• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

लक्ष्मीजयन्तीमा स्रष्टा सम्मान–सौगात पुरस्कार अर्पण

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा काठमाण्डौ, दाङ, नवलपुर, कैलाली र पर्सामा आयोजित ५ वटा कार्यक्रममा शान्ति समाजद्वारा स्थापित स्रष्टा सम्मान-सौगात पुरस्कार  २० हजार राशी र (ताम्रपत्रसहित) स्रष्टाहरुलाई अर्पण गरिएको छ । कार्यक्रमहरुमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अभूतपूर्व साहित्यिक योगदानको चर्चा गरिएको थियो ।

 

काठमाडौं आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्ष २०७७ को कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान आहुतिलाई, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान व्याकुल माइलालाई, ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान प्रमोद प्रधानलाई, जोगमाया बराल श्रष्टा सौगात ज्ञानुवाकर पौडेललाई, भुमीप्रसाद बराल श्रष्टा सौगात वसन्ती शाहीलाई प्रदान गरेका थिए । यस्तै कार्यक्रममा पुरस्कृत स्रष्टाहरुलाई अन्य ५ वटा समाजसेवी संस्थाहरुका तर्फबाट समेत सम्मान गरिएको थियो ।

 

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाकवि देवकोटाको योगदानको चर्चा गर्दै देवकोटाको साहित्य जनमनमा बसेको बताए । यता समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अद्वितीय भएको चर्चा गर्दै समृद्ध साहित्यले नै समाजलाई सुसंस्कृत र समुन्नत बनाउने धारणा व्यक्त गर्दै मानव अधिकार तथा शान्ति समाजले साहित्यको आराधन र स्रष्टा सम्मानलाई अभियानको रुपमा अघि बढाएको बताए।

 

समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद एवं पूर्वमन्त्री गगन थापा, सांसद एवं पूर्व मन्त्री शेरबहादुर तामाङ, पुरस्कृत स्रष्टाहरु अशेष मल्ल, आहुति, व्याकुल माइला, प्रमोद प्रधान, ज्ञानुवाकर पौडेल र वसन्ती शाही, समाजका सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल र केन्द्रीय सदस्य नम्रता खरेलले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार