• शनिबार १०-३-२०७७/Saturday 01-16-2021
विचार

गरुड पुराण महात्म्य

यस धरतीमा वास गर्ने अधिकांश मानव जातीले कुनै नै कुनै धर्ममा आस्था राखेका हुन्छन् । ती मध्ये धेरै जना धर्मकर्ममा निकै नै लगाव राख्ने खालका हुन्छन् भने कतिपय मानिस घरपरिवार र समाजले मानिआएकाले मात्र आफ्ना धर्मले तोकेका मूल्य–मान्यताहरुलाई पछ्याएर हिँडेता पनि भित्री मन देखि भने धुमधाम आस्थिक चाहीँ हुँदैनन् । आस्था र अनास्था पनि फरक फरक समय र उमेरले गर्दा बदलिँदै जाँदो रहेछ । खासगरी युवावस्थामा मानिसहरु धर्मकर्ममा त्यति ज्यादा आस्था राख्दैनन् भने उमेर ढल्कँदै गएपछि तिनै व्यक्तिहरु आस्थिक हुँदै जान्छन् ।

 

धर्म मान्नुको मुख्य कारण नै ईश्वरले सँधै रक्षा गरुन्, जीवन सुखमय होस्, मृत्यु पछि स्वर्गको वास होस्, फेरी समृद्धिका साथ यस धरतीमा पुर्नजन्म होस् भन्ने आशा नै हो । तर हामी मध्ये कसैलाई थाहा वा यकिन छैन कि मृत्युको बेला कस्तो अनुभव हुन्छ, जीवन पछि अर्को जीवन हुन्छ कि हुँदैन, स्वर्ग र नर्क छन् या छैनन्, छन् भने कस्ता छन्, र पुनर्जन्म हुन्छ कि हुँदैन । त्यस्तै हामी सँधै मनुष्यको लागि मात्र यस्ता कुराको कल्पना गर्दछौँ, मानौ कि अन्य प्राणीको त अस्तित्व नै छैन यस धरतीमा । हाम्रो जस्तै अन्य प्राणीको पनि मन हुन्छ, तिनले पनि हामीले जस्तै सास फेर्छन्, तिनको पनि हाम्रो जस्तै शारिरिक बनोट हुन्छ र यो निश्चित प्रणालीबाट चल्छ, तिनलाई पनि रोग लाग्ने, भोक र निन्द्रा लाग्ने हुन्छ र आखिरमा तिनको पनि मृत्यु हुन्छ र यदि इश्वर छन् भने तिनको पनि उचित हेरविचार इश्वरले गर्लान् भन्ने कल्पना हामीमा निकै कम आउँछ ।  

 

हिन्दु, मुस्लिम, इसाई, वौद्ध, यहुदी, जैन, आदी सबै धर्महरुमा मानिसको जन्मदेखि मृत्युसम्म गर्नुपर्ने कामकाज तथा संस्कारहरुका वारेमा वर्णन गरिएका ग्रन्धहरु बनाइएका हुन्छन्। ती ग्रन्थहरु पनि हिजोआज बनाइएका होइनन्। ती त धर्मको उत्पत्ति कै समयमा लेखिएका हुन्। कुनै धर्म निकै कट्टर प्रकृतिका हुन्छन् र तिनमा कुनै पनि प्रकारका समयसापेक्ष परिमार्जनको गुञ्जायस हुँदैन भने सनातन धर्ममा भने समय र परिस्थिति अनुसार धार्मिक कार्यहरु र तिनका विधिहरुलाई थोरै परिमार्जन समेत गर्न सकिन्छ । एउटा कहावत नै छ, “जस्तो जस्तो पुरोहित, उस्तो उस्तो स्वाहा” ।

 

हालैमात्र मैले पनि आफ्ना पिताजीको देहावसान पश्चात उहाँको काजकिरीया गर्ने अवसर पाएँ । खासगरी व्राह्मण परिवारमा माता–पिताको काजकिरीया जेठा छोराले गर्ने र अन्य छोराहरुले उनकै नेतृत्वमा किरीया बस्ने हो । तर यस पटक मेरा जेठा दाजु विदेशमा भएका र उनको यहाँ आउन नमिल्ने अवस्था भएकोले मैले नै पिताजीको अन्तिम संस्कार गरेर काजकिरीया गर्नुपर्‍यो भने मेरा दाजु विदेशमा आफ्नो घरमा नै चोखो भएर किरीया बस्नुभयो ।

 

मेरा पिताजीको जीवन सम्बन्धि दर्शन केही फरक थियो । उहाँ ईश्वरमा त्यति आस्था नराख्ने व्यक्ति भएपनि नास्तिक नै चाहीँ हुनुहुन्नथ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो कि यो संसारको श्रृजना गर्ने तथा सबैकुरा यसरी व्यवस्थित तवरले चल्ने बनाउने कुनै रहस्यमयी शक्ति हुनुपर्छ तर त्यस्तो शक्तिको कुनै आकृति वा गुण हुँदैन र त्यसको पुजा गरेर पनि त्यसलाई कुनै असर पर्दैन । मानिसले आफ्नो भलाईको लागि आपैmले ज्ञान हासिल गर्ने तथा परिश्रम गर्ने वाहेक इश्वरलाई पुजेर मात्र केही हुँदैन । तर “आफु भलो त जगत भलो” भन्ने भनाईलाई भने अंगाली रहनुपर्दछ । पिताजीका यस्ता वाणीहरुलाई मनन गरेता पनि हाम्री माताजीको ईश्वर प्रतिको अशिम भक्तिले गर्दा हामी दुबै आस्था र अनास्थारुपी चरम दर्शनको मजधारमा बस्न वाध्य हुने गर्दछौँ । 

 

हाम्रो सनातन धर्मका कैयन् चाडपर्व, पुजाआजा, संस्कारहरुमा धेरै आस्था र विश्वास आफुलाई नभए पनि भावी पिँढीले हाम्रो संस्कृतिलाई बचाइ राखुन् भनेर नै मैले यस्ता अधिकांश चाडहरुलाई सकेसम्म विधि पुर्‍याएर आफ्नो परिवारका साथ मनाउने गरेको छु । त्यसैले होला कुनै वर्ष मैले गर्ने गरेका धार्मिक अनुष्ठानहरु मैले गर्न नसक्ने अवस्था आएका बेला मेरा छोरी र छोरा भएर सोलाई निरन्तरता दिने गर्दछन् ।

 

केही दिन अघि पिताजीको स्वर्गारोहण पश्चात पनि हाम्रो निवासमा म वहाँको काजकिरीयामा बस्दा हाम्रा पुरोहित बाजे आएर १३ दिनसम्मका पुजाआजा र ९ दिनसम्म भनिने गरुड पुराण वाचन गरेर हामीलाई सुनाउनु भयो । म जसरी नै विगतमा माता वा पिताको किरीया बस्ने धेरैले भनेको सुने अनुसार गरुड पुराण बकवास हो र यसको कुनै सार्थकता नै छैन र यो समयको वर्वादी र मानिसलाई उदासीनता र डर–त्रास र भय तिर धकेल्ने ग्रन्थ हो भन्ने भनाई कत्तिको सही रहेछ भनेर बुझ्न मैले यस पटक यसलाई शुक्ष्म तवरले श्रवण गरेँ । १६ अध्यायको यो पुराणको समाप्ति पश्चात म यस्तो निष्कर्षमा पुगेँ की यो पुरै रुपमा काम नलाग्ने बकवास ग्रन्थ पक्कै होइन रहेछ। हजारौँ वर्ष पहिले लिखित यो पुराणमा निकै धेरै सत्यता र सजीवता पनि रहेछ र त्यतिबेला लेखिएको यस्तो ग्रन्थका कैयन् कुराहरु आजसम्म पनि सार्थक र प्रासंगिक नै रहेछन् ।

 

गरुड पुराणको पहिलो अध्यायको शुरुवात भगवान विश्णुको स्तुतिगानका साथ “धर्म नै जसको मूल छ, वेद नै जसको काँध छ, जो पुराणरुपी शाखाहरुले सम्पन्न छ, तथा यज्ञको जसको पुष्प एवम् मोक्ष फल छन्, उनी कल्पवृक्षरुप विष्णु सबभन्दा उत्कृष्ट स्थितिमा विराजमान छन्” भनिएको छ। गरुड पुराणमा नै भनिए अनुसार भगवानहरुको पुण्यस्थल नैमिषारण्यमा ८८ हजार ऋषिहरुले स्वर्ग प्राप्तिका निम्ति हजार वर्षमा सकिने एउटा ठुलो यज्ञ अनुष्ठान गरे र एकदिन सोही यज्ञमा सरिक सूतजी (भगवान विष्णुका अवतार) लाई उनीहरुले सुखमय देवमार्ग र भयप्रद यममार्गको वर्णन गर्न आग्रह गरे। त्यस्तै मत्र्यलोकमा पनि भगवान विष्णुलाई गरुडले यही प्रश्न गरे। गरुड पुराण यही प्रश्नमा आधारित भएर भगवान विष्णुले जीवन र मरण सम्बन्धि गर्नुभएको वर्णन हो। मानव जातीको गर्भधारणदेखि उसका विभिन्न कृत्य तथा मृत्यु र तत्पश्चात उसले आफ्नो कृत्य अनुरुप लिनुपर्ने मार्ग र मृत्यु पश्चातको सुख वा सजाय वारे यो पुराणमा वर्णन गरिएको छ ।

 

विश्वमा जति पनि धर्मग्रन्थहरु लेखिएका छन्, ती सबै मानव जातीले नै कल्पना गरेर लेखेका हुन् । हामीले आफ्नो जीवनकालमा जति पनि अनुभवहरु बटुल्छौँ, त्यसको वर्णन त गर्न मिल्ला तर आजसम्म मृत्युको अनुभव गरेर तत्पश्चात के हुन्छ भन्ने कुराको अनुभवको वर्णन न त कसैले गर्न सकेको छ न नै त्यो सम्भव छ । त्यसैले पनि मेरा पिताजीले केही वर्ष पहिले वहाँका एकजना हितैषीले जीवनको उत्तराद्धमा पुग्नुभएका उहाँका इच्छाहरु अब के के छन् भनेर सोध्दा उहाँले मुस्कुराएर आफुले मृत्युको अनुभव गर्न खोजेको र यो आफ्नो मृत्यु कै समयमा मात्र सम्भव हुने भएकोले त्यसको वर्णन आफुले अरुलाई गर्न भने नपाउने कुरा बताउनुभएको थियो ।

 

यस्ता धर्म ग्रन्थहरु विद्धत ऋषिमुनिहरुले निकै पहिले लेखेका भएता पनि तिनमा मानवजातीले यस धरतीमा जिएर बसुन्जेलसम्म अनुशासित भएर गर्नुपर्ने कार्यहरु तथा राम्रा र नराम्रा कामहरु गर्दा जीवनमा मिल्ने इनाम तथा सजायहरुको काल्पनिक वर्णन गरिएका हुन्छन्। यी सब सामाजिक वन्दोवस्तीका कुराहरु त्यतिबेला समाजलाई सुधार्न र हिंसा, काटमार तथा भैँझगडा र भाँडभैलोका स्थितिहरु समाजमा कसैले ननिम्त्याउन भनेर लिपिवद्ध गरिएका हुन्। निकै पहिले लेखिएकाले अधिकांश धर्मका धर्म ग्रन्थहरुमा जातपातको भेदभाव गरिएका, स्त्री जातीलाई अलिक निचा बनाएर पुरुषप्रधान समाजको अवधारणा अघि बढाइएका तथा ग्रन्थलाई निकै नै धेरै परिकल्पित तथा विचित्र कथानक स्वप्नशैलीमा लेखिएकोले आजको युगमा ती अलिक अविश्वसनिय लाग्ने हुन पुगेका छन् । तर तिनमा वर्णन गरिएका व्यवहारिक कुराहरु भने आजको समाजमा पनि निकै हदसम्म मिल्न जाने खालका नै छन्। त्यसैले यस्ता ग्रन्थहरुको श्रवण गर्दा तिनमा उल्लेखित काल्पनिक कुराहरुलाई मनोरञ्जनका साथ सुनेर व्यवहारिक कुराहरुलाई बढी महत्वका साथ ग्रहण गर्नुपर्दछ। यहाँ अध्ययनमा भन्दा पनि श्रवणमा बढी जोड दिइएको किन हो भने, यस्ता ग्रन्थहरु अक्सर संस्कृत भाषामा लेखिएका हुन्छन् र अधिकांश मानिसहरुलाई बुझ्न कठिन पर्छ । अन्य धर्मका ग्रन्थहरु पनि आजका प्रचलित भाषाहरु भन्दा निकै फरक यानी प्राचिन समयका भाषामा लेखिएका हुन्छन्। भारतको वाराणसीमा भने कैयन् नेपाली विद्धानहरुले संस्कृतमा लेखिएका यस्ता ग्रन्थहरुको तल्लो भागमा सोको नेपालीमा पनि उल्था गरेर व्यख्या गरेका हुन्छन् ।

 

भन्ने नै हो भने त्यतिबेला कल्पना गरिएका वायुपंखी घोडा,भगवानका वायुयान तथा वाहनहरु, सुदर्शन चक्र, लामो दुरीका विध्वंशक शस्त्रास्त्र, दुरदृष्टि, दुरभाष, सञ्जिवनी, अमृत, अन्र्तध्यान,अदृश्य यात्रा, आदी जस्ता कैयन् परिकल्पनाहरुलाई आजको विज्ञान तथा सूचना प्रविधिले वास्तविकतामा बदलिदिइसकेको छ। ती सब परिकल्पनाहरु अन्तर्गत नै आजका आधुनिक हवाइजहाज, रकेट, मिसाइल, परमाणु वम, विभिन्न प्रकारका वाहनहरु, कम्प्युटर, क्यामेरा, टेलिभिजन, रेडियो, ड्रोन, लेजर प्रविधि, अत्याधुनिक शिक्षा, स्वास्थ्य, कृषि, औद्योगिक र रिमोट बैंकिङ प्रणाली आदीको विकास भएको हो ।

 

त्यसैले पनि गरुड पुराण जस्ता ग्रन्थहरुमा उल्लेख भएका अविश्वसनिय तथ्यहरुलाई पनि श्रवण गरेर तिनमा भएका राम्रा कुराहरु ग्रहण गर्दा फाइदा नै पुग्दछ। गरुड पुराणमा भनिएको छ की मानिसले आमाको पेटमा १० महिना बस्दा समेत निकै कष्ट भोग्नु पर्ने, दिसा, रगत आदिमा लतपतिएर, निसास्सिएर र आमाको आहार–विहारमा भर परेर हुर्कनु पर्ने, जीवनमा विरामी पर्दा र विभिन्न कारणले दुखपुर्ण अवस्थाको सामना गर्नुपर्दा भगवानलाई सम्झने र अब आइन्दा राम्रा कामहरु गर्छु भन्ने जस्ता वाचा गर्ने गरेको भएता पनि सुखद क्षणको शुरुवात हुने वित्तिकै उसले विगतमा पाएका दुख र कष्ट तत्काल बिर्सिहाल्दछ ।

 

गरुड पुराण हजारौँ वर्ष अगाडि लेखिएको भएता पनि यसमा वर्णित मानवजातीको गर्भधारण र गर्भदेखि जन्मसम्मका प्रक्रियाहरुको बेलीबिस्तार आजको जमानाका अल्ट्रासाउण्ड मार्फत खिँचिएका फोटो र तथ्य जत्तिकै प्रामाणिक र वास्तविक देखिन्छन् । त्यतिबेला यी सब तथ्यहरुको कल्पना र लेखाजोखा कसरी गरिएको होला, निकै अचम्म लाग्ने । त्यस्तै यसै पुराणमा मान्छेले आफ्नो जीवनकालमा गर्नुपर्ने असल कार्य मात्र होइन, उसका सन्तानले आफ्ना माता–पिता प्रति दर्साउनु पर्ने आदर–सत्कार र उनीहरुको मृत्यु पछि गर्नुपर्ने संस्कारहरुका वारेमा पनि वर्णन गरिएको छ। जीवनका विभिन्न पलहरुमा आफुबाट भएका भुलहरुलाई दान–दातव्य र पुजाआजा तथा समाजसेवा मार्फत प्रायश्चित्त गरेर शान्ति पाउन सक्ने कुरा पनि यीनमा उल्लेख छ ।

 

प्रत्येक मानवले गर्ने सबैखाले राम्रा नराम्रा कार्यहरुको लेखाजोखा व्रह्माका पुत्र श्रवणहरु र उनका पत्नी श्रवणीहरुले देवदुतका रुपमा चित्रगुप्तलाई सबै तथ्य पठाउँछन् पनि भनिएको छ । यहाँ पनि आजको कम्प्युटर र यसको नेटवर्कको परिकल्पना गरिएको छ । यस्तै सूचनाको सञ्जाल मार्फत सत्कर्म गर्ने मनुष्यको आत्मा मरणोपरान्त पुर्वी, पश्चिमी र उत्तरी बाटो गरेर भगवान विष्णुको सम्मुख पुग्दछ र स्वर्गमा वास गर्न पाउँदछ भने, नराम्रा काम गर्नेलाई यमदुतहरुले दक्षिणतर्फबाट यमलोकमा लगेर उसका कुकार्यको लेखाजोखा मुताविक नरकमा पठाउँछन् भनिएको छ। यमराजलाई निकै ठुला शरीर भएका, विकराल मुहार भएका, राँगा माथि चढेर हातमा दण्ड बोक्ने र विशाल प्रलयकारी गर्जनका साथ यात्रा गर्ने भयङकर डरलाग्दा देवका रुपमा चित्रण गरिएको छ । यी सब कुरा र नरकमा गरिने चरम प्रताडनाहरुको वर्णन मानवजातीले यस लोकमा बाँचेर जीवन व्यतित गर्दा नरकमा जाकिने भयले नराम्रा यानी कुकार्यहरु नगरुन् भन्ने हेतुले नै गरिएका हुन् ।

 

छल, कपट, चोरी, अप्राकृतिक यौन, अरुको धन, सम्पत्तिमा आँखा लगाउने, अनाथमा कृपा नराख्ने, मित्रलाई द्रोह गर्ने, अरुको खेत हडप्ने, गौचर जमीनहरु हडप्ने, स्त्रीको रक्षा नगर्ने, स्वच्छ स्थानमा फोहर र दिसा, पिसाब, सिँगान, खकार त्याग गर्ने व्यक्तिहरु नरकमा पुग्दछन् भनिएको छ । त्यस्तै आत्मसन्तुष्टिका लागि पशुलाई मार्ने व्यक्ति, रक्सी, मासु खाने तथा दुध, दही, घिउ बेच्ने, नोकर्नीलाई आफ्नो विछौनामा सुताउने अधम व्राह्मण तथा यस्तालाई पुज्ने व्यक्ति पनि नरकमा पुग्दछन् भनिएको छ ।  वनजंगल फाँड्ने, बँगैचा नास्ने, कुवा मास्ने, मन्दिर र मनुष्यको घर नष्ट गर्ने तथा आगजनी गर्नेहरु नरकमा पर्दछन् भनिएको छ। श्रीमानलाई धोखामा राखेर परपुरुषसँग लाग्ने, वालक, नोकर र गुरुजनलाई छोडेर भोजन गर्ने स्त्री पनि नरकमा जाकिन्छन् भनिएको छ । नास्तिक, इश्वर र परमात्मालाई नमान्ने, मर्यादा तोड्ने, कञ्जुस, पाखण्डी, कृतघ्न तथा स्वार्थी पनि नरकमा पुग्छन् भनिएको छ। यस्ता विभिन्न प्रकारका पाप गर्ने मनुष्यहरुको पुनर्जन्म हुँदा तिनीहरु के के बनेर जन्मन्छन् तथा पापी र धर्मात्माको प्राण शरीरको कुन कुन भागबाट जान्छ भन्ने काल्पनिक कुराहरु पनि गरुड पुराणमा उल्लेख गरिएको छ ।

 

गरुड पुराणमा जीवनका विभिन्न संस्कारहरु र त्यसमा पनि मृत्यु संस्कार गर्ने विधि तथा दान–दातव्य वारे पनि विस्तारमा बताइएको छ तथा हिन्दु संस्कारमा गंगाजीको महत्व कति छ भन्ने पनि दर्शाइएको छ । यसमा के पनि भनिएको छ भने आफ्नो नातागोता बाहिरको कुनै व्यक्तिको कोही इष्टमित्र छैन भने त्यस्तो व्यक्तिका लागि विभिन्न आवश्यक धार्मिक संस्कार आफुले गरीदिनाले ठुलो धर्म हुन्छ र त्यस्तो व्यक्ति स्वर्गमा पुग्छ । तर आफ्नै परिवारजनको धार्मिक संस्कार समेत राम्ररी नगर्ने आजको युगमा अरुको लागि त्यस्ता संस्कारहरु गरीदिने मानिस भेटिन असम्भव जस्तो नै हुन्छ । 

 

गरुड पुराणमा उल्लेखित काल्पनिक तथा अव्यावहारिक कुराहरुलाई त्यति ध्यान नदिएर त्यसमा उल्लेख गरिएका असल र खराव कामहरुलाई मनन गर्ने हो भने यसको श्रवणले मानवजातीलाई सार्थक जीवन जिउन निकै मद्दत पुर्‍याउँछ, तर यसमा जातपातको चरम भेदभाव गरिएको र स्त्रीजातीलाई ज्यादै निचा बनाइएको तथा यीनले कुनैपनि कर्मकाण्ड गर्न नहुने जस्ता भेदभावपुर्ण कुराहरु समेत निकै धेरै ठाउँहरुमा उल्लेख भएकाले त्यस्ता कुराहरुलाई पनि समयसापेक्ष रुपमा परिमार्जित गरेर लग्नु राम्रो हुन्छ। समग्रमा समाजलाई अनुशासित राख्ने गरुड पुराण एक उत्कृष्ठ धर्म ग्रन्थ हो ।

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार