• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

नेपाल र बंगलादेशबीचको खेल बराबरीमा रोकियो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीच मैत्रीपूर्ण सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा रोकिएको छ। 

 

ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो। आजको खेलमा बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गर्न सकेको खण्डमा मात्र नेपाल उपाधि जित्ने सम्भावना थियो । 

 

खेलाडी भरत खवासलाई टिमको कप्तानी दिए पनि उनी खेलको १९ औं मिनेट सब्स्टीच्युट भएका थिए। उनलाई नवयुग श्रेष्ठले प्रतिस्थापन गरे। भरत मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेम्जोङले गरेका थिए ।

 

खेलको तेस्रो मिनेटमा दर्शन गुरुङको फ्रिकिक क्लियर भएर आएपछि तेज तामाङले झन्डै ३० यार्ड टाढाबाट गरेको भली गोलरक्षक अशरफुल रानाले बचाए। त्यसपछि दुवै टोलीले आक्रमण बुन्ने प्रयास गरेपनि डिफेन्स लाइन तोड्न भने निकै संघर्ष गर्नुपर्यो । रजिन धिमालको क्रसमा नवयुगको उत्कृष्ट हेडर पोस्टमा लागेर फर्कदा नेपाल जित निकाल्नबाट बन्चित भयो।

 

यस बराबरीसँगै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ बंगलादेशले जितेको छ । बंगलादेशले दुई खेलको सिरिजमा एक जित र एक बराबरी खेल्दै सिरिजमा कब्जा जमाएको हो।

 

शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा बंगलादेशले नेपाललाई २-० ले हराएको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार