• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
शिक्षा

कक्षा १२ को परीक्षा आजबाट शुरु,४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी

काठमाडौं । कोरोनाको महामारी र लकडाउनका कारण गत वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ ।

 

परीक्षामा देशभरबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै परिक्षा लिन लागेको हो ।

 

बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टाको हुनेछ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिनेछ ।


यसअघि शिक्षामन्त्री गिरिराज पोखरेलले विद्यार्थीहरूलाइ ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका थिए । कोरोना संक्रमण हुन नदिन प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने र परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको उहाँको भनाइ थियो । साथै परीक्षार्थीहरूले मास्क अनिवार्य रूपमा लगाउनुपर्ने छ ।

 

परीक्षाका क्रममा एउटा कोठामा २ मिटरको दूरी कायम गरी बढीमा २० जनासम्म मात्र राख्न पाइने व्यवस्था बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार घर पायक पर्ने र आफु अध्ययन गरेकै स्कुलमा परीक्षार्थीका लागि परीक्षा केन्द्र तोकिएको छ । साथै त्यसरी घरपायक फरक जिल्लाबाट पनि परीक्षा दिन सकिनेछ । 

 

यसरी फरक जिल्लाबाट दिने विद्यार्थीको संख्या करिब १३ हजार रहेको छ । स्थानीय सरकारहरूको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको उनको भनाइ छ । परीक्षा मंसिर १६ गते सकिनेछ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार