देवकोटा पागल वन्न सक्छन्
हृदय र मस्तिष्क
अंग्रेजीमा हेड एण्ड हार्ट
देवकोटा भन्छन् 'गिदी र मुटु'
एउटा संयोजनमा जन्मेको मान्छे
अनि उसको समाजले दिएको
परिस्थितिले सिकाएको
औसरले सिर्जेको
सूचना, वुद्धि र ज्ञान
प्रेम र घृणा,
आक्रोस र छटपटी वाट
विभक्त भएर
समयको प्रत्येक सेकेन्डसँग
वदलिएको त्यस संयोजन
घामको किरण जस्तो असीमित
एउटै संयोजन विखण्डित भएर
प्रभावित हुँदा
पानीको मुस्लो बनेर दगुरेको
नदीको प्रवाहले खोजेको यात्रा
त्यो भन्दा वुझ्न नसकिने गरी
कहिले उत्तरी ध्रुवमा जस्तो
कठाङ्ग्रिएको हृदय जम्न सक्छ
एउटा ढुकढुक चल्ने
यन्त्र मात्र बनेर
थिचिएको मान्छे
वाध्यताले कठाङ्ग्रिदा
उ जस्तै आर्को मान्छेको लागि
वन्न लागेको महलको
एउटा इट बनेको हुन्छ
यसरी बनेको पिरामिडको अट्टालिकामा
त्यहाँ वसेर तल हेर्ने
मान्छेको लौकिक उज्यालोमा
नदेखिने भएको उसको
अस्तीपञ्जर स्वरुपमा पनि
एउटा हृदय र मस्तिष्क संयोजित छ
त्यसैले घामका रापहरु
जब धरतीको बीचमा सीधा पर्दछन्
माटो धपक्क वल्छ
त्यस्तो राप भन्दा वढी
पाखण्डताको रापले
मस्तिष्कमा फिलिङ्गो वन्छ
जङ्गलमा लागेको आगो जस्तो
हुरहहुर्ती फैलिन सक्छ
त्यति वेला उ पागल बनेर
सिकन्दरलाई गाली गरिरहेको हुन्छ
तिमी त्यो गर्न सक्दैनौ
किनकी तिमी महान छौ
त्यसैले पागल वन्न सक्दैनौ
पागल देवकोटा वन्न सक्छन्
उनी हृदयबाट वोल्छन्
हृदयबाट सुन्छन्
अनि हृदयबाट दोहोरो संवाद गर्दछन्
यसो गर्दा जब मस्तिष्क रिसाउँछ
उनी पागल वन्छन्
अनि पो त उनको गणीतमा
एकवाट एक झिक्दा पनि
एक नै बाँकी रहन्छ
तर तिम्रोमा सून्य
किनकी तिमी सून्य छौ
यति ठूलो सून्य कि
त्यस भित्र तिमीले
आफूलाई
महान देखेका छौ
धरहरामा उभिएको तिमी
अनि त देख्छौ
सहिद गेटका ती मुर्तीहरु
कमिला जस्ता साना
काठमाण्डौको वढ्दो ट्राफिक
दायाँवायाँ घुमाउने ढुङ्गा जस्ता
तर देवकोटा ढुङ्गाको कठोरतामा
सपना समात्न खोजछन्
त्यसैले उनी पागल वन्न सक्छन्
जब तिमी महान बनेका हुन्छौ
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस