समय अनुसारको जनशक्ति नेतालाई दिन सकेकोमा म आज धेरै खुसी छु।

 

यदि म गलत रहेछु भने सडकमा गएर हेर्नुहोस्।
आफ्नो छोराको भविष्य सुनिश्चित गर्नुहोस् ।।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार