• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

‘तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्नू’

काठमाडौं । सरकारले प्रक्रिया पुरा गरेका कोरोनाका बीमितलाई बीमा रकम ३ दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको छ। 

 

पछिल्ला दिनमा कोरोना बीमा दाबी भुक्तानीमा अन्योल सिर्जना भएको तथा बीमकले सास्ती झेल्नुपरेको भन्दै मन्त्रालयले कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीको भुक्तानी तीन दिनभित्र दिन निर्देशन दिएको हो । मन्त्रालयले बीमा समितिलाई पत्र लेख्दै बीमा दाबी भुक्तानी गरेको विवरण दैनिक रूपमा जानकारी गराउन पनि निर्देशन दिएको छ ।

 

त्यस्तै ‘भेरिफिकेसन’ गर्न बाँकी दावीको यथाशीघ्र भेरिफिकेसन सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि सरकारले भनेको छ।  कोरोना दावी भुक्तानीका सम्वन्धमा देखिएका समस्याहरु पनि जानकारी गराउन भनिएको छ।

 

‘कुन कुन बीमा कम्पनीमा कति संख्यामा दावी परेको विवरण पेन्डिङ रहेको छ, सोको विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के प्रयास भइरहेको छ ? यस मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नुपर्ने विषयहरु के के हुन्, यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनुहुन निर्देशन गरिन्छ’ अर्थले समितिलाई भनेको छ। 

 

दाबी भुक्तानीमा देखिएका समस्या, भुक्तानी गर्न बाँकी विवरण र समस्या समाधानका लागि बीमा समितिबाट भइरहेको प्रयासका बारेमा पनि जानकारी गराउन भनिएको मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले जानकारी दिए । कोरोना बीमा दाबी भुक्तानीलाई सरल बनाउन मन्त्रालयलबाट सहजीकरणका लागि गर्नुपर्ने पहलका बारेमा पनि जानकारी गराउन समितिलाई आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार