• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

जसले भुइँमान्छेका कैयन् समाचार लेखे 

काठमाडौं । ‘मलाई अझै पनि समाजमा दबिएका, अन्यायमा परेका, निमुखा र कसैले नगन्ने मान्छेका समाचार शृंखलाबद्ध रूपमा लेख्न मन छ,’ उनले केही दिनअघि मात्र सहकर्मीलाई सुनाएका थिए । जबकि एक दशक लामो पत्रकारिता यात्रामा उनले यस्तै भुइँमान्छेका कैयन् समाचार लेखिसकेका थिए ।

 

महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तबारे होस् या रुकुम पश्चिममा दलित र गैरदलितबीच भएको प्रेम सम्बन्धका कारण मारिएका युवा र तिनको परिवारजनका बारेमा, उनका स्थलगत रिपोर्टिङ सधैँ अन्यायमा पारिएका र आवाज दबाइएकाहरूकै पक्षमा हुने गर्थ्यो । कोरोना संक्रमण बढेपछि उपत्यकामा जारी निषेधाज्ञाका बेला खुलामञ्चमा निःशुल्क खाना खान आउनेहरूबारे उनले लेखेको समाचारले पनि यही पुष्टि गर्छ । संक्रमणका बेला ‘विपन्नले कसरी बाँच्ने भन्ने ?’ सवाल उठाएर होस् वा ‘संकटलाई अवसरमा बदल्नेहरू’ का कथा लेखेर होस्, उनी हरदम आफूलाई भुइँमान्छेका संवेदना र समस्याहरूकै निकट राख्थे ।

 

तिहारको मुखमा उनले सहकर्मीलाई भनेका थिए, ‘अरूका लागि जिन्दगी दिएका दुस्खीका कथाव्यथाहरूलाई समेटेर शृंखलाबद्ध रूपमा लेख्ने चाहना छ ।’ यसो भनेको अर्को दिन उनी बिरामी परे । अस्पताल भर्ना भए । छिट्टै निको हुने र फेरि रिपोर्टिङमा जुटिहाल्ने आत्मविश्वास थियो । तर दुर्भाग्य १ कान्तिपुर दैनिकका उपसम्पादक गोकर्ण गौतमको बिहीबार ३१ वर्षको अल्पायुमै निधन भयो ।

 

गौतमलाई दुई साता अघिदेखि टाउको दुख्ने समस्या देखा परेको थियो । उपचारार्थ सोमबार अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मस्तिष्कको नसामा समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्दा रक्तस्राव भई गौतमको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा निधन भएको हो ।

 

चिकित्सकहरूसँगको परामर्शपछि उनी अस्पताल भर्ना भएका थिए । बुधबार उनको शल्यक्रिया सुरु भएको थियो । अस्पतालका डा.सुवास फुयालका अनुसार शल्यक्रियाकै क्रममा नसाबाट रक्तस्राव भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । ‘कमजोर भइसकेको नसा फुटेर अत्यधिक रक्तस्राव भएपछि शल्यक्रिया सफल हुन सकेन,’ डा.फुयालले परिवारका सदस्यहरूसँग भनेका थिए । बिहीबार बिहान साढे ११ बजे अस्पतालले उनको निधन भएको घोषणा गरेको परिवारका सदस्यहरूले जानकारी दिए ।

 

काभ्रेमा जन्मेका गौतम मकवानपुरस्थित बकैंया गाउँपालिका–४ छतिवनका स्थायी बासिन्दा थिए । पत्रकारितामा स्नातकोत्तर गौतमले मोफसलबाटै पत्रकारिता सुरु गरेका थिए। हेटौंडाबाट पढ्नका लागि काठमाडौं आएपछि उनले केही समय देशान्तर साप्ताहिकमा काम गरे । त्यसपछि कान्तिपुर पब्लिकेसन्समा आबद्ध भएर नेपाल म्यागजिनमा काम गरे ।

 

सहकर्मीहरू उनलाई भुइँमान्छेको कथाव्यथा लेखेर कहिल्यै नथाक्ने पत्रकारका रूपमा चिन्छन् । समसामयिक विषयवस्तु तथा सामाजिक विषयहरूलाई अत्यन्तै मिहीन ढंगले केलाउने जाँगर उनमा थियो ।

 

गौतमको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा पत्रकार, रंगकर्मी, आफन्तजनलगायत सयौंको उपस्थिति थियो । उनको परिवारमा श्रीमती, आमा र दाजु छन् । कान्तिपुर
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार