• शनिबार १०-३-२०७७/Saturday 01-16-2021
रंगमञ्च

‘स्टेज बाहिर गएर एकैछिन रोएँ’

काठमाडौं । शिल्पीमा एकपछि अर्को नाटकको कार्यशाला गर्ने क्रममा अर्को एउटा कार्यशालाको सुरुवात भयो–२०७० जेठ २५ देखि असार ६ गतेसम्म । बर्दिया र कपिलवस्तुबाट आएका साथीहरूले नाटकमा कलाकारको रुपमा काम गर्दै थिए र त्यसमा म पनि सामेल हुन पुगेँ । १५ दिनको कार्यशालामा म ६ दिनमात्र उपस्थित भएकी थिए । एकदिन नाटकको विषयमा छलफल गर्ने क्रममा बोक्सी कुप्रथाको बिषयमा छलफल भयो । केही साथीहरूलाई बोक्सी हुन्छ भन्ने कुरामा विश्वास रहेछ । यो सुनेर म त छक्क परेँ । तर म भने यस्तो अन्धविश्वासका कुराहरुलाई आफ्नो मनबाट हटाउन सक्षम भइसकेकी थिएँ ।


ठिक त्यहि समय नाटक निर्देशक युवराज घिमीरेले भने ‘जबसम्म तिमीहरू आफूलाई विश्वास गर्दैनौ, तबसम्म आफूले गरेको अभिनयबाट दर्शकलाई पनि विश्वास दिलाउन सक्दैनौ ।’ सायद त्यो कुरा सबैले मनन गरे होलान् । नाटकमा धेरै छोरीहरूको दुःख समेटिएकोले नाटकको नाम ‘दुःखी छाई’ राखियो ।


पहिलो प्रदर्शन कीर्तिपुर क्याम्पसमा गर्न लाग्दा अस्तुनी (बोक्सी) को भूमिकामा रहेकी साथीलाई अलि असहज भएको मैले महसुस गरे । मनमा भने खुल्दुली भईरहेको थियो। केही बोलिनँ । नाटक भने राम्रो भयो । नाटकमा छोरीहरूको कथा ढेंकीले भन्ने र दहित थरको घरमा ढेंकी भएकाले पछि सबैको सल्लाहमा नाटकको नाम दहितान ढेंकी हुन पुग्यो ।

 

 

यात्राको पहिलो प्रदर्शन तनहुँमा भयो । नाटकमा थारू, अवधी र नेपाली भाषाको प्रयोग थियो । नेपाली भाषा बोल्ने म मात्र थिएँ । नाटक प्रदर्शनका क्रममा कति ठाउँमा दर्शकहरूले मलाई थारू भाषाको प्रयोग गरेको भए राम्रो हुन्थ्यो भने । म पनि त्यही चाहन्थे तर सम्भव थिएन । मेरो मातृभाषा परेन । तै पनि दर्शकले दृश्य कै माध्यमबाट बुझेको देख्दा मन हर्षित भएर आउँथ्यो । 


नाटकमा लाठीको प्रयोग भएको थियो । एकदिन नाटककै क्रममा साथीले चलाएको लाठीले मेरो हातमा बेस्सरी लाग्यो । त्यति नै बेला बेहोस हुँलाझैँ भयो तर मैले आफूलाई समाल्दै नाटक सम्पन्न गरे । त्यसै दिनको दोस्रो प्रदर्शनमा त्यही हातमा फेरि लाठीले लाग्यो । अब भने सहनै नसक्ने स्थितिमा पुगिसकेकी थिएँ । नाच सकिने बित्तिकै स्टेज बाहिर गएर एकैछिन रोएँ अनि पीडा लुकाउँदै पुनः आफ्नो चरित्र निर्वाह गर्दै दर्शकसामु प्रस्तुत भएँ । अहिले पनि दहितान ढिंकीको नाटक–यात्रा सम्झँदा रमाइलो लाग्छ ।

 


जब म आफ्नो चरित्र निर्वाह गरिरहेकी हुन्थे, मैले आफूलाई १४ बर्षे चम्फी सम्झन्थेँ । जो आफ्नै घरमा दाईभन्दा ठगिएकी थिई । नाटक सकिएपछि दर्शकसँगको अन्तरक्रियामा समाजमा भएका समस्याहरू झल्किन्थे । कतिपय दर्शकले नाटकले समाज परिवर्तनको चुरो समाएको भन्थे । कुनै ठाउँमा त आफ्नो नाम भन्दा पापै लाग्ला झैँ भन्नै हिचकिचाउँथे । बोक्सी प्रथाबारे उल्टै हामीलाई सम्झाउन खोज्थे । त्यस्तै कतिपय बोक्सीको विश्वासमा चुर्लुम्म डुबेका देखिन्थे । हामी पनि के कम बोक्सी भए हामीलाई देखाइदिनु, देखाउन सक्नुभएन भने तपाईहरूलाई नै कारबाही गर्छौँ भन्थ्यौं हामी र यो सुन्दा उनीहरु डराउँथे । एक ठाउँमा त एउटी बहिनीले  बोक्सी छ भनेर देखाउन लगिन् । हामी पनि उत्सुक्तासाथ हेर्न गयौं । निक्कै बेरको हिँडाइपछि त्यो घर आइपुग्यो । घाँस काट्ने मेशिनमा फोटो खिच्ने बाहना गर्दै त्यस घरको आँगनमा प्रवेश गर्यो । ती बहिनीले इशाराले एक महिलालाई देखाइन् । उनी त्यहाँबाट डराएर उम्किन खोजिन् । मैले उनलाई हातमा समाएर खाटमा बसाएँ। पानी मागेर पियौं । आँप सुकाएको थियो । मैले मागेर आँपका चाना खाएँ । ती महिलालाई छोएँ । यो सबै देखाएर ती बहिनी भित्र गडेको अन्धविश्वासको जरालाई उखेल्न खोजे । 


बिचरी ती महिला जसले  हामीलाई पाहुना सम्झेर आदर सम्मान गरिरहेकी थिइन् । अस्तुनि (बोक्सी) को भूमिकामा रहेकी कलाकार साथीले आफूमा भएको अन्धविश्वास तोडिएको कुरा सुनाइन् ।


हामीले नाटक देखाउँदा कति दर्शक परिवर्तन भए भएनन्, त्यो मलाई थाहा छैन तर अन्धविश्वास बोकेरै आफ्नो चरित्र निभाइरहेकी पात्र भने परिवर्तन हुँदा एकदमै खुशी लाग्यो ।    

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार