• मंगलबार ८-१६-२०७७/Tuesday 12-01-2020
विचार

पार्टीको आन्तरिक विवादमा राष्ट्रपति भण्डारी, राष्ट्रपति पदको अवमूल्यन

नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादमा राष्ट्रपति बिद्यादेवी भण्डारीले नेकपा नेता वामदेव गौतमलाई पार्टी एकताका लागि काम गर्ने जुन निर्देशन ‘बक्सिइन’, त्यसले राष्ट्रपति पदको गरिमालाई  होच्यायो । के कुराले राष्ट्रपति भण्डारीलाई यस्तो निर्देशन ‘बक्सिन’ अभिप्रेरित गर्‍यो ? निश्चय पनि, यो सहज बिषय थिएन ।

 

गौतमलाई निर्देशन दिएर राष्ट्रपतिले आफनो राष्ट्रिय अभिभावकीय भूमिकाको निर्वाह पक्कै गरेकी थिइनन । प्रसंगमा, राष्ट्रपतिको अभिभावकीय भूमिका कै चर्चागर्ने हो भने पनि के राष्ट्रपति भण्डारीमा कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई बोलाएर पार्टीमा झगडा र विवाद नगरी अधिवेशन सहज ढंगले गर्नु भन्ने ‘निर्देशन’ बक्सिने हिम्मत छ त ? उनीसंग त्यस्तो हिम्मत पक्कै छैन। नेकपा एमाले हुँदै देखि आफ्नो दिमागमा जमेको संस्कारको पालना गरेकी हुन उनले । उनको यो पार्टी प्रेमले राष्ट्रपति पदको गरिमाको अवमूल्यन गरेको छ। अब कसैले राष्ट्रपति पदलाई अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनको अध्यक्ष पदको समानान्तर ठान्यो भने पनि आश्चर्य मान्नु पर्ने अवस्था रहेन। राजनीतिबाट मूल्य पध्दतिको राग हराउँदै गएको सन्दर्भमा शाश्वत रहेका मान्यताका प्रति सामाजिक निरपेक्षता बढनु आश्चर्यको कुरा हो । देशमा सयौं बिविधता छन जो कालो कोट लगाएर अदालतका आँगन र शक्तिका गल्ली र गोरेटाहरुमा दिनहूँ नाचीरहेका देखिन्छन ।

 

तर, ती कोही पनि मूल्य र मान्यताका यी आधारभूत प्रश्नबारे रुचि देखाउन चाहँदैनन । सबैलाई चाहिएको छ : पावर। पावर हातमा परेपछि जुन तुजुक चढदछ मानिसको दिमागमा, त्यसैको खोजीमा रहेका छन देशका अधिकांश बुध्दिजीवीहरु । यहाँ राष्ट्रपति भण्डारीले किन र कसको आदेशमा नेकपाको भाषा बोलिन ? यो प्रश्नको जवाफ खोज्नु नै ब्यर्थ छ। प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली नेतृत्वको वर्तमान सरकार अभिमानको वायुपंखी घोडामा सवार छ । उसलाई लागेको छ, संसदमा दुइतिहाइ मत भएपछि सरकारले स्वच्छन्दता पूर्वक जे पनि गर्न सक्दछ । राष्ट्रपतिलाई आफनो माउथपीस बनाउन पनि र बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाएर प्रधानमन्त्री बनाउने गैर संवैधानिक शक्तिको अभिमान देखाउन पनि। प्रम ओलीलाई थाह छ – राष्ट्रिय सभाको सदस्यलाई प्रधानमन्त्री बनाउन ठूलै सर्कस खेल्नुपर्दछ । बामदेव गौतमलाई यो कुरा थाह नभएको होइन । तर, उनी थाह नपाए झैं गरी रहेका छन। अहिले नेपाल कम्युनिष्ट पार्टीभित्र चलेको आन्तरिक किचलोले जुन रुप लिएकोछ त्यो राजनीतिबाट मूल्य र मान्यता च्यूत हुँदै गएको एउटा उदाहरण हो । सरसरती हेर्ने हो भने राजनीतिका मानिसहरु कतै पनि नांगै उभिएका छैनन ।

 

तर, अलिकति संवेदनशील भएर हेर्ने हो भने राजनीतिका मानिसहरु कसैले लाज छोपेको देखिदैन । लाजको परित्याग भनेकै मान्यताको र्‍हास हो । यो अहिलेको राजनीतिमा जताततै चलेकोछ । कुरा नेकपाको मात्र होइन, प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको अवस्था पनि उस्तै छ। कांग्रेस पार्टीले निष्ठाका साथ प्रतिपक्षी भूमिकाको पालना नगरेकोमा उसको चौतर्फी आलोचना भइरहेको छ । जनता समाजवादी पार्टी आफै नीतिगत अन्योलमा रहेकोछ । समाजवादी पार्टीमाडा.बाबुराम भट्टराईको उपस्थितिले पार्टी एकता पछिको अवस्थालाई अप्ठेरोमा पारेको छ । एकातिर, महन्थ ठाकुर र राजेन्द्र महतो, अर्कोतिर डा. बाबुराम र उपेन्द्र यादव – जसपामा शक्तिको द्धन्द्ध चर्किदै जानेछ । नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका कुनै पनि ठूला वा साना पार्टीले राजनीतिमा मूल्य र मान्यताका प्रश्नलाई अपरिहार्य बनाएका छैनन ।सत्ता प्राप्ति नै पार्टीहरुको एकमात्र उद्देश्य भएपछि मूल्य र मान्यताको प्रश्न तपसीलमा पर्नु अस्वाभाविक होइन। अहिलेको राजनीतिको सबभन्दा बिग्रहकारी तत्व नै यही हो । पार्टीका बिव्दान नेताहरुलाई यो कुरा थाह नभएको होइन ।

 

के लोकतन्त्र भनेको एउटा पार्टीले चुनावमा वहुमत ल्याउनु र त्यो पार्टीको अध्यक्षले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नु, त्यसपछि एकथरि बिरोधमा उत्रिनु र अर्कोथरि समर्थनमा कुर्लिनु मात्रै हो त ? निश्चय पनि होइन । लोकतन्त्र अर्थात जनताको शासनको परिकल्पना जहाँबाट शुरु भयो, त्यहींबाट लोकतन्त्र शासनको एक महत्वपूर्ण राजनीतिक संयन्त्र बनेकोछ । जबसम्म स्वतन्त्र प्रेस हुँदैन, तबसम्म लोकतन्त्रले पूर्णता पाउँदैन । जनताले जबसम्म अनुमोदन गर्दैन, तबसम्म लोकतन्त्रको अर्थ रहँदैन। तर, अहिलेसम्म शक्ति र सत्ताको यो लोकतान्त्रिक बिम्ब कैयौं आक्रमणमा परी सकेको छ। अधिकार एक्लै भोगौं, कसैसंग भागिदारी गर्नु नपरोस भन्ने आकांक्षाले मानिसको विवेक ध्वस्त गरि दिएकोछ। राजनीतिको यो अनौठो पासो बिकासशील देशतिर मात्रै किन सक्रिय हुने गर्दछ ? यो कुरा बुझन गाह्रो छैन । नेपालका अधिकांश शिक्षित मानिस बेरोजगार छन । स्वरोजगारका लागि प्रोत्साहन नभएको अवस्थामा जनताको झुकाव राजनीति गर्ने मानिस प्रति बढनु अस्वाभाविक होइन । राजनीति गर्ने मानिसलाई कार्यकर्ता चाहिन्छ, कार्यकर्तालाई काम । सरकारसंग खैंजडी बजाउन लगाउने बाहेक अरु कुनै काम छैन । रोजगारीको अवसर बढाउनेमा भन्दा मसिना जग्गाको कित्ताकाट गरेर घर उमार्ने कला प्रोत्साहित भएका छन अहिले ।

 

मन्त्री माक्र्सवादी आर्थिक सिद्धान्तको आधारमा कृषिको बिकासगर्न चाहन्छन। तर, उनी बेलैमा कृषिमल तथा आवश्यक अन्य संशाधन जुटाउन सक्दैनन। देशमा उत्पादन छैन। बिदेशबाट ल्याइएका अररो चामल खान अभिशप्त छन जनता । देश चौबिस घण्टा राजनीतिमा चलेको छ । देश चलाउने अरु कुनै साधन छैन । बिगत दुइ महिनादेखि त राजनीतिले देश चलाउन सक्ने वा नसक्ने कुरा आउन थालेकोछ । प्रधानमन्त्री ओलीको टक्कर आफनै पार्टीसंग परेको छ । २०५० सालमा कांग्रेस पार्टीमा चलेको जस्तो सरकार ठूलो कि पार्टी ठूलो ? भन्ने बिवाद यसपटक कम्युनिष्ट पार्टीमा फेरी दोहोरिदै छ । फरक यतिमात्रै छ कि कांग्रेसमा बिवाद हुँदा पार्टी सभापति र प्रधानमन्त्रीमा फरक ब्यक्तित्व थिए भने अहिले कम्युनिष्ट पार्टी र सरकारका प्रमुख एकैजना छन। तैपनि,अर्का अध्यक्ष र सदस्यहरुसंग कुरा मिलेको छैन बैठक बस्ने कुरामा । प्रम ओलीलाई लागेकोछ पार्टी बैठकले उनलाई र उनको कार्यशैली माथि नियन्त्रणको प्रयास गर्नेछ ।

 

उनी अहिले जसरी शासन गरी रहेका छन त्यो बाटोमा परिवर्तन ल्याउनेछ। त्यसैले प्रधानमन्त्री स्थायी कमिटी वा समितिको बैठक चाहँदैनन। उनले पार्टी भित्रका आफना बिपक्षीहरुलाई स्पष्ट शब्दमा भनेका छन–मेरो निर्णय जसलाई मान्य छैन उ बाहिरिए हुन्छ । उनले समानस्तरका कार्यकारी अध्यक्ष प्रचण्डलाई जवाफ दिइसकेका छन – अब संगै नहिडौं। उनले यो जवाफ प्रचण्डलाई मात्र दिएका हुन कि यसमा बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पनि समेटिएका छन ? यो कुरालाई जसले जसरी बुझेपनि हुन्छ। किनभने, माधव नेपालले विगतको एमालेको पुन: संगठनमा भन्दा नयाँ कम्युनिष्ट पार्टीको सवल संगठनमा रुची देखाएका छन।

 

झलनाथ खनाल पनि त्यसबाट बाहिर छैनन। आन्तरिक कलह र कचिंगलमा फँसी सकेको अहिलेको कम्युनिष्ट पार्टी एकै रहन सक्दैन। छिमेकी भारतमा भारतीय कम्युनिष्ट पार्टीका बिरुध्द भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) बनेको थियो। प्रम ओली नेतृत्वको कम्युनिष्ट पार्टी प्रगतिशील धारमा देखिएको छैन। अहिलेको दुइ तिहाइको कम्युनिष्ट सरकार कुनै तरीकाले परिवर्तनकारी होइन । यथास्थितिवादको समर्थनमा खडा भएको यो सरकार बिसंगतिहरुको भुंग्रोमा फँसी सकेको छ । रुपान्तरण

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार