• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन, नायिकाको खोजी जारी

काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ। सस्पेन्स लभस्टोरी चलचित्रबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरि जानकारी दिइएको हो । 

 

रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा आर्यन सिग्देल,सलोन बस्नेत,सुमन थापा,नागेन्द्र रिजाल,दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन्। चलचित्रकी नायिका चयन भने बाँकी रहेको जनाइएको छ ।

 

लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको चलचित्रलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन्। त्यसैगरी ‘डिसेम्बर फल्स’ को छायांकन पनि भारतीय चलचित्र उद्योगमा ब्यस्त रहेका छायांकार रबि नायडुले गर्नेछन् । कार्यकारी निर्माता लक्ष्मणले यसपाली अलि फरक तरिकाले काम गर्ने सोच अनुरुप निर्देशक र छायांकार बलिउडबाट चयन गरिएको जानकारी दिए । 

 

‘डिसेम्बर फल्स’ को कथा बिपीका खनालले लेखेकी हुन्। चलचित्रमा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका बिविध घटना,समस्या समेत समावेश हुने बताइएको छ । चलचित्रको पटकथा र सम्वाद भने केदार भुसालले तयार पारेका हुन् । 

 

आफूलाई चलचित्रको स्क्रिप्ट एकदमै मन परेकाले अभिनय गर्न तयार भएको अभिनेता आर्यन सिग्देलले बताए। उनले भने, ‘यो चलचित्रको स्क्रिप्ट र युनीट निकै मन पर्यो । त्यसैले पहिलो मिटिङमै मैले ओके गरें।’

 

कार्यक्रममा चलचित्रका प्रस्तुतकर्ता रामप्रसादले आफूले बिगतमा निर्माण गरेका चलचित्रभन्दा ‘डिसेम्बर फल्स’ बिल्कुलै नौलो हुने बिश्वास ब्यक्त गरे। त्यसैगरी, कार्यकारी निर्माता लक्ष्मणले उच्चकोटीको फिल्म निर्माण गर्नका लागि जस्तोसुकै परिस्थिति सामना गर्न पनि आफूहरु तयार रहेको बताए। ‘यसपाली अलि भिन्दै र एकदम उच्चकोटीको चलचित्र निर्माण गर्ने प्रयास छ,’ उनले भने, ‘त्यसकारण मैले यसपाली निर्देशन गरिनं ।’ उनले आफू यसपटक निर्माताको रुपमा एकदमै दत्तचित्तका साथ चलचित्र निर्माणमा लागेको सुनाए । माघ ४ गतेदेखि सुटिङ थालिने चलचित्रको निर्मातामा राजकुमार भट्ट छन् । 

 

चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न चलचित्र निर्माण घोषणा कार्यक्रममा उनले ‘डिसेम्बर फल्स’ लाई सर्वाधिक सफलताको शुभकामना ब्यक्त गरे । अध्यक्ष दाहालले कोरोनाका कारण बन्द रहेको चलचित्र हल खोल्नका लागि बोर्डले पहल गरिरहेको जानकारी दिदै केही सातामै हल खुल्ने बिश्वास ब्यक्त गरे ।
 

२०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको छ । चलचित्र काठमाडौ र पोखरामा खिचीने बताइएको छ। रिजाल एण्ड रिजाल प्रोडक्सनले यसअघि वान डे, कसम, धुँवा यो नशा, कायरालगायतका चलचित्र निर्माण गरिसकेको छ । 
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार