• शनिबार १०-३-२०७७/Saturday 01-16-2021
डबली

जन्मदिन

‘गुडमर्निङ एभ्रिवडी म पुष्करजंग राणा । म आज २५ औं वसन्तमा टेक्दैछु । सर्वप्रथम मेरो निमन्त्रणालाई स्वीकारेर पाल्दिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहान्छु। र, म सँग–सँगै तपाईंहरूलाई पनि धेरै–धेरै शुभकामना, किनकि आजैका दिनमा तपाईहरूको यो शुभेच्छुकले पहिलोपटक २४ बर्षअघि यो धर्ती चुम्ने अवसर पाएको थियो । तपाईंहरू नै मेरो विधाता र प्रेरणा श्रोत पनि हुनुहुन्छ ।’ यतिभन्दै पुष्करजंगले केक काट्दा पुरै हल तालीले गुन्जियो । मातापिताका आँखाबाट हर्षका आँसु खसे ।

 

पहिलो केकको टुक्रा उसले आफ्ना पुजनीय मातापितालाई खुवायो र मातापिताले पनि उसलाई आधा–आधा केकका टुक्रा मुखमा हालिदिए । पुनः तालीले गुञ्जयमान हलमा म्युजिक सिस्टम गुञ्जियो– 
‘ह्याप्पी वर्थडे टु यू, 
ह्याप्पी वर्थडे टु यू !’


रातको १२ बजेपछि शुरु भएको पुष्करजंगको ‘बर्थडे सेलिब्रेशन’ बिहानको ५ बजे समाप्त भयो। १–२ घण्टा पुष्करजंग के झ्याप्प निदाएको थियो, बिहान पुन : उसलाई शुभकामना दिनेहरूको लर्को थियो । मोवाइलमा मेसेजहरू त्यत्तिकै नाच्दै थिए भने फेसबुकका वालहरू पुरै रङ्गिएका थिए। आज दिनभरि पुष्करजंगलाई भ्याइनभ्याइ थियो । ८ बजे पुनः साथीभाइहरू माझ अर्को केक काट्ने कार्यक्रम थियो, त्यसका लागि हतार–हतार ऊ तयार भयो र पुनः ५०–६० जनाको समूहमाझ जन्मदिनको रमझम सुरु भयो– 
‘ह्याप्पी बर्थडे टु यू, 
ह्याप्पी वर्थडे टु यू !’


८ बजेको कार्यक्रम १० बजेको ब्रेकफास्टसँगै समापन भयो । दिउँसो ११ बजे पुनः अफिसका स्टाफहरू माझ उसको तेस्रो केक काट्ने कार्यक्रम थियो । अफिसका करिब १०० स्टाफहरूकामाझ पुष्करजंगले तेस्रो केक काट्यो र पुनः सुरुभयो–  
‘ह्याप्पी वर्थडे टु यू, 
ह्याप्पी वर्थडे टु यू !’


स्टाफहरूका शुभकामना लिंदालिंदै दिउँसोको १ बजिसकेको थियो। लन्चपछि उक्त कार्यक्रम समापन भयो । अफिसबाहिर निस्कन लाग्दा गेटबाहिरको लामो टेबलमा लहरै दर्जनभन्दा धेरै उसका शुभ चिन्तकहरूले पठाएका बुके र कार्डहरू लाइनै उसैलाई कुरेर बसेका थिए । एकपटक सरसर्ती त्यहाँ आँखा पिंmजाएर पुष्करजंग गाडीभित्र छिर्‍यो । आज उसले चौथो केक २ बजेपछि वृद्ध आश्रममा काट्ने कार्यक्रम थियो । मिडियाकर्मीहरू पुष्करजंग राणालाई कुरेर बसेका थिए । बृद्धआश्रम पुग्ने बित्तिकै क्यामेराका फ्ल्याशहरू चम्किन थाले वृद्धवृद्धाहरू एक घण्टा पुष्करजंगसँग खुबै रमाए । 

 

पुष्करजंगको हँसिलो चेहेरासँगै वृद्धवृद्धाहरू नाचिरहेका फोटाहरू भोलिपल्टका न्युजपेपर, इन्टरनेट र फेसबुकका भित्ताहरूमा भाइरल झैं फैलने पक्का थियो । मिडियाले खुबै महत्वका साथ कभरेज गरेका थिए पुष्करजंगको व्यक्तित्व र २५ औं वसन्त सम्मका उसका सुन्दर क्षणहरूलाई । मानौं भविष्यमा देशको ठुलै व्यक्तित्व हो उ, जुन कुरा आजका मिडियाहरू साबित गर्न खोज्दै थिए ।


दिउँसोको ३ बजे पुष्करजंग पुनः स्थापना केन्द्र पुग्यो, जहाँ करिब ७० युवाहरूमाझ ऊ चौथो बर्थडे केक काट्नेवाला थियो । युवाहरूले पुष्करजंगको कार गेटभित्र छिर्नेबित्तिकै २४ वटा पटका पड्काएर गड्गडाहट ताली सहित स्वागत गरे । त्यहाँ पनि मिडियाहरूको उपस्थिति त्यस्तै थियो जस्तो वृद्धआश्रममा । 


सानदार व्यक्तित्वको धनी पुष्करजंग, युवाहरूमाझ लोकप्रिय थियो । अग्लो र गोरो अनुहार, आधुनिक पहिरनले ऊ कुनै चलचित्रको नायक भन्दा कम थिएन । जादूमय मुस्कान र हलका दाह्रीजुँगाले ऊ बिछट्टै व्यक्तित्वको धनी देखिन्थ्यो ।

 

आज फोन रिसिभ गर्न भ्याइनभ्याई थियो पुष्करजंगलाई। ड्राइभर र सँगै बसेको पिएले पनि फोनमा ‘ह्वस्.., म सुनाइदिन्छु’, ‘नमस्ते’, ‘हुन्छ–हुन्छ म भन्दिन्छु’ भन्ने वाक्यांश उनीहरूका बोलीबाट दर्जनौंपटक पुष्करजंगले सुनिराखेको थियो र फुर्सद कुरेर उनीहरूले पुष्करजंगलाई फलाना र ढिस्कानाको शुभ कामना भन्दै सुनाइरहन्थे ।

 

पुनस्र्थापना केन्द्रका युवाहरूले आफ्नै हातबाट बनाएको सिल्भर कलरको केक काट्दै पुष्करजंग मुस्कुरायो । युवाहरूले आफ्नै किसिमले २४ वटा महिनहरू झ्याप्प निभाए र गड्गडाहट तालीका साथ २४ वटै बेलुन पड्के, जसको लाइभ प्रसारण टेलिभिजनका पर्दाहरूमा छाए ।

 

पुष्करजंगको नाम, ख्याती र व्यक्तित्व देखेर डाह गर्नेहरूको कमी थिएन । युवतीहरू धेरैले हृदयमा सजाएका थिए पुष्करजंगलाई ।

 

‘भ्रष्टचारीको छोरोले फेरि ढोंग फैलाउन थाल्यो’। ‘शोषक’, ‘बलात्कारी’, ‘लुटेरा’, ‘तस्कर’....आदि इत्यादि आरोप लगाउनेहरू पनि कम थिएनन् पुष्करजंग राणालाई । तर, त्यस्ता कुनै आरोपले छुँदैन थियो पुष्करजंगलाई । न त कुनै आरोपहरू पुष्टिहुने हिम्मत गर्थे पुष्करजंग राणामाथि । यस्ता आरोपहरू एकैक्षण सल्कन्थे र झ्याप्प निभ्थे क्षणभरमै । सिर्फ ‘हात्ति आयो, हात्ति आयो फुस्सा !’

 

दिनभरिको भ्याइनभ्याइ सेड्युलबाट बल्ल उन्मुक्ति पायो पुष्करजंगले। बेलुका ८ बजे उसले बर्थडेको अन्तिम केक ग्राण्ड होटलको शान्त स्वीट रुममा काट्यो, जहाँ सिर्फ ऊ र उसकी प्रेमीका ऋतिका थिई ।    

 

ऋतिकाको मुखमा केकको टुक्रासँगै पुष्करजंगले आफ्ना दुई केस्रा उन्मत्त ओठहरू पनि सँग–सँगै जोड्यो र केहीक्षण उनका नरम ओठमाथि रगड्यो। बिस्तारै उनीहरू एक अर्कामा चुम्बकजस्तै जोडिंदै छुट्टिदै अंग्रेजी ज्याज्सँगै रमाए । केही बोतल स्याम्पेन ट्वाक्क आवाज निकाल्दै पड्के । मधुमासमा पुष्पवृष्टि भयो । एक हूल सुन्दरी मधुर मुस्कानका साथ आएर ऋतिकालाई लिएर गए । पुष्करजंग प्रेमलापमा छटपटियो । क्षणभरमै अर्को हूल कालो पहिरनमा सजिएका लड्का आएर पुष्करजंगलाई घेरा हाले । तिनले बिस्तारै पछाडिबाट पेस्तोल झिके । पुस्करजंग हतासियो । बिस्तारै आकासतिर तिनले पेस्तोल ताके र एक साथ पड्काए । 

 

‘वा..उ !’ अप्सरा पहिरनमा झुल्किएकी ऋतिकाको सुन्दरता पहिलोपटक पुष्करजंगले तेब्बर अनुभुत गर्‍यो । पछि–पछि ऋतिकाका सहेलीहरू नाच्न थाले । 

 

ग्राण्ड होटलका पर्खालहरू भत्किएर पुरै प्रकृतिको विचरण गरे तिनले । क्षणमै चरा भएर उडे । माछा भएर पौडिए । फूल भएर फक्रिए । झरना, नदी अनि हावासँगै कावा खाएर उही ग्राण्ड होटलकै स्वीटरुमको सोफामा झरे । कहिले सोफा त कहिले भुँइको भुवादार कार्पेट हुँदै हरेक भाव भङ्गिमा र आसनहरूमा ज्याज् रासलीला अन्त्यमा रुमको कुनातिरको लचकदार बेडमा गएर समाप्त भयो ।

 

बिहान ८ बजेतिर पुष्करजंगको निन्द्रा तन्द्रामा बदलियो र बिस्तारै उसका हातहरू ऋतिकाको नाङ्गो शरीरमा माथिदेखि तलसम्म नाचे र ऋतिकाको शरीरलाई कम्मरमा समातेर उसले स्वाट्ट आफूतिर तान्यो, तर हलुकैसँग ऋतिकाको शरीर उसको शरीरमा ठोक्किएकोले डियर पुष्करको तन्द्रा भंग भयो । ‘ओ.., ऋतिका...!’ ऊ झस्कियो । त्यहाँ कुनै ऋतिका थिइन, सिर्फ सकिरा थिई । अर्थात एउटा ‘सेक्स टोय’ थियो ऋतिकाको सट्टा पुष्करजंगको बेडमा । ऊ जुरुक्क उठ्यो । बेडको ठीक सामुन्नेको बाथरुमको ढोका खोल्दै फ्रेश भएर ऋतिका निस्की ।


‘ऋतिका यो...के...टोय,...कहाँबाट...? !’ पुष्करजंगको कन्फ्युजन टुङ्गिन नपाउँदै ऋतिका बोली– ‘अरे पुष्कर सर, म तपाईंकी गर्लफ्रेण्ड भएर तपाईंको ख्याल नराखूँ । तपाईं एक्लै सुत्दा डराउनुहुन्छ, तर्सनुहुन्छ भन्ने मलाई थाहा छैन र ? त्यसैले तपाईंकी साथी राखिदिएकी । हेर्नुस् त मभन्दा कति राम्री छे जापानी सकिरा ।’ अटोम्याटिक सकिराले पुष्करजंगलाई आँखा झिम्क्याइदिई । पुष्करजंगले सकिराको स–शरीर पुनः निहाल्यो । हरेक अङ्ग–प्रत्यङ्ग ऋतिकाको भन्दा कम लागेनन् उसलाई । ऋतिकाको सर्प्राइज बर्थडे गिफ्ट बेडमै छोडेर पुष्करजंग बाथरुम छिर्‍यो । ऋतिका ठूलो ऐना अगाडि मेकअप गर्न बसी ।

 

पुष्करजंग बाथरुमबाट निस्कँदा ऋतिका मेकअपमै व्यस्त थिई । लुगा लगाउँदै साइलेन्स मोडमा राखेको आफ्नो आइफोन थिच्यो पुष्करजंगले । एघार मिसकल र मेसेजबक्समा लस्करै मेसेजहरू देखिए । उसले पहिलो मेसेज क्लिक गर्‍यो – ‘गुडमर्निङ सर, लाइभ टिभी प्रसारण सहित सबै मिडिया कभरेजको सिक्स डिजिटमा भएको एग्रिमेन्ट अनुसार मैले सबै न्युज कलेक्सनसँगै बिल पठाइदिएको छु । कृपया आजै भुक्तन गरिदिनुहोला ।  धन्यवाद !’

 

पुष्करजंगले दोस्रो मेसेज क्लिक गर्‍यो, जुन वृद्धआश्रमबाट आएको थियो– ‘सर हजूरले पोहरसाल पनि यो आश्रमलाई सहयोग गर्ने बचन दिनुभएको थियो तर कुनै रकम अहिलेसम्म आएन, यसपालि चहिं जतिसक्तो चाँडो हजुरले बाचा गर्नुभएको रकम हाम्रो नेपाल बैंकको खाता नं. .......मा जम्मा गरिदिनुहोला । तपाईंको शुभ चिन्तक....................।’

 

पुष्करजंगले तेस्रो मेसेज क्लिक ग¥यो, जुन पुनस्र्थाना केन्द्रबाट आएको थियो– ‘सर हजूरले हामीलाई सहयोग स्वरूप दिनुभएको २,०००००/– को चेक फ्रड रहेछ । बैंकमा व्यालेन्स नै रहेनछ । कृपया सक्कली चेक पठाइदिनु होला । धन्यवाद !’

 

पुष्करजंगले चौथो मेसेज क्लिक गर्‍यो । मेसेजका अक्षरहरूसँगै उसको होस हवास गायब भयो । कालो बादल उसको अनुहारमा मडारियो। ऋतिकाले पुलुक्क पुष्करजंगको अनुहार नियाली र फटाछ्छे बोली– ‘डियर पुष्कर आ यू ओके ?’ पुष्करजंग निशब्द थियो । कुनै जवाफ फर्काउनुको सट्टा उसले ऋतिकाको हात समायो । र, दुवै हतारिंदै निस्के ।

 

पुष्करजंग र ऋतिका ग्राण्ड होटलको गेटमा पुग्दा गार्डले तनक्क तन्केर सलाम ठोक्यो । ऋतिकाले सयको नोट झिकेर उतिर फालिदिई । बाहिर पुष्करजंगको गाडीको ढोका खुल्यो । दुवै गाडीभित्र छिरे । गाडी दरवारमार्गतर्फ हँुइकियो । अचानक ड्राइभरले घ्याच्च ब्रेक हान्यो । ‘म्याउँ’ पुष्करजंगको कानमा आवाज ठोक्कियो । पुष्करजंगले ड्राइभरको आँखामा हेर्‍यो। ‘बिरालो’ ड्राइभर एक शब्दमै अड्कियो । ड्राइभरले गाडी अघि बढाउन खोज्दा पुष्करजंग बोल्यो– ‘वेट !’ लगातार तीनवटा गडी क्रस भैसकेपछि बल्ल पुष्करजंगले अघि बढ्न इसारा गर्‍यो । 


केहीबेरपछि एउटा सेतो बङ्ला अगाडि गाडी  रोकियो । ऋतिकाले पुष्करजंगलाई अंगालो मारी । उसको निधारमा चुम्दै बोली– ‘केयर अफ यू ।’ र, गाडीबाट उत्रेर उक्त बंगलातर्फ अघि बढी । गाडी अगाडि बढ्यो । बेचैनीले छटपटाइरहेको पुष्करजंग डबल बेचैनीमा प¥यो, जब गाडी जाममा फस्यो । गाडीभित्रै उसले दुईटा चुरोट सल्काउँदानि जाम खुल्ने संकेत नै थिएन । बाहिर गाडीका हर्नले पुरै कोलाहाल गुञ्जिएझैं लाग्यो उसलाई । टाढा कतैबाट माइकका आवाजहरू घन्कदै उसका कानमा ठोक्किएर गए । कोटको गोजीबाट सेतो पाउडर झिकेर सुङ्न थाल्यो पुष्करजंग । माघको जाडोसँगै बाहिर पानी छिट्याउन थालेको थियो ।

 

‘भिखमङ्गा सालेहरू जुलुस गर्ने ! मेरो बाटो छेक्ने ।’ ऊ गाडीभित्रै बसेर केहीक्षण बर्बरायो । र, गाडीको ढोका खोल्दै निस्कियो । ऊ सँगै गाडीको ड्राइभर पनि बाहिर निस्किएर निहुरिदै बिन्ती बिसायो– ‘सरकार ! मेरी श्रीमती हस्पिटलमा भर्ना भएको ३ दिन भयो । हिजो मेरी छारी जन्मिइ । मैले ६ महिनादेखिको तलब पएको छैन । कोठाभाडा तिर्नुछ, किरानामा.., छोराको स्कूल फी...।’

 

पुष्करजंगलाई उसको गन्थन सुन्ने फुर्सद थिएन, ब्वाङ्ग ड्राइभर कृष्णेको मर्ममा लात्त बजार्दै बोल्यो– ‘साला खाते तँलाई भात लाग्न थाल्यो । पुष्करजंग राणासँग तलव माग्छस् । तेरी छोरी जन्मी त के म ह्याप्पी वर्थडे मनाउँ– 
‘ह्याप्पी वर्थडे टु यू, 
याप्पी वर्थडे टु यू !’ 

 

यत्ति बोलेर पुष्करजंग आफ्नो बाटो लाग्यो । ड्राइभर कृष्णे भने केही नबोली बिस्तारै आफैतिर आइरहेको जुलुसतर्फ नियाल्न थाल्यो । जुलुसमा उसले आफ्नो ट्क्सी चालक साथी देख्यो । र, ऊ पनि दौडदै जुलुसमा छिर्‍यो ।

 

‘तानाशाह मुर्दावाद !,’ 
‘मानव अधिकार जिन्दावाद !,’ 
‘प्रेस स्वतन्त्रता कायम गर !’ 
वर्षातका बावजुद नारा चर्कदै गयो । जुलुसमा लाखे नाच देखियो । त्यसपछि देवी नाच र कुमारी नाच । सायद कुमारीको अनुहारमा कृष्णले आफ्नी छोरी देख्यो । ऊ कुमारीलाई नै एकटक हेरिरह्यो ।

 

पुष्करजंगले आफ्नो ओभरकोट कतै फालिसकेको थियो । जुलुसबाट लड्दै पढ्दै निस्किने क्रममा उसको अनुहारभरी हिलोको दाग थियो । यहाँ कुनै टेलिभिजनका क्यामेराले पुष्करजंगलाई ठम्याउन सकेनन् । न त कुनै सर्वसाधारणले उसलाई चिने । भीड छिचोलेर ऊ बल्लतल्ल आफ्नो महलभित्र छिर्‍यो । महल सुनसान थियो । ऊ बिस्तारै बैठक कोठामा पुग्यो । 

 

बैठक कोठाको दृश्य देखेर पुष्करजंग अवाक भयो, जहाँ उसको ७१ बर्षे ड्याड चीरनिद्रामा थिए । छैवैमा ६५ वर्षे आमा अर्ध मुर्छित अवस्थामा टोलाएकी थिइन् । ५–७ आफन्तहरू वरिपरि गम्भिर मुद्रामा थिए । पुष्करजंगका आँखामा एक्कासी सन्नाटा छायो । उसको मुखबाट कुनै शब्द निस्केनन् । आफ्नो बाबाको निर्जिव शरीर छेउमा पुगेर ऊ थचक्क बस्यो । प्रहरी पोशाकको एक अफिसर सहित केही प्रहरी माथिल्लो तलाबाट घुमाउरो भर्‍याङ उत्रदै तल झरे र पुष्करजंग अगाडि उभिए ।

 

‘पुष्कर सर माफ गर्नुहोला, केही दिन अघि समातिएको ३५ किलो सुनकाण्डमा दोषी ठहर गर्दै नेपाल प्रहरी तपाईलाई गिरफ्तार गर्न बाध्य छ ।’ प्रहरी अफिसरको आवाजले पुष्करजंग झस्कियो । प्रहरी अफिसरले उसलाई हातकडी लगायो ।

 

‘अचानक तपाईको बाबा हर्टअट्याक हुनुभएकोमा हामीलाई दुःख लागेको छ ।’ यति भन्दै पुष्करजंगलाई प्रहरीले महल बाहिर लगे । बाहिर प्रहरी भ्यान आइपुग्यो । प्रहरी भ्यानभित्र पुष्करजंगले के खुट्टा राखेको थियो पुष्करजंगको मोबाइलमा घण्टी बज्यो– ‘टिङ्...ट्याङ्...टिङ्रिङ


                                                टिङ्...ट्याङ्...टिङ्रिङ...।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार