• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

झुम्म्री

बिश्व अपाङगता दिवस

गाउँका धामीहरु एकाएक हराएको खवर सनसनीपुर्ण रुपमा फैलिन्छ। गाँउले माझ यो खबरले ठुलै रुप लिन्छ। चर्चाको बिषय पनि बन्न पुग्छ । कुरा अघि बढ्दै जाँदा त्यो गाउँका मात्र होइन जिल्लैभरिका धामी झाँक्री एकाएक गायब भए। कुरा झनै सनसनी पुर्ण रुपमा फैलिन्छ । तीनै धामी झाँक्री मध्यको एक हो नुने धामी । हुन त उसको नाम नानीकाजी कार्की हो तर उसकी आमा नुन लिन शहर झरेको बेला बाटैमा जन्मिएको रे त्यसैले उसको नाम नुने धामी गाउँमाझ प्रख्यात छ। बैद्यका घर बुढी गलगाँड, ज्योतिषीका घर छोरी राँड भने झै नुनेले वल्लो पल्लो गाउँका समेत कस्ताको बिमारी झारफुक,छुमन्तर बाटै ठिक पारेको छ। तर आफनै एक मात्र सन्तान जुनुलाई भने केहि गर्दा निको पार्न सकेन । कस्ता कस्ता नाम चलेकालाई देखाउँदा पनि न देख्न सक्ने न सुन्न सक्ने बहु अपांग जुनुको रोग निको पार्नु त के खुट्याउन समेत सकेन । 

 

नुनेको एकछिन बास घरमा नहुने उसकी बुढी देउतीलाई घरधन्दा भारो पर्ममै दिनजाने भएसी नुनेले उपाय निकाल्यो र अचेल जुनु गाई बस्तु झै दाम्लोले कम्मरमा बाँधिए रहन बाध्य भईन। उनको परिचय पनि जुनुबाट झुम्म्री बन्न पुग्यो । यो कुरा खै कताबाट हो एउटा युटुवरले सुनेछन्। युटुव च्यानलमा हेडलाईन सहित भाइरल बन्न पुगिन झुम्म्री । धामी झाँक्री एकाएक गायव भएको कुरो त गाउँमा मात्र सिमीत थियो तर झुम्म्रीको यो खबर रातारात राष्ट्रिय रुप लिन सफल भयो, संचार माध्यमको खेती बन्यो, मानव अधिकारवादी संस्थाहरुले धाँटी सुक्नेगरि कुलर्न पाए । मानव अधिकार हननको अभियोगमा नुने र देउती जेल पनि परे तर जुनुको अवस्थामा केहि परिवर्तन आएन। उनी हिजो पनि दाम्लो मै थिइन र आज पनि।
 

उता हराएका धामी झाँक्रीका बारे गाँउमा लख काट्ने धेरै भईसके। खोई कुन्नी कता हो यी धामी झाँक्री बिद्या सिकाउने बिदेशबाट ठुलै मुन्छे आएको छ रे त्यही भएर सबै बेपत्ता भएका रे, तिमीले त्यो सुन्या रहेछौं मैले त देशैभरका यी डाङग्राहरु मिलेर पार्टी नै पो खोल्दै छन् रे भन्ने पो सुने त । यस्तै अड्कलबाजी मै तीन महिना बितेपछि हराएका धामी झाँक्रीहरु एकदुई गर्दै सबै घर फर्के र  गाउँका घर दैलो छिर्न थाले। यिनीहरुको यस्तो चर्तिकलाले गाउँलेहरु तीन छक परिरहेका थिए । यिनीहरुको यो गतिविधिले गाउँलेहरुमा क्रास फैलियो । पल्टने बुढा चौतारोमा बसी कुर्लदै थिए यी डाग्रांहरुको बिद्या पुर्ण भएन छ कि के हो ? गाउँ नै सोलोलो पार्न घरघर बिमारी खोज्दै हिड्न थालेकाछन् हेर है बाबै हो । अरु त अरु हिजोसम्म अस्पतालको नाम लिँदा पनि  ठोक्दाठोक्दैको ढ्याङग्रो फालेर हिडने डा.आज ननिको खटिरो आयो फुक्देउन भन्न जाँदा पनि यो पुर्जी लिएर अस्पताल गईहाल्नु भन्न थालेपछि गाउँलेहरु ससंकीत हुनु स्वभावीक नै हो। यसो मेसो पर्दा कहाँ गएका थियौ यतिका दिन भनी सोधे जवाफमा तै चुप मै चुप। वास्तबमा सदरमुकामको मिसन अस्पतालमा बिरामी आउन छोडे पछि बिरामी अस्पताल नपुग्दै रोकीने बिन्दु भनेको धामी झाक्री हो भन्ने ठहर गरी गोप्य रुपमा तिनै धामी झाक्रीलाई तिन महिने प्राथमिक उपचार तालीमको आयोजाना गरेको रहेछ। तालीम पश्चता धामी झाक्रीले बिरामीलाई पुर्जी सहित अस्पताल पठाएमा बापत केहि रकम पनि पाउने ब्यबस्था गरेकाले धामी झाक्री गाउँ फर्की घरघर छिरेका रहेछन्। अस्पतालको सबैमा स्वास्थ्य पहुँको उदेश्य पुरा पनि यता धामी झाक्रीले पैसो नि पाउने। गजबको जुक्ती निकालेका रहेछन् । 

 

झुम्म्रीको बारे छापिएको समाचार पछ्याउँदै एक हेर्दा भलादमी लाग्ने अन्न्दाजी ५० का व्यक्ति नुनेका घर आईपुग्छन् । नुनेको त के बास हुन्थ्यो र घरमा ? देउती भर्खर मेलाबाट फर्केकी हुन्छिन । व्यक्ति भिरेको झोला बिसाउँछ । देउती भित्र बहिर गर्छिन । को आयो आएन मतलब गर्दिनन् । हुन पनि उनका घर अहिले सम्म कति आए आए । कहिले पत्रकार भनेको छ ,कहिले को जाति ,कहिले फलानो काम गर्ने, कहिले के वाक्क भईसकेकी छन् देउती । बहिरबाट भित्र छिर्न लाग्दा मेसो मिलाएर कुरो सुरु गर्छन ति भलादमी नानी तपाई की छोरी रु कति कि भइन ? यी र यी जस्तै करिब दर्जन प्रश्न गरे होलान भलादमीले उत्तर मा देउतीले ढाँडे आँखा तरिन भलादमी चुप भए । निकै बेर पछि देउती नाम्लो र हँसीया भिर्दै सोध्न बाँकी भए सोधम् नत्र म त घाँस हिडे । हैन हैन ठिकै छ म नानीसँगै बस्दै गर्छुनी, भलादमी हँसिलो पारामा जवाफ फर्काउँछन् । ढिलो होला क्यारे म घाँस काटेर फर्कदा त क्यार्नु हुनी हो ? होइन मेरो चिन्ता नलिनु म त एकदुई दिन यतै बस्ने भनेर आको । देउती क्वार क्वार्ती हेछीन । बास त पाइएला नी तपाईकोमा ? हसिया नाम्लो पिंढीमा फाल्दै खै उसका बाउ आएसी जे भन्लान, टिम्कीँदै भित्र पस्छिन। भित्रैबाट अनि गाली गर्न त आउनु भएको होला नी ? हामीले यही जानिम यही गरिम पापी भने नी भन्नु जे सुकै भन्नु । भलादमी कुरोमा प्रवेश गर्दै आफना सन्तालाई दुख कटाउन, पशु झै बनाउन कुन बाउआमाको मनले देला र। तपाईहरुले जति यी नानीको भलाईका बारे अरुले एकछेउ पनि सोच्न भ्याउन्न् । हेनुर्स गाँलेको काम गाउने हो गाउन दिनुस। बासबस्ने मेसो मिउलाउने सुरमा छन् भलादमी। अरुले झै यसो गर्नुस उसो गर्नुस भन्ने अर्ती दिन अएको सम्झेकी देउती भलादमीले आफनै सहि थापेको सुनेपछि अलि नरम भईन। जोगीका घरा सन्यासी पाहुना भने जस्तो । कहाँबाट आउनु भएको हो ? के कति काम ले आउनु भएको हो ? बरु अलि राम्रा घरा बास खोज्या भएनी हुने । रात परेसी यो झुम्म्री कराएर बसिखानु गर्दिन । साँझा आएकालाई धपाउनु के धपाउनु लु त भनम् । देउतीको गन्थन नसकिदै ननुने हल्का रक्सीको तालमा घर आईपुग्दा आँगनमा नौलो मान्छे देखि दंग पर्छ । ए झुम्रीकी आमा फुक्ने भाँडो ले ले अनि पुर्जी नि ले । बिमारी घरै आको सम्झी मख्खेको छ नुने । देउती खरानी ,अक्षता र धुप भएको भाँडो लिएर बाहिर निस्कन्छे । भलादमी झन अलमलमा हुन्छन् । नुने धुप सल्काउँदै भलादमी तर्फ हेर्दै बरबराउन थाल्छ । भलादमीलाई सहि नसक्नु हुन्छ र मुख खोल्छ,म बिरामी होइन त । म त घुम्दै जाँदा बासको लागि यहाँ आईपुगे रात बिताउँकी भनेर । नुने अमिलो मुख लाउँछ र जुरुक्क उठ्छ र घर भित्र छिर्छ । देउती पछि लाग्छे भलादमी हेरेको हेरै हुन्छ । नुने स्वास्नीलाई हपार्न थाल्छ कोलाई ल्याकी होस ? के लाई आएको हो त्यो झुसे ? सोधखोज  छैन उही जान्ने हुनुपर्ने । आफना घडा हरिबिजोक त थाहाँ पाएकी छेस त तै पनि किन लाग्दैन के तेरा घैटोमा घाम ? धेर ठालु नपल्टी तेरा ढाडले दुख पाउला होस गरेस् । देउती पनि के कम तिम्रा घराबस बास हुने भाएको पो सोध्नलाई ? साँझ आएको मान्छेमा देउता हंस हुन्छ भन्छन् सक्दिन म । जे भन्नुपर्ने हो आँफै भन । सबैका घरा माटा चुला कसैका साना कसैका ठुला मान्र्छे हेर्दा यति नबुझने छन् जस्तो ला छैन मलाई ता त्यै माथी हाम्रो ओढ बोल्दै थिए । नुने अगेनाको अगुल्टो उचाल्दै उसोभए पाली राख घर मै । चुरोट सल्काउँदै ओछ्यानतिर लाग्छे । देउती भुत भुताउँदै साँझको भात भान्छा तयार गर्न तर्फ लाग्छे। बाहिर रहेको भलाद्मी रमिताको मजा लिए झैं झोलाको सिरान हाली उपर खुट्टी लगाएर बसेको हुन्छन्। केहि बेर सन्नाटा छाउछ नुनेको घरमा । झुम्री एक्कासी घरै उचाल्ला जस्तो गरि चिच्याउँदै मच्चीन थाल्छे । करकस आवजसँगै आएको गन्धले भलाद्मीको रमितामय क्षण बिथोलिन्छ र झुम्म्री तर्फ हेर्छ । सिगान गालासम्म लिपेकी झुम्म्री दुबै हात मझेरीमा घसार्दै चिच्याई  रहन्छे । देउती चुलोबाट नै कौलास्न थाल्छ हगेर मरिस यसका हग्न मुत्नानी ठेगान नहुने भो आगो ओल्छाएर पुरानो टालो लिई आउँछे । देउती फतफताउँदै झुम्म्रीका सुराल र्फेर दिन्छे । हगेका लुगा लिई बाहिर निस्कदा भलादमीसँग हेराहेर हुन्छ पुन फतफताउन थाल्छे, भाग्य त ल्याएकी नै रहेछु बुढो गु मुत सोर्ने भन्नेलाई भन्दे भईगो तिनले एक दिनमात्रै धानेर देखाउन त...फुत्त लुगा फाली हात लगाको धोतीमा पुच्दै, तपाई भोकाउनु भो हाला नास्ता पानी नी सोधिन । झुम्री तिर हेर्दै पाकी सक्थ्यो  उपद्रो गरेर मरी भित्र छिर्छे । पुन केहि बेर सन्टामा बहिरका झयाउँकिरीहरुले किरिरिरिर गर्ने मौका पाउँछन् । भलादमी सोचमग्न हुन्छ। बास्तव मै कुरो नबुझी बोल्ने हाम्रो समाजले यी अभिभावकको पिडा कहिले बुझने ? सहनशीलताको हदैसम्म पुग्छन् बिचराहरु। थालमा भात लिएर आई झुम्म्रीलाई खुवाउन थाल्छिन झुम्म्री मुन्टो बर्टाछे देउतीको पारो तात्छ । पिंडीको एक कुनाबाट यो सब हेरी रहेका हुन्छन् भलादमी। देउतीले झुम्म्रीमा गरेको जबरजस्ती रत्तीभर मन परेको हुदैन । बिचरीलाई खान मन के कसो छ ? सन्चो बिसन्चो के कसो छ कसले बुझने ? जसरी पनि खाइदिनै पर्ने बाध्यता। घरकालाई पनि सजिलै खाइदिए धन्दा छिनिने् अलिकति आनाकानी गरे उ यस्तै सत्तोसराप । भित्रभित्रै मुक्कमुक्कीदै बस्नु बाहेक अर्को बिकल्प पनि छैन उनीसँग। थालमा बाँकी रहेको खाईसक्नैपर्ने ध्येयमा छिन् देउती एक गाँस पनि ननिल्ने सुरमा मुखमा गाँस राखेर बसेकी छिन् झुम्म्री । देउती हात उठाउछिन् । जोडले चिच्याउनु बाहेक कुनै प्रतिरक्षा गर्ने सामथ्र्य छैन उनीमा । यसरी हातै चाहि नहालेको भए हुने तिनले बुझेर त पक्कै यसो गरिन की ? आँ ...यसको बानी के बुझनु भएको छ र  मान्छे यस्ती भएनी कम्ता ज्याद्री छ । खुवाउन हातमा उठाएको गाँस थालमा टकटक्याउँदै न्याठ्दीदै बोलिन । सायद भलादमीले झुम्म्रीको ओड बोलेको उनलाई मन परेन। 

 

खाइ धन्दासकि भलादमीका लागि गुन्द्रीमाथी सत्तरन्जा कसी दिइन देउतीले । खोइ के सोचे भलादमीले प्लास्टीक र धोक्क्रो भए दिन अनुरोध गरे । देउतीलाई सरम लाग्यो, पहुनालाई बिछ्याउन पोहोर मात्र बनाएको डस्ना मुसाले धुज्जा पार्‍यो त्यही भएर सत्तरञ्जा कसी दिएकी । भलाद्मी देउतीले अफठरो मानेको बुझेर प्लास्टिक र धोक्क्रो माग्नुको रहश्य खोले । उनी ती चिजले झुम्म्रीको दिसा पिसाब ब्यवस्थापनको लागी सहज हुने स्थानीय कट्टु डाइपर बनाउने सुरमा रहेछन् । झुम्म्रीलाई बिशेष निगरानीमा राखी हेरचाह गर्नसके तिनले आफनो समान्य दैनिकी चलाउन सक्छिन् । म झुम्म्रीलाई आफै खाने,दिसा पिसाब निश्चित स्थानमा गर्नेसम्म बनाएर मात्र जानेछु । भलादमीको कुरा देउती अक्क न बक्क परेर सुनिरहिन। उनको भित्री मन भने एक हिसाबले खुशी थियो तर लोग्नेको ब्यवहार सम्झिँदा कसरी सम्भव होला सोच्दै थिइन । भित्रबाट नुने जाज्वल्य बनेर आए, परेको छैन कसैले मेरी छोरी माथी दया देखाउन। आज रात परेकोले केहि नभनेको भोली यहाँ देख्न नपरोस । देउतीले नुनेलाई रोक्न खोज्दा खोज्दे पनि पड्की हाले नुने । भालादमीलाई जुन कुराको डर थियो त्यही भयो । आफु झुम्म्री जस्तै बच्चाहरुको रेखदेख गर्ने संस्थाको कर्मचारी भएको सहि परिचय दिँदा बास र काम गर्न नपाईने सोचेर भलाद्मी बनेका उनी परिवारको असहयोगका कारण रित्तो हात फर्कने मनस्थिती बनाउन बाध्य भए ।

 

नुनेले देखाएको देखाएको ब्यवहारबाट रुष्ट बनेकी देउती तिक्तता पोख्दै थिइन, सबै सधै तिम्रैले भनेकै मान्नु पर्ने ? तिनका कुरा मलाई त चित्त बुझेको थियो । कमसेकम त्यो बुढो गुमुतबाट मात्र छुट्कारा पाउन पाए राज्य जिते सरह हुन्थ्यो । यस्ता गतिला, राम्रा काम लाग्ने कुरा तिम्रा मगजमा के छिथ्र्यो । आफुले गर्नु परेको भए पो ? के सोचे होलान ती मान्छेले ? नुनेको ब्यवहारमा एक्कासी परिर्वतन आयो उ देउतीसँग इतरीने भावमा बोल्यो, नरीसाउन बुढी मैले हाम्रै भलाइको लागी त्यो भनेको । सम्झी त हात हेराउँदा ज्योतिषीले भनेको कुरा तेरी छोरी लक्षणकी छ । छोरीको कारण मनग्य धन कमाउँछस् । देउती ओठ लेपार्छे नुने बिश्वास दिलाउन जुहारीकोटको गोजीबाट एक गड्डी ५०० दरका नोटको बिटो देउतीको हातमा राखी दिन्छ। अस्ति झुम्म्रीको भिडियो खिचेर लाने सरले दिएका । हाम्री झुम्म्री देशैभर चिनिएकी छ रे । पर्सी हाम्रा नी भिडियो खिच्ने गरी आउँछन् रे । धन्न हामीले झुम्म्रीलाई अर्को महिना मात्र अस्पताल जचाउँन लाने भने छौ नत्र यत्रो पैसो कसरी कमाईन्थ्यो ? तल बसेका भलादमीमा यी सब सुनेर बिहानसम्म बस्ने सक्ने सार्मथ्य हुँदैन र युटुबरले पैसा दिन नछाडेसम्म आफनो केही नलाग्ने सोची राती नै निस्किए । 

 

अचेल नुने र देउतीको रहन सहनमा निकै परिवर्तन आएको। युटुबवाला सरले नी झुम्म्रीलाई देखाएर निकै कमाए । सामाजिक संस्थाले पनि यी र यिनी जस्तैका लागी करोडौंको परियोजना ल्याए । तर पनि झुम्म्रीको जीवनमा कहिल्यै परिर्वतन आएन, कम्मरमा दाम्लो र शरीरमा झुत्त्रो कहिल्यै छुटेन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार