• आइतबार १०-११-२०७७/Sunday 01-24-2021
विचार

उखु किसानका पीर मर्का कसले सुनिदिने ?

नेपालको दक्षिणी भागमा रहेको तराईको घमाइलो तथा उष्ण तापक्रम र यहाँ पानीको राम्रो उपलब्धता र मलिलो जमिनले गर्दा उखु खेतीको निम्ति यो क्षेत्र निकै उत्तम मानिन्छ भने उखु खेती एक फाइदाजनक नगदेवालीको रुपमा गनिएको भएको छ । नेपालमा करिव ७५,००० हेक्टर जमिनमा उखु खेती गरिन्छ भने विभिन्न वाधा र व्यवधानका वावजुद पनि हालका वर्षमा उखुको उत्पादन वर्षेनी बढेर करिव ४० लाख टनको हाराहारीमा पुगेको छ । विश्वमा नेपाल उखु उत्पादनमा ४१औँ स्थानमा पर्छ। त्यस्तै किसानहरुको करिव १ लाख घरपरिवार उखु खेतीमा संलग्न छ । तर अहिले नेपालका उखु किसानहरु फेरी आन्दोलित भएका छन् भने, सरकार चलाईरहेका तथा गरिव मजदुर र किसानको पार्टी भन्न रुचाउनेहरु यस्ता सबै मुद्दाहरुलाई थाती राखेर आआफ्ना गुटका सभाहरु गर्न नै व्यस्त छन् भने किसानहरु सडकमा नै कठ्याङ्ग्रिएर मर्न परे पनि आफुले पाउनु पर्ने रकम लिएरै मात्र फर्कने अडानमा बसेका छन् । प्रत्येक साल यस्तै बेला तिर उखु किसानहरु आन्दोलित हुनुपर्ने वाध्यता नेपालमा सँधै छ भने उनिहरु त्यति राम्रो र फाइदाजनक वस्तुको खेती गर्दा पनि सँधै गरिव नै रहन्छन् र साहु तथा बैंकहरुको ऋणमा चुर्लुम्म डुबेका हुन्छन् ।

 

प्रमुख नगदेवालीको हिसाबले उखुको सम्भावना नेपालमा निकै धेरै भएपनि यसको खेती गर्ने किसानहरु किन प्रत्येक वर्ष चरम पिडाको रोदनमा डुब्न बाध्य हुन्छन् ? उखु मात्र होइन, पटुवा, चिया, कफी, अदुवा, अलैँची वा तरकारी र फलफुल तथा अन्य वस्तुहरुका उत्पादक किसानहरु पनि विभिन्न अप्ठ्यारा परिस्थितिले गर्दा नेपालमा सँधै पिडित नै भइराख्दछन्। के यस्ता परिस्थितिहरुबाट यिनीहरुलाई बचाउने र पार लगाउने काम सरकारको, विभिन्न सम्बन्धित मन्त्रालयहरुको, सबै पार्टीहरुको होइन र ? भन्नै पर्दा तिनै किसानहरुले उत्पादन गर्न नसकेमा के त्यो उद्योग वाणिज्य महासंघ, परिसंघ वा च्याम्बर अफ कमर्संका कुर्सीहरुमा आसिन उद्योगी र व्यापारीहरुको पनि कुनै शान, मान र इज्जत रहन्छ ? तर अचम्म, यसरी प्रत्येक वर्ष करोडौँ रुपैयाँको ठगीमा पर्न वाध्य लाखोँ साना किसानहरुका आवाज सुन्न कुनै पनि पक्ष किन तयार हुँदैन र त्यसरी ठग्ने उद्यमी र व्यापारीलाई उचित सजाय दिनुको साटो राज्यले तिनको बचाव किन गर्छ सँधै ? कृषिप्रधान मुलुकका किसान नै विभिन्न प्रकारका मर्कामा पर्नु पर्छ भने के उनीहरु कृषिमा नै लागि राख्न चाहलान् त ? कहिले विउ–विजनको समस्या, कहिले मलखादको समस्या, ऋण पाउन त्यस्तै समस्या त कृषि सम्बन्धी तालिम विना नै पुरातन तवरले खेती गर्नुपर्ने वाध्यता, पानीको लागि आकासको भर पर्नुपर्ने त निकै साना साना खेतमा रोपाईँ गर्नुपर्ने, अनि त्यस माथि सिधा बजारको अभावले गर्दा आफ्नो कृषि उपज बिचौलियाको हातमा सस्तोमा सुम्पन वाध्य हुनुपर्ने र त्यसो गर्दा पनि आफुले पाउनु पर्ने रकमको भुक्तानी समयमा नहुने ।


उखु वा अर्को शव्दमा गुलियो खाद्य विश्वका सबै ठाउँमा बस्ने मानव जातीको दैनिक भोजनमा नभई नहुने वस्तु हो । विना काम गुलियो र तागतीलो खाना खाने वर्गलाई चिनी रोग यानी डायविटिजले निकै सताउने भएता पनि परिश्रमी मानिसहरुलाई यो निकै पोषक र स्वास्थ्यवर्धक खाद्य पदार्थ हो । मिठाई, चिया–नास्ता, तथा अन्य धेरै परिकारहरु र कैयन् औषधीका लागि समेत गुलियो नभइ नहुने सामग्री हो । विश्वमा गुलिया पदार्थको निम्ति गरिने खेतीमा उखु र चुकन्दर प्रमुख वस्तु हुन् । सन् २०१९ मा मात्र विश्वका १२० मुलुकहरुले करिव १६.६ करोड मेट्रिक टन चिनी उत्पादन गरे। यस मध्ये ८० प्रतिशत चिनी उखुबाट र २० प्रतिशत चिनी चुकन्दरबाट उत्पादन हुन्छ। चिनीको लागि चुकन्दरको खेती उत्तरी गोलाद्र्वका खासगरी युरोपिय राष्ट्रहरु र दक्षिण अमेरिकामा गरिन्छ। विश्वमा चिनी उत्पादन गर्ने पाँच प्रमुख राष्ट्रहरु व्राजिल, भारत, चीन, थाइल्याण्ड र संयुक्त राज्य अमेरिका हुन् भने युरोपियन युनियनसँग सम्बद्ध राष्ट्रहरुले पनि निकै ठुलो परिमाणमा चिनी उत्पादन गर्दछन्। उखु खेती गर्न निकै धेरै मेहनत गर्नुपर्ने र यो उष्ण तापक्रम भएका क्षेत्रमा फस्टाउने भएकोले उखुका खेतहरुमा विभिन्न प्रकारका शर्प तथा अन्य विषालु जीव तथा किटाणुहरु समेत हुने गर्दछन्, त्यसैले जो कोहीले यसको खेती गर्न सक्दैनन्। अफ्रिकाका काला जातीहरुलाई उखु खेती कै लागि कमारा कमारी बनाएर अमेरिका तथा अन्य टाढाका मुलुकहरुसम्म लगिएको थियो भने लाखौँ भारतीय र नेपालीहरु फिजी जस्तो अनकण्टार टापुसम्म पनि उखु खेतीका लागि पुगेर उतै बसोवास गरेका थिए । 

 

नेपालमा खासगरी मेशीनबाट भन्दा पनि परम्परागत तरिकाले उखु खेती र यसको कटानी हुन्छ, जसले गर्दा श्रम शक्तिमा नै करिव ५० प्रतिशत खर्च लाग्दछ। उखुका वोटहरु रोप्ने देखि लिएर यसमा मलजल गर्ने, गोड्ने, विभिन्न रोगव्याधीबाट यसलाई बचाउने र कटान गर्ने प्रकृया निकै जटिल किसिमको हुन्छ र यसमा धेरै मेहनतको जरुरत पर्दछ भने हरेक बालीबाट कुल खर्चको करिव ३५ देखि ४० प्रतिशत जति आम्दानी गर्न सकिन्छ । यति महत्वपुर्ण नगदेवालीलाई आधुनिकिकरण गर्ने वारे नेपालमा खासै कुनै काम भएको छैन, सिवाय केही अनुसन्धानात्मक औपचारिकता वाहेक । 


राम्रोसँग चलाउन सके चिनी मिलले उखुका कुनै पनि भाग खेर नफालिकन चिनीका विभिन्न प्रकारको उत्पादनका साथै अल्कोहल, मोलासेस, औद्योगिक ब्वाइलरहरुका इन्धन, कागज, मल तथा अन्य रसायनिक पदार्थहरु र विजुली समेत उत्पादन गरेर अन्य सम्बन्धित कारखाना, व्यवसाय र समुदायलाई विक्री गर्न सक्दछ भने थप हजारौँको संख्यामा रोजगारीको पनि सिर्जना गर्न सक्दछ। किसानहरुको हकमा उनीहरुले सिधै उखु बेच्नुको अलावा कारखानामा पुर्‍याउन नसकेको उखुबाट सक्खर र खुदो उत्पादन गर्नुका साथै बजारमा उखुका साना साना टुक्रा बनाएर बेच्ने र उखुको रस निकाल्ने साना व्यवसायीहरुलाई बिक्री गर्न सक्दछन् । यसको अलावा उखुको बोटबाट गाई वस्तुको आहारा बनाउन, छाना छाउन, तथा यसको चोयाबाट विभिन्न वस्तुहरु बनाएर बेच्न पनि सकिन्छ भने घरायसी खपतको निम्ति केही मदिरा पनि उखुबाट बनाउन सकिन्छ । व्राजिल लगायत कैयन् मुलुकहरुमा उखुबाट इथानोल भन्ने रसायनिक पदार्थ पैदा गरेर यसबाट गाडी तथा अन्य मेसिनहरु समेत चलाउने गरिन्छ भने पेट्रोलियम पदार्थको आयातसमेत घटाएर बचेको वैदेशिक मुद्राको उपयोग अन्य आवश्यक क्षेत्रहरुमा गर्ने गरिन्छ ।

 

प्रत्येक वर्ष झैं यो वर्ष पनि नेपालका उखु किसानहरुले अधिकांश चिनी मिलहरुबाट उखु विक्री रकमको भुक्तानी पाएका छैनन्। झण्डै एक दर्जनको संख्यामा रहेका तथा ठुला औद्योगिक घरानाबाट सञ्चालित चिनी मिलहरु मध्य आधाजसाले हजारौँ किसानहरुलाई झण्डै ९० करोड रुपैयाँको हाराहारीमा भुक्तिनी दिएका छैनन्। सँधैजसो किसानहरु आन्दोलित नहोउञ्ज्यालसम्म उनीहरुले आफ्नो फसलको आम्दानी रकम पाउँदैनन्। नेपालमा भएका अधिकांश चिनी मिलहरुले चाहिए जति उखु प्राप्त गर्न नसक्ने भएकाले यिनीहरु पुरा क्षमतामा चल्नै पाएका छैनन् भने नेपालमा उत्पादित चिनीले नपुगेर वर्षेनी ठुलो परिमाणमा विदेशबाट समेत आयात गर्नुपर्ने स्थिति छ। यसरी आफ्नो उत्पादनको सबै चिनी र अन्य उत्पादित वस्तुहरुको पुरापुर विक्री हुने भएपनि यी चिनी मिलहरुले किसानहरुलाई उनीहरुले पाउनु पर्ने रकम समयमा नदिएर झुलाएर राख्ने र शोषण गर्ने गर्दछन्। हिजोआज उद्योगी र व्यवसायीहरु नै बैंकका मालिक र सांसद हुने परिपाटीले गर्दा उनीहरुको धन सम्पत्ति पनि निकै बढेको छ भने विभिन्न राजनीतिक पार्टीका नेताहरुसँग पनि उनीहरुको घनिष्ट सम्बन्ध र साँठगाठ स्थापित भएको छ । त्यसैले गरिव किसानलाई शोषण गर्न उनीहरु कत्ति पनि हिच्किचाउँदैनन् र उनीहरुलाई कुनै किसिमको सजाय पनि हुँदैन। भारत कै कुरा गर्दा यसरी गरीव किसानहरुको रकम भुक्तानी नगर्ने उद्यमीहरुलाई जेलको कठोर सजाय समेत हुने गर्दछ ।

 

राजनीतिक नेताहरु र कैयन् प्रशासकहरु बाहिर एउटा कुरा गर्छन् र भित्र भित्र यस्ता उद्योगी व्यवसायी कै स्वार्थको संरक्षण गर्ने काम गर्दछन्। हालै मात्र एक राष्ट्रिय दैनिक छापामा उद्योग वाणिज्य तथा आपुर्तिमन्त्रीले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारवाही नगर्न नेताहरुबाटै दवाब आइरहेको कुरा बताएका छन् जबकी तिनै नेताहरु सामाजिक सञ्जाल ट्वीटरमा किसानको बक्यौता भुक्तानी गरी न्याय दिनुपर्ने भनेर लेख्ने गर्दछन् र किसानका आन्दोलनमा समेत पुगेर उनीहरुको हितमा बोले जस्तो अभिनय गर्दछन्। आज नेपालमा गरीव मजदुर र किसानका हिमायती भनिएका कम्युनिष्टहरुको शासन हुँदासमेत यी वर्गले ठुलो अन्याय र अत्याचार सहनु परेको छ भने नेताहरु आफु आफुमा झगडा गर्न, पार्टी फुटाउन र संसद भंग गर्नमा नै व्यस्त छन् । आफुलाई प्रजातन्त्रवादी र राष्ट्रवादी भन्ने सबै नेता र पार्टीहरुले जनता, प्रजातन्त्र र राष्ट्रियताको उपहास गरिरहेका छन् ।

 

आफ्नो उत्पादनको भुक्तानी नपाएपछि दर्जनौँ पटक संघीय राजधानीका विभिन्न मन्त्रालय धाएर पनि केही सिप नलागेको कुरा धेरै किसानहरु सुनाउँछन्। यसरी विभिन्न ठाउँमा धाउन पनि धेरै खर्च लाग्छ र सोको लागि पनि ऋण लिनु र आफुसँग भएका अन्य कृषि उपजहरु बेच्नुको विकल्प हुँदैन उनीहरुसँग ।

 

उखु खेती निकै फाइदाजनक भएपनि बेलामा भुक्तानी नपाउने र यसको मूल्य निर्धारण गर्ने वैज्ञानिक विधिको पनि नेपालमा विकास नभएकोले किसानहरुको आकर्षण उखु खेतीबाट हट्दै गएको छ । उचित प्रविधिको उपयोग हुन नसक्नु, एकिकृत खेतीको अभावले गर्दा उत्पादनमा कमी र खर्च बढी, सरकार, चिनी उत्पादक महासंघ र किसान बीच चिनीको यथोचित र समय सापेक्ष मूल्य निर्धारण हुन नसक्नु, औपचारिक क्षेत्रको ऋणमा कम पहुँच, कृषि वीमाको व्यापकीकरण भइनसक्नु, उन्नत वीउ र मलको अभाव, वित्तिय साक्षरताको कमी, तथा अशिक्षा र गरिवी अनि सरकारी क्षेत्रको निष्कियताले गर्दा नेपालमा कुनै पनि नगदेवालीको उचित विकास हुन सकेको छैन। तर कृषि विकास वारेका सरकारी नीतिहरु निर्माण भइराख्ने र यस सम्बन्धि निकै धेरै आयोजनाहरु सञ्चालनमा आइराख्ने भए पनि आयोजनाको समाप्तीसँगै कार्यान्वयन र निरन्तरताका सबै पक्षहरु विस्तारै शिथिल हुँदै जान्छन्।

 

यस्तै परिपाटी कायम भईनै रहने हो भने एकदिन महा–विद्रोहको आगो दन्किन पनि बेर लाग्ने छैन । त्यसैले समयमा नै सजग हुनु र आफुलाई एक्काइसौँ शताव्दीको मानवको रुपमा ढाल्दै जानु नै सबैको हितमा हुनेछ। आफ्नो साथसाथै अरुको समेत हित हेर्नेले मात्र सच्चा इलम र व्यवसाय गर्न सक्दछ, नकी निमुखा र गरिव किसानलाई रुवाएर उनको आँशुको भारा बोकेर धन कमाउनेले । उखुको अनुसन्धान, विकास र चिनी तथा अन्य वस्तुहरुको यथोचित उत्पादन, विक्री–वितरण तथा उखुसँग सम्बन्धित विभिन्न प्रकारका योजना बनाउने, नीति निर्माण गर्ने अनि मुद्दा, विवाद र समस्याहरु समाधान गर्ने उद्देश्यले नेपालमा एक सर्वपक्षीय उखु वोर्डको नै स्थापना हुनु जरुरी हुन्छ । 

 

(लेखक विकास अर्थशास्त्री र पुर्वबैंकर तथा नेपाल एकल व्यक्तित्व समाजका अध्यक्ष समेत हुन्)

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार