• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

'सरला’ मा मधेशको कथा 

काठमाडौं । मधेशी समुदायमा दाइजो प्रथाले जरा गाडेको छ । कसैको घरमा छोरीको विवाहको कुरा चल्न थालेपछि दाइजोको प्रसंग सुरु हुन्छ ।

 

बिहेमा के के दिने, कति दिने, कसरी जोहो गर्ने भन्ने विषयमा छोरीका बुबा, आमा तथा घर परिवारका सदस्यले विचार गर्न थाल्छन् । सम्पत्ती नभएपनि विवाहमा ऋण गरेर दाइजो दिनुपर्ने एक प्रकारको बाध्यता केही परिवारमा रहेको छ ।

 

दाइजो प्रथाले मधेशी समुदायमा असमानता, उत्पीडन, हत्या तथा हिंसा जस्ता जघन्य सामाजिक अपराधलाई पनि टेवा दिइरहेको छ ।विवाहपछि महिलाले दाईजो नल्याएको वा कम ल्याएकै बहानामा घरपरिवारका सदस्यहरूबाट नै अपहेलित हुनुपर्ने, शारीरिक तथा मानसिक तनाव खेप्नुपर्ने, कुटपिट, गालीगलोज गर्ने जस्ता घटना पनि त्यो समुदायमा सामान्य बनेको देखिन्छ ।

 

मधेशी समुहायमा व्याप्त दाइजो प्रथाले परिवारमा उत्पन्न कलहको विषयमा निर्माण भएको म्यूजिक भिडियो ‘सरला’ सार्वजनिक भएको छ । मधेशी समुदायमा हुर्के-बढेका अभिनेता नाजिर हुसेनले भिडियोमा अभिनय गरेका छन् । उनलाई अनु थापाले साथ दिएकी छन् । अन्तरजातिय प्रेम विवाह गरेपछि नाजिरको परिवारले दाइजो नल्याएको भन्दै अनुमाथि गरेको नराम्रो व्यवहारलाई भिडियोमा देखाइएको छ ।

 

गीतले नाजिर र अनुबीचको प्रेमभाव व्यक्त गरेको छ । निशान भट्टराईको स्वर रहेको गीतमा सुवास भुषालको संगीत र प्रलाहद शाहको शब्द रचना छ । विकास सुवेदीको कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई सागर प्रधानले खिचेका हुन् । गीतको भिडियोमा जीवन थापाको सम्पादन तथा कलर रहेको छ । एरेञ्ज उदयराज पौडेलले गरेका हुन् । गीतले मधेशी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको समस्या र पीडासँगै दुई फरक समुदायका युवा(युवतीबीचको प्रेम देखाइएको निर्देशक सुवेदीले बताए ।

 

उनले भनेका छन्, ‘भिडियोबाट कहानी भन्नुपर्छ भन्ने चिज मैले एकदमै ढिलो महशुस गरेको हुँ । हुनत, आज पनि म्यूजिक भिडियोलाई कथा भन्ने चिज हो भनेर स्वीकार गर्न नसकेको अवस्था छ । तर, मलाई चाहिँ भिडियोबाट पनि राम्रो कथा भन्न सक्छौं भन्ने लाग्छ । र, यो इतिहास बदल्ने जिम्मा पनि मेरो पुस्ताका निर्देशकहरुको हो । यस हिसाबले गीतको भिडियो फरक बनेको छ भन्ने मलाई लाग्छ ।’

 

गएको १/२ वर्षको अवधिमा प्रदेश नं. २ का विभिन्न ठाउँ भ्रमण गर्दा मधेशी समुदायका पीडालाई नजिकबाट महशुस गरेका कारण भिडियोमा मधेशी समुदायको कथा प्रस्तुत गरेको उनले बताए । उनी भन्छन्, ‘मधेश र पहाडको जीवनलाई कनेक्ट गर्नका लागि भिडियोमा मैले मधेशको कथा उठाएको हुँ । यो भिडियोले पहाड र मधेश जोड्ने सेतुको रुपमा काम गर्ने विश्वास छ ।’

 

नाजिर हुसेनले मधेशी समुदायको समस्या र पीडा बुझ्ने भएकाले भिडियोका लागि छनोट गरेको निर्देशक सुवेदीले बताए । ‘मैले भिडियोको कहानी सुनाएको दिन नाजिर रोएको थियो। यो कथालाई नाजिरभन्दा बाहेक अरुले बोक्न सक्छ जस्तो मलाई लाग्दैन। त्यसैले नाजिरसँग पहिलो पटक भिडियोमा सहकार्य भयो,’ उनले भने । भिडियोमा दुई फरक समुदायको कल्चरलाई पनि मिक्सअप गर्न खोजिएको उनले बताए।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार