• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
राजनीति

अब गफ फिट्ने दिन गए : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गरिरहेको आफ्नै पार्टी भित्रबाट काम गर्ने वातावरण बन्न नसकेको बताएका छन् ।

 

काम गर्न खोज्दा जहिले पनि झमेला मात्रै सिर्जना गर्ने काम भएकाले आफूले नागरिकमा जाने निर्णय गर्नुपरेको उनले बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जोड(घटाउ, मोलतोल र लेनदेनको झमेलाले सरकारले काम गर्ने वातावरण बन्न नसकेको बताए।

 

झण्डै दुई तिहाइ प्राप्त सरकार सञ्चालन गर्ने दलभित्रै चरम अस्वस्थताको वातावरण बनेपछि थप सङ्कट ननिम्तियोस् भन्नका लागि आफ्नो कदम अघि बढेको उनले दाबी गरे । यस्तै उनले गएको बैशाख १३ देखि पुस ४ गतेसम्म दुई सय ८० वटा गुटका बैठक बसेको बताएका छन् । पार्टीलाई कमजोर पार्ने एउटै नेताको घरमा दुई सय ८० वटा बैठक बसेको र ३५ वटा बैठक अरू नेताको घर र अरू ठाउँमा बसेको उनले बताए ।

 

प्रधानमन्त्री ओलीले सिमानाबारे कुरा उठाउँदैमा भारतसँगको सम्बन्ध नबिग्रिने पनि बताए । भारतसँग मित्रतापूर्ण ढङ्गले मात्रै भूमि फिर्ता गर्न सहज हुने भएकाले भारतसँगको सम्बन्ध थप सुमधुर बनाउने प्रयासमा आफू रहेको उनको भनाइ छ ।  सिमानामा देखिएका समस्याबारे न्यायोचित तर्कसहित खुलस्त भन्नुपर्ने र त्यसका लागि रिस गरेर मात्रै नहुने बताए ।

 

सम्बन्ध बिग्रने डरले आफू आफ्नो भूमिबारे चुप लागेर बस्न नसक्ने भन्दै उनले सुमधुर सम्बन्ध कायम गरेर पनि यसबारे आफूले छलफल अघि बढाएको बताए ।आफूहरूले सही भूमिमा दाबी गरेकाले अब नक्साबाट मात्रै नभइ भूमिलाई व्यवहारमा नै कायम गरेर छाड्ने दाबी गरे ।

 

उनले अब गफ फिट्ने दिन गएको पनि बताएका छन् । गफ गरेर बसेर मात्रै नहुने भन्दै उनले काम गरेर त्यसको उपलब्धि देखाउनुपर्ने बताए । आफूले गल्ती गरेको रहेछ भने नागरिकले दण्ड दिने भन्दै उनले खुट्टा नकमाइकन चुनावी मैदानमा आउन आह्वान गरे । यसैबीच उनले सरकारले नागरिकमा जागरण फैलाएकै कारण कोरोनालाई थप भयावह हुनबाट बचाएको दाबी गरेका छन् ।

 

उनले अनिवार्य हात धुन, विभिन्न जडीबुटीको प्रयोग गर्न र तातो पानी खान सल्लाह दिएर कोभिडसँग सामना गरिरहेको बताए । उनले कोरोनाविरुद्धको खोप ल्याउने तयारीमा सरकार रहेको र केही समयमै कोभिडको समस्या समाधान हुने विश्वास गरे । नेपाली नागरिकको जीवन नै सरकारको सबैभन्दा पहिलो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

 

राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूसँग ६४ प्रतिशत बहुमत रहेको दाबी गरेका छन् । उनले संविधानमा उल्लेखित प्रावधानअनुसार नै आफूले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको बताएका छन् । प्रतिनिधिसभा विघटन भइसकेपछि मनगढन्ते कुरा गरेर नहुने भन्दै उनले अब कुनै पनि हालतमा प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार