• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

भोट कसलाई दिउँ ?

जम्मा एउटा भोट छ मेरो माग्ने भए धेरै 
सप्पैलाई चाहिएको छ त्यहि भोट मेरै 
पहिला पनि मागे लगे बने मालिक मेरै 
आजसम्म मलाई बिर्से अब भोट मेरै ? 


भोट माग्नेहरु हेर्छु अवस्था सब बुझ्छु 
छान्नैै गाह्रो भयो मलाई मनमनै रुन्छु 
आज आई मेरो भोट घाँडो भयो मलाई 
दिन त लौ दिउला भोट तर दिउँ कसलाई ? 


पहिलोलाई नदिउँ भने त्यसले ज्यानै मार्छ 
दोस्रोलाई नदिउँ भने बलत्कार गर्छ 
तेस्रोलाई नदिउँ भने गाउँ निकाला गर्छ 
चौथोलाई नदिउँ भने अपहरण गर्छ 


पाँचौलाई नदिउँ भने घर खेती लुट्छ 
छैठौँलाई नदिउँ भने हुलै ल्याई कुट्छ 
सातौँलाई  नदिउँ भने घरमा आगो लाउँछ 
आठौँलाई नदिउँ भने झुट्टा मुद्दा लाउँछ 

 

नवौँलाई नदिउँ भने पानि कट्टा गर्छ   
दशौँलाई नदिउँ भने सधै सराप गर्छ
एघारौंलाई नदिउँ भने छोरो फेल पार्छ 
बाह्रौलाई नदिउँ भने गाउँमै पाल्नुपर्छ 


तेह्रौलाई नदिउँ भने पेशा ठप्प पार्छ 
चौधौँलाई नदिउँ भने ऋण तिर्छु भन्छ 
पन्ध्रौलाई नदिउँ भने पैसा दिन्छु भन्छ 
सोह्रौँ नदिउँ भने जागिर दिउँला भन्छ 


सत्रौँलाई नदिउँ भने आफ्नै नाता पर्‍यो
अठारौँलाई  नदिउँ भने छिमेकी नै पर्‍यो
उन्नाइसौंलाई नदिउँ भने थर एउटै पर्‍यो 
बुथै कब्जा गरि पक्का जित्ने बीसौं पर्‍यो

 
के चै गोप्य छ र देशमा भोट गोप्य हुन्छ ?
सबलाई सबको नशानशा नाता कण्ठ हुन्छ 
भोट हाली फर्केपछि कसलाई दिईस सोध्छन  
कसलाई भोट दिउँ अब ? मलाई भयो टेन्सन !

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार